प्रविधिपछि कृषि क्षेत्रमा प्रवेश गरे चिनियाँ अर्बपति ज्याक मा, माछा र समुन्द्री खाना उत्पादन गर्ने « Eglish Khabarhub

प्रविधिपछि कृषि क्षेत्रमा प्रवेश गरे चिनियाँ अर्बपति ज्याक मा, माछा र समुन्द्री खाना उत्पादन गर्ने



एजेन्सी । चिनियाँ अर्बपति व्यवसायी ज्याक मा कृषि क्षेत्रमा प्रवेश गरेका छन् । केही समयअघि नेपालसमेत आएका माले हालै कृषि क्षेत्रसँग सम्बन्धित रहेको ‘एग्रो–टेक’ स्टार्टअपमा लगानी गरेका हुन् ।

चिनियाँ सञ्चारमाध्यम साउथ चाइना मर्निङ पोस्टकाअनुसार माले ‘१.८ मिटर्स मरिन टेक्नोलजी (जिजियाङ)’ नामको स्टार्टअप व्यवसायमा लगानी गरेका हुन् ।

चीनको हाङझोउ शहरमा रहेको उक्त स्टार्टअप व्यवसायमा माको कम्पनी ‘हाङझोउ दाजिङताउ नं २२ आर्टस कल्चर कम्पनी लिमिटेड’ले लगानी गरेको बताइएको छ ।

उक्त स्टार्टअपमा १० प्रतिशत लगानी गरेको छ । सो स्टार्टअप गत जुलाई २० मा ११० मिलियन युआन (१५ मिलियन अमेरिकी डलर) लगानीसहित स्थापना भएको थियो ।

यो स्टार्टअपको व्यवसायिक क्षेत्र भने माछा तथा समुन्द्री खाना उत्पादन गर्ने, प्रशोधन गर्नेलगायत रहेको छ । सो स्टार्टअपमा ८० प्रतिशत लगानी हंङकङमा रहेको ‘१.८ मिटर टेक्नोलाोजी होल्डिङ लिमिडेट’को रहेको छ ।

आफूले स्थापित गरेको ‘अलिबाबा’बाट सेवानिवृत्त भएका माको विगतमा देखिएको रुचिको क्षेत्रमा नै उनले अहिले लगानी गरेको देखिन्छ । कृषि तथा खाद्यान्नको क्षेत्रमा उनले राख्ने गरेको रुचिअनुरुप नै यो लगानी भएको बताइएको छ ।

चिनियाँ अर्बपति माले सन् २०१९ बाट अलिबाबा छाडिसकेका छन् । अलिबाबा विश्वभरमै सफलमध्येको एक कम्पनी हो । त्यसपछि भने उनी उक्त कम्पनीमा कुनै पनि रुपमा व्यवसायिक भूमिकामा छैनन् ।

माले पछिल्ला वर्षहरुमा भने दीर्घकालिन कृषि उत्पादन, खाद्यान्नको प्रशोधनजस्ता विषयहरुमा केन्द्रित भएर अन्तराष्ट्रिय भ्रमणहरु गरिरहेका थिए ।

Publish on: