काठमाडौं । इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनमा १८ हजार ९४८ मतगणना गर्दा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ ७६७७ मतसहित अगाडि रहेका छन् ।
सोमबार बिहानको ताजा परिणाम अनुसार उनले नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काको भन्दा २२८२ बढी मत ल्याइसकेका छन् । कांग्रेसका खड्काले अहिलेसम्म ५३९५ मत ल्याएका छन्।
सुहाङले मतान्तर बढाउँदै लगेको देखिएको छ ।
यता मुडा चुनाव चिह्नसहित स्वतन्त्र उम्मेदवार रहेका डकेन्द्रसिंह थेगिमले पनि मत बढाएका छन् । उनी ४०५८ मतका साथ तेस्रो स्थानमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले मात्रै ११६२ मत पाएका छन् ।
इलाम २ को उपनिर्वाचनमा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र राप्रपा लगायतका दलहरु पनि चुनावी प्रतिस्पर्धामा छन् ।
इलाम २ मा शनिबार भएको निर्वाचनमा १ लाख १५ हजार ८ सय ८९ मतदातामध्ये ६९ हजार २ सय ८७ जनाले शनिबार मतदान गरेका थिए ।
एमाले उम्मेदवार सुहाङ नेम्वाङ भने दिवंगत सुवास नेम्वाङका छोरा हुन् । यस्तै हाल कांग्रेसबाट उम्मेदवार बनेका खड्का नेम्वाङसँग झिनो मतान्तरले पराजित भएका थिए । यस्तै माओवादी निकट पत्रकारको छवि बनाएका मिलन लिम्बू निर्वाचनको संघारमा उम्मेदवारी दिएसँगै रास्वपा प्रवेश गरेका थिए ।
आइतबार दिउँसो सुरु गरिएको मतगणनामा प्रारम्भिक चरण नेपाली कांग्रेसका उम्मेदवार खड्काले अग्रता कायम गरेपनि साँझदेखि सुहाङले अग्रता लिन थालेका थिए ।
SHARE YOUR THOUGHTS