भारतले ‘नो अब्जेक्सन लेटर’ नदिँदा १६० जलविद्युत आयोजनाले पाएनन् विस्फोटक पदार्थ « Eglish Khabarhub

भारतले ‘नो अब्जेक्सन लेटर’ नदिँदा १६० जलविद्युत आयोजनाले पाएनन् विस्फोटक पदार्थ



काठमाडौं । लामो समयदेखि जलविद्युत आयोजनाहरुमा विस्फोटक पदार्थको अभाव भएको छ । समयमै विस्फोटक पदार्थ पाउन नसकेर अहिले १६० आयोजनाको काम प्रभावित भएको जलविद्युत प्रबर्धकहरुको गुनासो छ ।

आयोजनालाई आवश्यक विस्फोटक पदार्थ लिन भारतीय दूतावासले ‘नो अब्जेक्सन लेटर’ दिनुपर्छ । अहिले भारतीय दूतावासले ‘नो अब्जेक्सन लेटर’ दिन समेत आनाकानी गरेको आयोजनाका प्रबर्धकहरुको भनाइ छ ।

भारतीय दूतावासले तीन महिनाको अवधिमा २ वटा आयोजनालाई मात्रै विस्फोटक पदार्थ दिएको छ । बाँकी आयोजनालाई विस्फोटक पदार्थ नदिएको प्रबर्धकहरुको दाबी छ ।

‘हामीले आयोजनालाई चाहिने विस्फोटक पदार्थ लिन भारतीय दूतावासबाट ‘नो अब्जेक्सन लेटर’ लिनुपर्छ’ एक प्रबर्धकले भने ‘अहिले दूतावासले विभिन्न बाहनामा ‘नो अब्जेक्सन लेटर’ दिन मानेको छैन । दूतावासले कुन आयोजनालाई चाहिने हो, आयोजनामा को–को प्रबर्धक छन्, ऋण कहाँबाट लिएको हो, ऋण लिएको संस्थामा को–को सञ्चालक छन्, उनीहरुको संलग्नता कहाँ को सँग छ भनेर निकै चासोका साथ हेर्ने र ‘नो अब्जेक्सन लेटर’ दिन ढिलाइ गर्ने गरेको छ ।’

आयोजनाका प्रबर्धक, लगानीकर्ता लगायत चीनसँऊ नजिक छन् कि भनेर भारतीय पक्षले गहिरोसँग हेर्ने गरेको उनको दाबी छ।

‘भारतीय दूतावासले विस्फोटक पदार्थ ल्याउन आवश्यक पर्ने ‘नो अब्जेक्सन लेटर’ दिँदा त्यो आयोजनाका प्रबर्धक, आयोजनाको लगानीकर्ता तथा सह– लगानीकर्ता, आयोजनालाई कर्जा दिने संस्थाका सञ्चालक चिनसँग नजिक छन् की, चिनले निर्माण गर्न लागेको वा निर्माण गरिरहेको आयोजनामा कर्जा दिएको छ की, प्रत्यक्ष/परोक्ष रुपमा संलग्नता छ की छैन भनेर गहिरोसँग हेर्ने गरेको छ । कही कतै चिनसँग नजोडिएको पाइयो, भारतीय व्यक्ति तथा कम्पनीको लगानी रहेको आयोजना भयो भने भने विस्फोटक पदार्थ दिने गरेको छ ।’

आयोजनालाई कन्सोल्टियम कर्जा दिने बैंकका सञ्चालक समेतको विवरण मागेर हेर्न थालेपछि समस्या भएको प्रबर्धकहरुको गुनासो छ ।

भारतीय दूतावासले ‘नो अब्जेक्सन लेटर’ नदिएपछि चिनियाँ लगानीकर्ताको लगानी तथा सहलगानी भएका आयोजनाले चीनबाट नै विस्फोटक पदार्थ ल्याउन लागेको बताइएको छ । चीनबाट विस्फोटक पदार्थ ल्याउँदा ढुवानी खर्चका कारण लागत बढी पर्ने गरेको प्रबर्धकहरुको भनाइ छ ।

जलविद्युत आयोजनाहरुमा सडक र सुरुङ बनाउन ठूलो मात्रामा विस्फोटक पदार्थ आवश्यक पर्छ । आवश्यक पर्ने विस्फोटक पदार्थ नपाएपछि आयोजना प्रबर्धकहरुले प्रधानमन्त्री, रक्षामन्त्रीदेखि गृहमन्त्रीलाई समेत भेटेर समस्याको समाधान गर्न आग्रह गर्दै आएका छन् ।

अघिल्लो साता राजधानीमा आयोजित एक कार्यक्रममा स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान) का पूर्वअध्यक्ष शैलेन्द्र गुरागाईले १६० आयोजनाले विस्फोटक पदार्थ नपाएको बताएका थिए । आयोजनाले विस्फोटक पदार्थ समयमा नै पाउनु पर्ने उनको माग थियो ।

आयोजनाले समयमा नै विस्फोटक पदार्थ नपाउँदा आयोजनाको लागत समेत बढ्ने गरेको छ । अहिले ४० मेगावाटको आयोजना बनाउँदा कम्तिमा पनि २५ करोडको विस्फोटक पदार्थ आयात हुने गरेको छ ।

अहिले विद्युत खरिदबिक्री सम्झौता (पीपीए) गरेका आयोजनाले समेत विस्फोटक पदार्थ पाउन सकेका छैनन् । यसले गर्दा लागत बढीरहेको, समयमा नै आयोजना निर्माण सम्पन्न गर्न समस्या भएको एक प्रबर्धकको भनाइ छ ।

यसअघि कतिपय आयोजनाहरुले सापटीमा विस्फोटक पदार्थ प्रयोग गर्ने गरेका थिए । अहिले त्यो रोकिएको छ । नजिकै रहेका आयोजनामा सापटी लिएर विस्फोटक पदार्थ प्रयोग गर्न पाउनु पर्ने माग इप्पानले गर्दै आएको छ । त्यसका लागि रक्षा र गृहमन्त्रालयलाई पटक पटक आग्रह गरेको इप्पानका अधिकारीकाहरुको भनाइ छ ।

Publish on: