काठमाडौं । नेकपा एमाले नेताहरु चढेको बुध्द एयरको जहाज जनकपुर विमानस्थल नजिक पुगेर काठमाडौं फिर्किएको छ ।
सिरहामा हुने सचिवालय बैठकमा सहभागी हुन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु सुवास नेम्वाङ, युवराज ज्ञवाली, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल, नेता अमृत बोहरा लगायतका नेता बुध्द एयरको विमानको जहाजमा जनकपुर जाँदै थिए ।
तर जनकपुर विमानस्थलमाथिको आकाशमा पुगेपछि प्राविधिक समस्या देखिएको थियो । परिचारिकाले विमान जनकपुरमा अवतरण गर्न नसक्ने जानकारी दिएपछि विमान काठमाडौं फिर्ता भएको थियो ।
बुधबार सिरहामा एमालेको सचिवालय समितिको बैठक बस्दैछ । बैठकमा सहभागी हुन अध्यक्ष केपी शर्मा ओली विराटनगरबाट सिरहा जानेछन् भने अरु नेताहरु काठमाडौंबाट जानेछन् ।
बुध्द एयरले काठमाडौंबाट जनकपुर जाँदै गरेको उडान नम्बर ५०१ जहाज ९ एन-एजेओमा प्राविधिक समस्या देखिँदा जहाजलाई पुनः काठमाडौं अवतरण गराइएको जानकारी दिएको छ । बुध्दले यात्रुलाई अर्को जहाजबाट जनकपुर पठाउन लागिएको जनाएको छ ।
समस्या आएको जहाजलाई प्राविधिक टोलीले जाँच गरिरहेको बुध्दले जनाएको छ ।
SHARE YOUR THOUGHTS