मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘काठमाडौं महानगरले तोकेको स्थानबाट फूल बेच्दा घर फर्किने भाडासम्म रहेन’


काठमाडौं महानगरपालिकाले तोकेको भृकुटीमण्डपको स्टलबाट फूल बिक्री नभएको भन्दै व्यापारीले दुखेको पोखेका छन् ।

काठमाडौं महानगरपालिकाले भृकुटीमण्डप, एयरपोर्ट-तीनकुने, हाँडी गाउँ र बालाजु भ्याली कोल्ड स्टोर छेउमा फूल बिक्रीकf लागि स्थान तोकेको थियो ।

तर, ती स्थानमा फूल बिक्री गरिरहेका किसानले भने समयमै प्रचारप्रसार हुन नसक्दा फूल बिक्रीमा गिरावट आएको बताएका छन् । भृकुटीमण्डपमा भेटिएका फूल व्यापारीले निश्चित ठाउँ तोकेर बिक्री गर्नु राम्रो भए पनि ठाउँबारे समयमै प्रचार हुन नसक्दा सोचेअनुरुप बिक्री हुन नसकेको बताए ।

व्यापारी मंगेश लिम्बूले फूल नबिक्दा आफूहरु मर्कामा परेको गुनासो गरे । फुटपाथमा राख्नुभन्दा यहाँ व्यवस्थापन गर्नु राम्रो भए पनि विज्ञापनमा ढिलाइ गर्नाले समस्या भएको उनको भनाइ छ ।

त्यस्तै काभ्रे कोशिपारीबाट फूल बेच्न भृकुटीमण्डप आएका व्यापारी सुजन श्रेष्ठले भृकुटीमण्डप कोल्टे ठाउँ भएकाले फूल किन्न ग्राहक नआएको दुखेसो गरे । उनले गाडी भाडासमेत नउठेको बताए ।

‘भृकुटीमण्डप कोल्टे ठाउँ भएकोले फूल बेच्न पाएनौँ । ग्राहक आएनन् । गाडी भाडासम्म उठेन । घर जानलाई गाडी भाडासम्म छैन । उल्टै ऋण गरेर जानुपर्ने भयो । यहाँ राखेर महानगरपालिकाले धेरै नराम्रो गर्‍यो जस्तो लाग्छ,’ उनले भने ।

ओखलढुंगाबाट फूल व्यापार गर्न आएका तेजेन्द्र बिष्टले नेपाली उत्पादनको फूललाई अपहेलना गरिएको दुःखेसो गरे । उनले अझै पनि बजारीकरणको समस्या भएकाले व्यापारीले फूल खोलामा फालेर हिँड्नुपर्ने स्थिति आएको बताए ।

उनले पनि फूल बिक्री स्टलको बेलैमा प्रचारप्रसार नभएकोले बिक्री हुन नसकेको गुनासो गरे ।