![](https://internal.appharu.com/wp-content/uploads/2023/05/min-bdr-shrestha-768x403.jpg)
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले पुँजीगत खर्चमा सुधार गर्ने हो भने राजस्व बढ्ने बताएका छन् ।
आर्थिक मिडिया सञ्चालक संघ (इम्सन)ले सोमबार आयोजना गरेको कार्यक्रममा उनले भने, ‘अहिले राजस्व सामान्य खर्चमा मात्रै सीमित हुने गरेको छ ।’
हामीले विश्व बैंक र एसियाली विकास बैंकले छुट्याएको पैसा पनि खर्च गर्न नसकेको उनले बताए । विकास निर्माणका काम गर्न सकेको खण्डमा खर्च बढ्ने उनको भनाइ छ । पुँजीगत खर्च बढेमा वैदेशिक ऋण पनि बढ्ने लक्ष्यका साथ बजेट आएको उनले बताए ।
‘आगामी आवमा ३ खर्ब ऋण लिन मिल्ने भए पनि २ खर्ब ४० अर्ब मात्रै लिने लक्ष्य राखिएको छ,’ उनले भने, ‘चालू आवमा २ खर्ब ५६ अर्ब उठाउने तयारीका साथ काम भइरहेको छ ।’
यो वर्ष राजस्व उठेन, आगामी वर्ष पनि उठ्दैन भनेर १३ खर्ब बजेट बनाउनुको अर्थ नहुने उनले बताए । यस्तो गरेको भए हरेक वर्ष राजस्व घट्दै जाने उनको दाबी छ ।
बजेटबाट धेरै नै सुधारको योजना आएको उनले बताए । ‘यो वर्ष लक्ष्यअनुसार आर्थिक वृद्धि नभए पनि आगामी आवमा बाउन्स ब्याक भएर आर्थिक वृद्दिको लक्ष्य पूरा हुनेछ,’ उपाध्यक्ष श्रेष्ठले भने, ‘बजेटमा धेरै कुरा छैनन् तर जति छन् ती उधारो नभएर नगदमै छन् ।’
SHARE YOUR THOUGHTS