काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले मंगलबार मेयर शाहविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेर लिखित जवाफ माग्न आदेश दिएको हो ।
शाहले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्च अदालतमा निवेदन पेस गरेकी थिइन् । उक्त निवेदनमाथि मंगलबार न्यायाधीश श्रेष्ठको इजलासमा सुनुवाइ भएको हो ।
हिन्दी फिल्मको प्रदर्शन नरोक्न उच्च अदालत पाटनले दिएको आदेश नमान्ने भन्दै मेयर शाहले सामाजिक सञ्जालबाट घोषणा गरेका थिए भने अदालत पनि भारतको गुलाम भएको आरोप लगाएका थिए ।
हिन्दी सिनेमा ‘आदिपुरुष’ को प्रदर्शनीमाथि मेयर शाहले लगाएको प्रतिबन्धविरुद्ध हल सञ्चालकहरूले दिएको निवेदनमा सुनुवाइ गर्दै उच्च अदालत पाटनले महानगरको निर्णय कार्यान्वयनमा रोक लगाएको थियो ।
आफ्नो निर्णय रोक्न उच्च अदालत पाटनले रोक लगाएपछि मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए, ‘अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ । जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइने छैन ।’
SHARE YOUR THOUGHTS