व्यवसायी राकेश अडुकियाका छोरा रोहन पक्राउ « Eglish Khabarhub

व्यवसायी राकेश अडुकियाका छोरा रोहन पक्राउ



काठमाडौं । व्यवसायी राकेश अडुकियाका छोरा रोहन अडुकिया पक्राउ परेका छन् । भारतबाट इन्डिगो एयरलाइन्सबाट फर्किने क्रममा शुक्रबार उनलाई अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको थियो ।

नेपाल प्रहरी प्रवक्ता कुवेर कडायतका अनुसार रोहनको पासपोर्ट कालोसूचीमा रहेकाले उनलाई अध्यागनमले नियन्त्रण गरेर प्रहरीको जिम्मा लगाएको हो । उनलाई राजस्व अनुसन्धान विभागको जिम्मा लगाइएको उनले बताए ।

अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले राजस्व अनुसन्धानबाट पत्र आएपछि रोहनलाई सोधपुछका लागि नियन्त्रणमा लिएर राजस्व अनुसन्धानलाई बुझाइएको जानकारी दिए ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले भने रोहन अडुकियालाई कसैले पनि आफ्नो विभागमा नबुझाएको दाबी गरे ।

‘हाम्रो कार्यालय बन्द भइसकेको छ । कुनै निकायले रोहन नाम गरेका व्यक्तिलाई हाम्रो कार्यालयमा बुझाएको छैन,’ ढुंगानाले भने, ‘बुझायो भन्ने कार्यालयलाई नै सोध्नुस् उसले कसलाई कहाँ कुन समयमा बुझायो ।’

एक क्विन्टल बढी सुन तस्करी प्रकरणमा रोहनका बुवा राकेशमाथि अनुसन्धान जारी छ ।

रोहन डिजिटल वालेट एनक्यासका सञ्चालक हुन् । नेपालमा व्यवसाय गर्दै आएका भारतीय नागरिक राकेशले गतवर्ष दुई सय १२ पटक संयुक्त अरब एमिरेट्स (यूएई) र हङकङको यात्रा गरेको पाइएको थियो । अडुकिया बैंक तथा वित्तीय संस्था, रेमिट्यान्स, गाडी, हर्बल व्यवसायी हुन् ।

Publish on: