नेपाली सेनामा २२९ जनालाई रोजगारीको अवसर « Eglish Khabarhub

नेपाली सेनामा २२९ जनालाई रोजगारीको अवसर



काठमाडौं । नेपाली सेनाले २२९ जनाका लागि रोजगारी खुलाएको छ ।

नेपाली सेनाको भर्ना छनौट निर्देशनालयले एक सूचना जारी गर्दै सैनिक साधारण सेवा समूहको अधिकृत क्याडेट पदका लागि २२९ जनालाई रोजगारी खुलाईएको जानकारी दिएको हो ।

कुल २२९ जनामध्ये १२ जना सैनिक तालिम तथा आफ्नो कर्तव्य गर्दा कुनै चोट लागेर सोही कारणबाट अशक्त भएका वा कर्तव्य पालना गर्दागर्दै मृत्यु भएका नेपाली सैनिकका सन्ततीबाट पदपुर्ति गरिने सेनाले जनाएको छ । त्यस्तै, १२२ जनालाई खुल्लातर्फ, १७ जना महिला समूहतर्फ, ३३ जना आदिवासी तथा जनजातीतर्फ, २७ जना मधेशीतर्फ, १५ जना दलिततर्फ र ३ जना पिछडिएको क्षेत्रतर्फबाट पदपूर्ति गरिने सेनाले सूचनामा उल्लेख गरेको छ ।

प्रमाणपत्र तह वा सो सरहको शैक्षिक स्तरमा सिजिपिए १.६ वा जिपिए ६ ल्याएको वा सोभन्दा माथि भएको र कुनै पनि विषयमा डि प्लस ग्रेडभन्दा कम नभएको तथा स्नातक तह वासो सरहको शैक्षिक योग्यतामा भएकाले आवेदन दिन सक्ने सेनाले जनाएको छ । प्लस टुको शैक्षिक योग्यतामा जिपिए १.६ वा सोभन्दा माथि हुनुपर्ने र मुल प्रमाणपत्र प्राप्त गरेको हुन पर्ने पनि योग्यता रहेको छ।
योग्यता पुगेका नेपाली नागरिकले कात्तिक १७ गतेदेखि मंसिर १६ गतेसम्म नियमित दस्तुरमा र मंसिर २३ गतेसम्म दोब्बर दस्तुरमा आवेदन दिन सक्ने सेनाले जनाएको छ । जंगी अड्डास्थित भर्ना छनौट निर्देशनालय, सुनसरीस्थित पूर्वी पृतना हेडक्वाटर, महोत्तरीस्थित मध्य पूर्वी पृतना हेडक्वाटर, हेटौडास्थित मध्य पृतना हेडक्वाटर, पोखरास्थित पश्चिम पृतना हेडक्वाटर, रुपन्देहीस्थित मध्य पश्चिम पृतना हेडक्वाटर, सर्खेतस्थित उत्तर पश्चिम पृतना हेडक्वाटर र कैलालीस्थित सुदुर पश्चिम पृतना हेडक्वाटरमा भर्ना केन्द्र रहेको र सोही केन्द्रहरुमा दरखास्त फारम बुझाउन सकिने सेनाले जनाएको छ ।

Publish on: