![](https://internal.appharu.com/wp-content/uploads/2023/09/druta-bus-sewa.png)
काठमाडौं । काठमाडौंको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालनमा आएको छ ।
संविधान दिवसको अवसर पारेर काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उद्घाटन गरेका हुन् ।
उदघाटनको दिन द्रुत सेवाका बसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासहित मन्त्रालयका अधिकारी चढेर यात्रा गरेका छन् । द्रुत बस सञ्चालनका लागि सडक विभागले रोडमा रातो रङ पोतेर छुट्टै लेन बनाइएको छ ।
द्रुत सेवाअन्तर्गत सूर्यविनायकदेखि रत्नपार्कसम्म बिहीबारबाट २५ वटा बसहरू नियमित सञ्चालनमा आउने यातायात व्यवस्था विभागले जनाएको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2023/09/druta-bus-sewa1-768x403.png)
विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरूका अनुसार द्रुत सेवा अन्तर्गतका बसहरू बिहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ४ देखि ६ बजेसम्म गरी दुई सिफ्टमा चल्ने छन् । त्यो समयमा यी बस गुड्ने रंग पोतिएका डेडिकेटेड लेनमा अन्य सवारी साधन चलाउन पाइने छैन ।
तर एम्बुलेन्स, शववाहन, दमकल, कर्मचारी बोक्ने बसहरू भने उक्त लेनमा चलाउन पाइने छ । यी बस ट्राफिकको रातो बत्तीमा पनि रोकिँदैनन् ।
द्रुत बस सूर्यविनायकदेखि रत्नपार्क ४५ मिनेटमा पुगिने उल्लेख गरिएको छ । सूर्यविनायकबाट रत्नपार्कसम्म विभिन्न १९ स्थानमा बस स्टप रहने प्रवक्ता पनेरूले बताए ।
रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँ बानेश्वर, शान्तिनगर, कोटेश्वर जडिबुटी, कौशलटार, गठ्ठाघर, चारदोबाटो, सूर्यविनायकलगायत धेरै मानिसहरूको चाप हुने १९ स्थानमा स्टप रहन्छ ।
आज उद्घाटन हुने बस सेवाले यात्रु भने भोलिबाट मात्र बोक्न थाल्ने छ । यो सेवामा बस चढ्नका लागि यात्रुले अन्य सार्वजनिक यातायाता सरहनै भाडा तिर्नु पर्नेछ ।
SHARE YOUR THOUGHTS