
काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित संविधान चोक आसपासको क्षेत्रमा पूर्वराजा महेन्द्र शाहको सालिक स्थापना गर्न दिने/ नदिने विषयमा विवाद बढेपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले त्यस क्षेत्र आसपासमा एक साताका लागि निषेध गरेको छ।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले उक्त क्षेत्रमा पाँच जनाभन्दा बढीलाई भेला हुन रोक लगाएको बिहीबार जारी गरेको आदेशमा उल्लेख छ । एक सातासम्म जुलुस, प्रदर्शन, धर्ना, घेराउ गायत गर्न निषेध गरिएको प्रशासनले जनाएको छ ।
भीमदत्त नगरपालिका वडा नम्बर ४ मा रहेको संविधान चोक र त्यहाँबाट पूर्व दशरथ चन्दको सालिकसम्मको मुख्य सडक र संविधान चोकबाट पश्चिम मदन भण्डारीको सालिक सम्मको मुख्य सडक खण्ड क्षेत्रसम्म पनि निषेधित क्षेत्र घोषणा गरेको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान चोकमा पूर्वराजा शाहको सालिक राख्न खोजेको थियो । अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरूले सभा गर्दै बिहीबार पूर्वराजा शाहको सालिक स्थापना गर्ने कार्यक्रम तय थियो । तर, राप्रपाले कार्यक्रम सुरु गर्नुअघि नै प्रशासनले निषेध क्षेत्र घोषणा गरेको छ ।
SHARE YOUR THOUGHTS