हवाई सेवा सम्झौताका देश थपिँदै: ४१ मुलुकसँग सम्झौता, १८ कम्पनीबाट मात्र उडान « Eglish Khabarhub

हवाई सेवा सम्झौताका देश थपिँदै: ४१ मुलुकसँग सम्झौता, १८ कम्पनीबाट मात्र उडान



काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय उडानका लागि विदेशी वायुसेवासँग सम्झौता गर्ने क्रम बढ्दै गएको छ । हालसम्म ४१ वटा मुलुकसँग हवाई सेवा सम्झौता गरिसकेको सरकारले आगामी साता अर्को एक देशसँग हवाई सेवा सम्झौता गर्दैछ । हाल सम्झौता तयारी भएका अर्को एक र दुईपक्षीय वार्ता भइरहेको एक गरी थप दुई मुलुकसँग हवाई सेवा सम्झौता हुनेछ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा प्रवक्ता बुद्धिसागर लामिछानेका अनुसार सरकारले यूरोपेली युनियन (ईयू)सँग छुट्टै र अरु ४१ देशसँग भिन्नाभिन्नै हवाई सेवा सम्झौता गरिसकेको छ ।

नेपालले आगामी फेब्रुअरी दोस्रो साता इन्डोनेसियासँग हवाई सेवा सम्झौता गर्ने भएको छ । हवाई सेवा सम्झौताका लागि सरकारले स्वीकृति दिनुपर्छ । इन्डोनिसासँगको लागि दुई साता अगाडि नै स्वीकृति दिइसकेको छ भने थप अरु दुई मुलुकसँग पनि यस्तो सम्झौता हुने लामिछानेले बताए ।

यस अघि असोज १६ गते सरकारले रुवाण्डासँग हवाई सेवा सम्झौता गर्न पर्यटन मन्त्रालयलाई स्वीकृति दिएको छ । उक्त स्वीकृति अनुसार रुवाण्डासँग सम्झौता भएको छ ।

नेपालबाट सिधा उडान गर्ने र सम्बन्धित देशल पनि नेपालमा नियमति उडान गर्न सक्ने गरी हवाई सेवा सम्झौता हुने गरेको छ । हवाई सम्झौतापछि सम्बन्धित देशले अनुकुल समयमा उडान गर्न सक्छन् ।

सरकारले केही साता अगाडि मात्रै इन्डोनेसिया हवाई सेवा सम्झौता गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्राललाई अधिकार दिएको छ । मन्त्रिपरिषदले स्वीकृति लिएकोले उक्त मलुकसँग नेपालमै गर्ने वा इन्डोनिसिया नै गएर हवाई सेवा सम्झौता गर्ने भन्ने विषयमा भने स्थान तह हुनै बाँकी रहेको पर्यटन मन्त्रालले जानकारी दिएको छ ।

स्वीट्जरल्याण्डसँग भने फेब्रुअरी पहिलो साता काठमाडौंमा नै हवाई सेवा सम्झौता हुने भएको छ । सरकारले हप्तामा कम्तिमा १४ वटा उडान गर्ने गरी दुईपक्षीय हवाई सेवा सम्झौता गर्ने भएको छ ।

सम्झौता अगाडि हुने छलफलबाट बढी उडान पनि हुन सक्ने लामिछानेले बताए । उनका अनुसार अब हुने सबै सम्झौता काठमाडौं विमानस्थभन्दा बाहिरलाई प्राथमिकता दिएर हुनेछ ।

पर्यटन मन्त्रालयका अनुसार अब काठमाडौंमा ७ वटा उडान हुँदा बाहिर १४ वटा उडान प्रस्ताव सरकारले गर्नेछ । यद्यपी सम्बन्धित वायुसेवालाई दैनिक दुईवटा उडान गर्दा एउटा भने काठमाडौं बाहिरका विमानस्थलमा अनिवार्य गर्नुपर्ने शर्त नेपालले राख्न थालेको छ ।

काठमाडौं बाहिर गर्नुपर्ने उडान सम्झौताबाट पोखरा र भैरहवा विमानस्थलमा उडान बढ्न सक्ने अपेक्षा सरकारको छ । त्यसो त पछिल्लो समय नवीकरण हुन थालेका सबै हवाई सेवा सम्झौतालाई पनि बाहिरका विमानस्थलबाट उडान गराउनमा जोड दिन थालिएको पर्यटन मन्त्रालयको भनाइ छ ।

नेपालले गर्ने मात्रै प्रस्ताव नभएर सम्बन्धित देशका वायुसेवाले पनि आफ्नो प्रस्ताव पेश गर्छ ।

रसियासँग पनि सरकारले हवाई सेवा सम्झौताको तयारी गरिरहेको छ । उक्त मुलुकसँग भने दुइपक्षीय वार्ता मात्रै भइरहेकोले हवाई सेवा सम्झौता गर्ने विषयमा टुंगो लागिसकेको छैन् ।

सरकारले हालसम्म ४१ देशसँग हवाई सेवा सम्झौता गरिसकेको भए पनि उडान भने मुश्किलले १८ वटा मुलुकबाट मात्रै भइरहेको छ । हाल नेपालमा १८ मुलुकबाट ३० उडान भइरहेको छ । नेपालमा नियमित उडान गर्नेमा संयुक्त अरब इमिरेट्स यूइएको एयर अरेविया अवुधावी, एयर अरेविया, फ्लाई दुबई, चीनको एयर चाइना, चाइना इस्टर्न, चाइना साउर्द, तिबेत एयरलाइन्स, सिचुवान, भारतको एयर इन्ण्डिया, इण्डिगो, भिस्ताराले उडान गरिरहेका छन ।

यस्तै बंगलादेशबाट विमान वंगलादेश, भुटानबाट भुटान एयरलाइन्स र ड्रुक, कुवेतको जजीरा र कुवेत एयरलाइन्स, कोरियाको कोरियन एयरले उडान गरिरहेको छ । मलेसियाबाट मेलेसियान एयरलाइन्स र मालिन्दो, कतारबाट कतार, ओमानबाट सलाम, सिंगापुरबाट सिंगापुर एयरलाइन्स, श्रीलंकाबाट श्रीलंकन एयरलाइन्स, टर्किसबाट टर्किस एयर, थाइल्याण्डबाट एयर थाइ र थाइ लायोनले नेपालमा निमित उडान गरिरहेका छन् ।

नेपालबाट पनि धेरै मुलुकमा उडान हुन सकेको छैन भने बाहिरी देशले पनि आवश्यकता अनुसार मात्रै उडान गर्ने गरेका छन् । सहसचिव लामिछानेका अनुसार हवाई सेवा सम्झौता गर्दैमा फटाफट उडान सुरु भइहाल्छ र हुनुपर्छ भन्ने छैन । तर, सम्झौताबाट उडान गर्ने बाटो भने खुला हुन्छ । हवाई सम्झौता बिना अन्तर्राष्ट्रिय उडान हुन नसक्ने भएकोले आवश्यकता पर्दा मात्रै एक देशले अर्को सम्झौता भएका मुलुकमा उडान गर्ने उनी बताउँछन् ।

Publish on: