
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले द्वारकाको दर्शनका लागि भन्दै समुन्द्रमा डुबुल्की लगाएका छन् ।
गुजरात भ्रमणको दोस्रो दिन आइतबार भारतीय प्रधानमन्त्री मोदी समुन्द्रको पिँधमा पुगेका हुन् ।
पिँधमा पुगेर उनले त्यस स्थानको दर्शन र प्रार्थना गरेका छन् जहाँ जलमग्न द्वारका शहर रहेको धार्मिक विश्वास गरिन्छ ।
हिन्दू धर्मशास्त्रहरुका अनुसार भगवान श्री कृष्ण द्वारकाका राजा थिए ।
मोदीले यस क्रममा शहरको भव्यता र समृद्धिको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरे । समुन्द्रमा डुबुल्की लगाउनु अघि उनको कम्मरमा मयूरको प्वाँख बाँधिएको थियो ।
पानीमा डुबल्की द्वारकाको दर्शन गरेपछि मोदीले सामाजिक सञ्जालमा भिडियो राख्दै लेखेका छन्, ‘पानीमा डुबेको द्वारका नगरमा प्रार्थना गर्न पाउनु निकै दिव्य अनुभव थियो । मलाई आध्यात्मिक वैभव र शाश्वत भक्तिको एक प्राचीन युगसँग जोडिएको महसूस भयो । भगवान श्री कृष्णले हामी सबैलाई आशिर्वाद दिउन् ।’
हिन्दू धर्मशास्त्रहरुका अनुसार चार धाममध्ये द्वारका एक हो । द्वारका गुजरातको काठियावाड क्षेत्रमा अरब सागरको नजिक रहेको छ ।
पौराणिक कथा अनुसार जरासंन्धद्वारा प्रजामाथि भएको अत्याचार रोक्नका लागि भगवान श्री कृष्ण मथुरा छाडेर द्वारका आएका थिए । उनले समुद्र किनारमा एक दिव्य नगर बनाएका थिए जसको नाम द्वारका राखिएको थियो । धार्मिक मान्यता अनुसार महाभारतको ३६ वर्षपछि द्वारका नगरी समुद्रमा डुबेको थियो ।
SHARE YOUR THOUGHTS