![](https://internal.appharu.com/wp-content/uploads/2023/06/cg-brewary-768x434.png)
काठमाडौं । उद्योग विभागले ओम ब्रुअरीद्वारा उत्पादित जोमसोम स्ट्रंग वियरले सिजी ब्रुअरीका बोतल अनाधिकृत प्रयोग गरेकोमा उक्त कार्य तत्काल रोक्न र सिजी ब्रुअरीको बोतलप्रयोग गरि उत्पादन तथा बिक्रीवितरणमा रोक लगाएको छ ।
ओम ब्रुअरीद्वारा सीजी ब्रुअरी(नेपाल)प्राइभेट लिमिटेड इम्बोस सहितको बोतलप्रयोग गरी जोमसोम स्ट्रंग वियरको उत्पादन गरिएको हुँदा, सो कार्य कानुनविपरित देखिएकाले उद्योग विभागका महानिर्देशक बाबुराम गौतमबाट देवानी कार्यविधि संहिता २०७४ को दफा १५६बमोजिम सो वियरको उत्पादन तथा बिक्री वितरणमा रोक लगाउन अन्तरकालीन आदेश भएको हो ।
यस अघि, सीजी ब्रुअरीले ओम ब्रुअरीद्वारा उत्पादित जोमसोम स्ट्रंग वियरले सीजीब्रुअरी(नेपाल) प्राइभेट लिमिटेड अंकित नेपाल आइसको वियरको बोतलमा रहेको ‘सीजी ब्रुअरी(नेपाल) प्राइभेट लिमिटेड’नामलाई खुर्किएर ग्राहकहरुलाई झुक्याउने गरी बोतलहरुमा जोमसोम स्ट्रंग वियरको स्टिकर लगाई बिक्री वितरण गरेको र यस कार्यले सीजी ब्रुअरीको डिजाइन र ट्रेडमार्कको ख्यातीमा असर पुगेको भन्दै उद्योग विभागमा मुद्दा दर्ता गरेको थियो ।
‘ओम ब्रुअरीले उजुरिकर्ताको मन्जुरीबिना सीजी ब्रुअरी(नेपाल) प्राइभेट लिमिटेड अंकित वियरको बोतलमा रहेको ‘सीजी ब्रुअरी(नेपाल) प्राइभेट लिमिटेड’नामलाई खुर्किएर ग्राहकलाई झुक्याउने गरी उजुरवालको नाम अंकित बोतलहरुमा जोमसोम स्ट्रंग वियर स्टिकर लगाई आफ्नो उत्पादन उजुरीकर्ताको नाम तथा ट्रेडमार्क अंकित बोतलमा भरी बजारमा बिक्रीवितरण गर्दै आएको हुँदा सो कार्य पेटेन्ट, डिजाइन तथा ट्रेडमार्क ऐन २०२२ को दफा १६ (२) विपरित देखियो,’ विभागको आदेशमा भनिएको छ। सीजी ब्रुअरीद्वारा उत्पादित नेपाल आइस बियर नेपाली उपभोक्ताबीच लोकप्रिय ब्राण्ड हो।
SHARE YOUR THOUGHTS