डिभोर्स गरेर माइत बसेकी पवित्राको हत्या आरोपमा श्रीमान श्रीमती पक्राउ « Eglish Khabarhub

डिभोर्स गरेर माइत बसेकी पवित्राको हत्या आरोपमा श्रीमान श्रीमती पक्राउ



खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकास्थित नाखामकी ३६ वर्षीय पवित्रा तामाङको हत्या आरोपमा सोही नगरपालिकाको वडा नं १२ जालपाका ३३ वर्षीय दीपक श्रेष्ठ र उनकी श्रीमती २५ वर्षीया सिर्जना श्रेष्ठ (राई) पक्राउ परेका छन् ।

गत मङ्सिर १९ गतेदेखि बेपत्ता बनेकी पवित्रा घरदेखि करिब १५ मिनेट पैदल दूरीमा रहेको गोठमा यही पुस ३ गते शङ्कास्पद अवस्थामा मृत फेला परेपछि प्रहरीले पवित्राको हत्या आरोपमा श्रेष्ठ दम्पतीलाई पक्राउ गरेको हो ।

श्रीमान्सँग सम्बन्धविच्छेद गरेर माइतीघर बसेकी पवित्रा मङ्सिर १९ गते राति ८ बजेसम्म टेलिभिजन हेरेर बसेको जनाइएको छ । भोलिपल्ट बिहान ओछ्यानमा नदेखिएपछि पवित्राको खोजी सुरु गरिएको आफन्तले बताएका थिए ।

घरबाटै बेपत्ता भएकी पवित्राको खोजीका लागि परिवारले मङ्सिर २३ गते प्रहरीलाई खबर गरेका थिए । आफन्त तथा प्रहरीले खोजी गर्दा नभेटिएकी पवित्रा १४ दिनपछि गोठमा थुपारिएको पत्करभित्र मृत फेला परेकी थिइन् ।

शङ्कास्पद अवस्थामा मृत फेला परेपछि आफन्तले प्रहरीमा जाहेरी दिएसँगै अनुसन्धान गर्नेक्रममा आरोपित श्रेष्ठ दम्पतीलाई ललितपुरस्थित महालक्ष्मी नगरपालिका–३ बोझेपोखरीबाट पुस ११ गते पक्राउ गरेर पुस १२ गते जिल्ला ल्याइएको थियो । आरोपित श्रेष्ठ दम्पती पक्राउ परेको आठ दिनपछि बुधबार साँझ प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

आरोपित श्रेष्ठले पवित्राको गत मङ्सिर १९ गते राति नै हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए । ‘आरोपित दीपकले आर्थिक लाभ तथा अनैतिक सम्बन्धका कारण पवित्राको हत्या गरेको पुष्टि भएको छ । दीपक आफैँले पनि घटनाका विषयमा स्वीकार गरिसकेका छन्’, उनले भने, ‘आरोपित श्रेष्ठ दम्पतीबाट सबुत प्रमाणसमेत बरामद गरिएको छ । दोषी पत्ता लगाउनमा मृतकका परिवारको ठूलो सहयोग रह्यो । उहाँहरुका कारण बेलैमा दोषी पत्ता लगाएर कारबाहीको प्रक्रिया अगाडि बढाएका छौँ ।’

घटनापछि मङ्सिर ३० गते भागेर ललितपुरको महालक्ष्मी नगरपालिका पुगेको अवस्थामा पक्राउ परेका श्रेष्ठ दम्पतीलाई प्रहरीले बरामद गरिएका सामानसहित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । मृतक पवित्राले कानमा लगाएको सुनको रिङ, नाकमा लगाएको सुनकै फुली र पवित्राले प्रयोग गर्दै आएको मोबाइलसमेत प्रहरीले बरामद गरेर सार्वजनिक गरेको हो ।

आरोपित दीपकले पवित्राको हत्यामा प्रयोग गरेको हम्मर भने परीक्षणका लागि राष्ट्रिय विधिविधान प्रयोगशाला काठमाडौँ पठाइएको प्रनाउ खड्काले जानकारी दिए ।

Publish on: