नेपाली युवा उद्यमी मञ्चद्वारा ४ लाख राशिको स्टार्टअप अवार्ड घोषणा, यसरी दिनुस् आवेदन

काठमाडौं । नेपाली युवा उद्यमी मञ्चले ४ लाख राशिको स्टार्टअप अवार्ड घोषणा गरेका छ । मञ्चले सोमबार ५ वर्षभन्दा कम अवधिका स्टार्टअप व्यवसायीले अवार्डका लागि आवेदन दिन सक्ने जनाएको हो । नेपाल युवा उद्यमी अवार्ड नामक अवार्डका लागि आवेदकले ८ मंसिरसम्म आवेदन दिन सक्नेछन् ।

स्टार्टअप व्यवसायी आधिकारिक रुपमा दर्ता गरेको र प्यान नम्बर लिएको हुनुपर्ने मञ्चले जनाएको छ । यस्तै उत्पादनमूलक तथा सेवामूलक हुनुपर्नेछ । मञ्चले अवार्डका लागि विशेष विधाको व्यवस्था गरेको छैन, तसर्थ आवेदकले जुनसुकै विधामा प्रतिस्पर्धा गर्न पाउनेछन् ।

आवेदक मध्येबाट २० जना उद्यमीलाई मञ्चको ज्युरीले छनौट गर्नेछ । त्यसबाट पनि उत्कृष्ट सात उद्यमीलाई मेन्टरसिप सेसनमा राखिनेछ । मेन्टरसिप सेसनबाट छनौट भएका प्रतिस्पर्धी उद्यमीबाट उत्कृष्ट चार जनालाई भने मञ्चले आर्वाड प्रदान गर्नेछ । अवार्डमा विजेतालाई ४ लाख, उपविजेतालाई २ लाख र तेस्रो हुनेलाई १ लाख रुपैयाँ प्रदान गरिनेछ ।

नेपाली युवा उद्यमी मञ्चको यो तेस्रो अवार्ड कार्यक्रम हो । यसअघि मञ्चले ६ युवा उद्यमीलाई अवार्ड प्रदान गरिसकेको छ ।