आर्थिक संकटमा सरकारः ६ महिनामा लक्ष्यभन्दा १ खर्ब कम भन्सार उठ्यो, आयकर पनि २०% कम « Eglish Khabarhub

आर्थिक संकटमा सरकारः ६ महिनामा लक्ष्यभन्दा १ खर्ब कम भन्सार उठ्यो, आयकर पनि २०% कम



काठमाडौं । सरकार आर्थिक संकटमा फस्ने देखिएको छ । चालु आर्थिक वर्षको ६ महिना अर्थात् पुस मसान्तसम्ममा आयकर र भन्सार दुबै लक्ष्यभन्दा निकै कम मात्रै उठेपछि सरकार संकटमा फस्ने देखिएको हो ।

६ महिनाको अवधिमा राजस्व र अनुदान गरी ५ खर्ब १८ अर्ब रुपैयाँ आम्दानी गरेको सरकारले ५ खर्ब ६७ अर्ब रुपैयाँ खर्च गरेको छ । यो अवधिमा सरकारले नपुग रकम ऋण उठाएर खर्च गरेको छ ।

भन्सार विभागले पुस मसान्तसम्ममा ३ खर्ब २ अर्ब रुपैयाँ राजस्व असूलीको लक्ष्य राखेको थियो । तर, पुस मसान्तसम्ममा २ खर्ब रुपैयाँमात्रै राजस्व उठेको भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले जानकारी दिए ।

‘यो आर्थिक वर्षको पहिलो ६ महिनामा लक्ष्यभन्दा १ खर्ब कम भन्सार राजस्व उठेको छ,’ महानिर्देशक पौडेलले क्लिकमान्डुसँग भने, ‘विद्युतीय सवारीमा दिइएको भन्सार छुटको असर राजस्वमा देखिएको हो ।’

विभागका अनुसार पुस महिनामा मात्रै सरकारले ३३ अर्ब १० करोड रुपैयाँ भन्सार राजस्व उठाएको छ । गत वर्षको तुलनामा आयात घटेकाले लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेको हो ।

६ महिनामा भन्सार शुल्क लक्ष्यभन्दा ३०.०२ प्रतिशत कम उठेको छ ।

त्यसैगरी, आन्तरिक राजस्व विभागले पनि ६ महिनामा लक्ष्यभन्दा २० प्रतिशत कम राजस्व संकलन गरेको छ । विभागले चालू आर्थिक वर्षको ६ महिनामा २ खर्ब ४२ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । विभागले पुस मसान्तसम्म ३ खर्ब ४ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

चालू आर्थिक वर्षको ६ महिनामा गत वर्षभन्दा ९.५ प्रतिशत बढी राजस्व संकलन गरेको विभागले लक्ष्यभन्दा भने २० प्रतिशत कम राजस्व उठाएको हो । अन्तःशुल्क, मुल्य अभिवृद्धि कर (भ्याट) र आयकर लक्ष्यभन्दा निकै कम संकलन हुँदा समग्र राजस्व लक्ष्य प्रभावित भएको विभागका महानिर्देशक दीर्घ मैनालीले जानकारी दिए ।

आयकरको ४० प्रतिशत किस्ता उठ्ने पुस महिनामा समेत लक्ष्यअनुसार राजस्व संकलन गर्न विभाग असफल भएको हो । उद्योगी व्यवसायीले अनुमानित वित्तीय विवरण बनाउँदै नाफा गणना गरेर आयकर बापत तिर्नु पर्ने ४० प्रतिशत रकम पुस मसान्तमा ३० प्रतिशत, चैत मसान्तमा र ३० प्रतिशत असार मसान्तमा चुक्ता गर्ने गर्छन् । जसले गर्दा विभागले पुस महिनामा सबैभन्दा धेरै कर उठाउने लक्ष्य राखेको हुन्छ ।

विभागले पुस महिनामा मात्रै १ खर्ब १० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेकोमा ७१ अर्ब रुपैयाँ मात्रै राजस्व संकलन गर्न सकेको छ । गत वर्ष पनि विभागले पुस महिनामा ७१ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो ।

चालु आवका लागि सरकारले कूल १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख रुपैयाँ राजश्व उठाउने लक्ष्य लिएको छ । गत आर्थिक वर्षमा सरकारले १० खर्ब १० अर्ब रुपैयाँमात्रै राजस्व संकलन गरेको थियो ।

महालेखा कार्यालयको तथ्याङ्कअनुसार पुस मसान्तसम्ममा ५ खर्ब १८ अर्ब १५ करोड ५६ लाख राजश्व असुली भएको छ । यो वार्षिक लक्ष्यको ३५.९ प्रतिशत हो ।

छ महिनामा कर राजश्वतर्फ ३३.९८ प्रतिशत अर्थात् ४ खर्ब ४३ अर्ब ५५ करोड २० लाख उठेको छ । गैरकरतर्फ वार्षिक लक्ष्यको ४५.२३ प्रतिशत अर्थात् ५२ अर्ब ९४ करोड ७८ लाख असुली भएको छ ।

चालु आवका लागि कूल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको वार्षिक बजेट रहेकामा पुस मसान्तसम्ममा ५ खर्ब ६६ अर्ब ६२ करोड १३ लाख खर्च भएको छ । यो वार्षिक लक्ष्यको ३२.३५ प्रतिशत हो ।

चालु शीर्षकमा कूल ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख रुपैयाँ बजेट छुट्याइएकामा ३८.३१ प्रतिशत अर्थात् ४ खर्ब ३७ अर्ब ३८ करोड १२ लाख रुपैयाँ खर्च भएको छ । चालु शीर्षकमा हालसम्म भएको खर्च वार्षिक लक्ष्यको ३८.३१ प्रतिशत हो ।

त्यसैगरी, पुँजीगत खर्च शीर्षकमा ३ खर्ब २ अर्ब ७ करोड ४४ लाख रुपैयाँ छुट्याइएकामा १६.३ प्रतिशत अर्थात् ४९ अर्ब २३ करोड ५८ लाख रुपैयाँ मात्रै खर्च भएको छ ।

वित्तीय व्यवस्थामा ३ खर्ब ७ अर्ब ४५ करोड ३६ लाख बजेट विनियोजन भएकामा २६.२ प्रतिशत अर्थात् ८० अर्ब ४३ लाख रुपैयाँ खर्च भएको छ ।

Publish on: