तनहुँ । तनहुँको घिरिङ गाउँपालिका-४ स्थित बाह्रबीसेमा सुरु गरिएको व्यावसायिक अंगुरखेतीले यतिबेला उत्पादन दिन सुरु गरेको छ । फार्ममा उत्पादन भएको अंगुर टिप्ने र बजार पठाउने काम धमाधम भइरहेको फार्म सञ्चालक कुमार कार्कीले बताए ।
कार्कीका अनुसार फार्ममा पहिलो वर्ष करिब ९ हजार ५ सय बिरुवा रोपिएको थियो । जसबाट वार्षिक १० हजार किलो अंगुर उत्पादन गर्ने कम्पनीको लक्ष्य छ ।
वाइन उत्पादन गर्ने उद्देश्यसहित स्विट्जरल्यान्डबाट बिरुवा ल्याएर व्यावसायिक अंगुरखेती सुरु गरिएको ‘भाइन यार्ड एन्ड रिसर्च सेन्टर’का सञ्चालक कार्कीले बताए । ‘हामीले यहाँ पहिलो वर्ष लार्भाको समस्या भोगेका थियौं । यस वर्ष भने पूर्वतयारीका साथ खेती गरिरहेका छौँ, उत्पादन पनि राम्रो भइरहेको छ,’ उनले भने ।
कार्कीले धादिङको थाक्रे गाउँपालिका–१० जुङे खोला केवलपुरमा पनि १५ वर्षदेखि १५० रोपनीमा अंगुरखेती गर्दै आएका छन् । वाइनका लागि थप अंगुर आवश्यक भएपछि तनहुँको बाह्रबीसेमा दुई वर्षदेखि ७० रोपनी बाँझो जमिनमा अंगुरखेती सुरु गरिएको उनको भनाइ छ ।
कार्कीका अनुसार हाल विभिन्न ३२ प्रजातिका अंगुरखेती गरिए पनि केही प्रजातिका अंगुरले मात्रै राम्रो उत्पादन दिइरहेका छन् । ‘स्विट्जरल्यान्डबाट ७ सयदेखि १ हजारसम्म खर्चेर ३२ प्रजातिका बिरुवा ल्याएका थियौँ, ८ देखि १० प्रजातिका अंगुरले मात्रै राम्रो उत्पादन दिएका छन्,’ उनले भने ।
बिरुवा लगाएको पहिलो वर्षमा नै अंगुरले फल दिन सुरु गरेको उनको भनाइ छ । उनका अनुसार धादिङको फार्ममा ३८ करोड ५० लाख र तनहुँमा १ करोड ५० लाख गरी ४० करोड लगानी भइसकेको छ ।
‘हामीसँग हाल वार्षिक तीन लाख लिटर वाइन उत्पादन क्षमता छ, यसले पनि अंगुरखेतीलाई प्रोत्साहन गरेको छ,’ उनले भने, ‘वाइनको माग राम्रो भएकाले खपतको चिन्ता छैन ।’ उनका अनुसार कम्पनीले ७५० एमएलको बोतलमा तीन प्रकारका वाइन उत्पादन गरिरहेको छ । जसलाई बजारमा प्रतिबोतल १ हजार २ सयमा बिक्री गरिरहेको छ ।
कार्कीको फार्ममा हारियोमा सुजी, कायाबिनेट क्यान्टर, मनाज, सोबिनियन ग्रिस तथा खानका लागि फन्नी, सोफिया, आरकडिया, पोलिस्की, दुचबा, चालिचमानलगायतका प्रकारका अंगुर उत्पादन भइरहेको छ ।
‘रोपेको एक वर्षमै फल दिन सुरु भइसकेको छ, पहिलो वर्ष प्रतिबोट तीनदेखि चार किलोसम्म अंगुर उत्पादन हुने अनुमान छ,’ फार्ममा कार्यरत प्राविधिक सान्नानी तामाङले भनिन्, ‘अंगुरको बोटमा चैत, वैशाखमा फूल फुल्छ भने त्यसपछि तीन महिनामा फल टिप्न तयार हुन्छ ।’ फागुनदेखि फूल खेल्ने र असार पहिलो सातासम्म फल टिप्न सकिने उनले बताइन् ।
फार्ममा दैनिक ज्यालादारीमा मासिक १२ देखि १५ जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । विशेष गरी फार्ममा घाँस काट्ने, बिरुवा गोडमेल, मल तथा अन्य व्यवस्थापकीय कामबाट स्थानीयले रोजगारी पाएको र राम्रो आम्दानीको स्रोतसमेत बनेको तामाङको भनाइ छ ।
नेपालमा अंगुरखेती सफल हुँदैन भन्ने भ्रमलाई चिर्न आफूहरु सफल भएको सञ्चालक कार्कीको भनाइ छ । प्राविधिकको अध्ययनपश्चात नै अंगुरखेती सुरु गरिएको उनले जानकारी दिए । धादिङमा भएको फार्मका लागि बागमती प्रदेश बिग फार्म शीर्ष अन्तर्गत १२ वटा फार्ममा पर्न सफल भई ५५ लाख अनुदानसमेत प्राप्त भइसकेको कार्कीले सुनाए ।
घिरिङको माटोमा अंगुर उत्पादन राम्रो हुने भएपछि किसानलाई पनि खेतीतर्फ प्रोत्साहन गर्न पालिकासँग समन्वय भइरहेको कृषि शाखा अधिकृत रवि रामदामले बताए । ‘यहाँको मौसम र माटो अंगुरखेतीका उपयुक्त मानिएको छ,’ उनले भने ।
SHARE YOUR THOUGHTS