काठमाडौं । आज नेपालबाट मिथुन उल्का वर्षाको दृष्य देख्न सकिने भएको छ । खगोलविद्हरुका अनुसार नेपालबाट आकाश खुलेको बेलामा उल्का वर्षा अवलोकन गर्न सकिने छ ।
नेपालको जुनसुकै ठाउँबाट बेलुका ८ बजेदेखि भोलि बिहान साढे ५ बजेसम्म उल्का वर्षा अवलोकन गर्न सकिने नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) ले जनाएको छ ।
उल्का वर्षालाई खाली आँखाले नै हेर्न सकिने नासो अध्यक्ष सुरेश भट्टराई बताउँछन् । मंसिर १८ गतेदेखि सुरु भएको मिथुन उल्कावर्षा पुस १ गतेसम्म सक्रिय रहने छ ।
आज राति भने उल्का अत्यधिक सक्रिय हुने छ र त्यस समय प्रतिघण्टा १५० वटासम्म उल्का देखिन सक्ने उनी बताउँछन् । ‘उल्कावर्षा हेर्न चाहने सर्वसाधरणले आफ्नो घरबाट वा बाहिर प्रकाश र प्रदुषण काम भएको स्थानबाट अवलोकन गर्न तथा फोटो खिच्न सक्नेछन्,’ भट्टराईले भनेका छन्, ‘उल्कावर्षा सामान्यतया मध्यरात पछि हेर्दा उत्तम रहन्छ। मौसमले साथ दिएमा उल्कावर्षा हेर्नेहरूका लागि यो सन् २०२३ कै उत्कृष्ट समय हुनेछ ।’
मिथुन उल्का वर्षाको दृष्य हेर्नका लागि दूरबिन, टेलिस्कोपको आवश्यकता पर्ने छैन ।
उल्का वर्षाको समयमा उल्काहरु मिथुन राशिबाट निस्किए जस्तो देखिने हुनाले यसलाई मिथुन उल्कावर्षा नामकरण गरिएको हो ।
SHARE YOUR THOUGHTS