
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले लगातार संसद अवरुद्ध भइरहेको भन्दै अवरोध भएको दिनको तलब/भत्ता/सुबिधा फर्ता गर्ने व्यवस्था मिलाउन माग गरेको छ ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई ज्ञापनपत्र बुझाउँदै रास्वपाले प्रतिनिधि सभाको जारी बैठक नियमित गराउन आग्रह गरेको छ ।
प्रतिनिधि सभाको जारी अधिवेशनमा सरकारले अनुसन्धान गरिरहेको अबैध सुनकाण्डका सवालमा प्रमुख प्रतिपक्ष दलले उच्चस्तरीय छानविन समितिको माग गरेर सदन अवरुद्ध गरिरहेको र सत्तापक्षले सो प्रकृयामा जान अस्वीकार गरी विगत लामो समयदेखि जनताको सार्वभौम सदन अवरुद्ध भइरहेको रास्वपाले जनाएको छ ।
जनताको सार्वभौम संसद यसरी अवरुद्ध भइरहँदा जनताका मुद्दा, दैनानुदिनका समस्या र राष्ट्रमाथि परेका संकटहरुका विषयमा सदनमा कुरा राख्न नपाउँदा सांसदहरुको सार्वभौम अधिकार हनन हुन पुगेको रास्वपाले जनाएको छ ।
सभामुखलाई रास्वपाले जारी अधिवेशन नियमित गर्न आवश्यक पर्ने पहलकदमी लिन र सबै जिम्मेवार राजनीतिक पार्टीहरुलाई यसतर्फ सजग गराइदिन अनुरोध गरेको छ ।
राजनीतिक द्वन्द्वका कारण अवरुद्ध संसदको समयको कुनै पनि सेवा सुविधा रास्वपाले नलिने सभामुखसमक्ष प्रतिबद्धता जाहेर गरेको रास्वपा संसदीय दलका नेता रवि लामिछानेले हस्क्षार गरेको पत्रमा उल्लेख गरिएको छ । साथै, हालसम्ममा आफूहरुले पाएको भए पनि त्यसको उपयुक्त मिलान गरिदिने व्यवस्थाका लागि रास्वपाले अनुरोध गरेको छ ।