![](https://internal.appharu.com/wp-content/uploads/2024/05/japan-thagi.png)
काठमाडौं । जापान पठाइदिने भन्दै २ सयभन्दा बढीलाई ठगी गर्ने दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।
शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गर्दै उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरेको हो । उनीहरुले अर्काको नागरिकताको दुरुपयोग गरी अर्काकै नाममा कन्सलटेन्सी दर्ता गरेर ठगी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा वर्ष ३५ का नारायणबहादुर राई भन्ने राजन श्रेष्ठ र पर्वराज पाण्डे भन्ने वर्ष ४६ का ईश्वरी पाण्डे रहेका छन् ।
श्रेष्ठ रामेछाप लिखु तामाकोशी गाउँपालिका ७ का हुन् भने पाण्डे झापा गौरीदह नगरपालिका १ का रहेको उपत्यका अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।
रामेछाप घर भएका राजन श्रेष्ठले नारायणबहादुर राईको नाममा सानिमा बैंक समेतमा खाता खोलेको र खाता खोल्दा केवाइसी फर्ममा आफ्नो फोटो राखेको तर नागरिकता नारायण बहादुर राईको राखेका थिए ।
केवाइसी फर्म र नागरिकतामा रहेको फोटो अलग अलग हुँदा समेत सानिमा बैंकले भेरिफाइ नगरी खाता खोलिदिएको र उक्त खातामा विदेश जान चाहने मानिसहरुबाट रकम जम्मा गर्न लगाई ठगी गरी उक्त रकमहरु निकाली दुरुपयोग गरेको देखिएको उनले बताए ।
दीपबहादुर तामाङमार्फत १३ जनाबाट ३७ लाख,सुनिलकुमार नेपालीमार्फत २० जनाबाट ३२ लाख रुपैयाँ लिएको पाइएको प्रहरीले जनाएको छ । यस्तै वैदेशिक रोजगार विभागमा अन्य करिव १०० जनाबाट २ करोड ६८ लाख ठगी गरेको उजुरी परेको बुझिएको उनले बताए । सबैसँग गरि उनीहरुले करिब ३ करोड ३७ लाख रुपैयाँ ठगी गरेको पाइएको हो ।
राजन श्रेष्ठलाई मिति वैशाख २० गते काठमाडौंको कागेश्वरीमनोहरा-७ बाट र ईश्वरी पाण्डेलाई काठमाडौं महानगरपालिका-२९ बाट नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
नारायणबहादुर राई भन्ने राजन श्रेष्ठले आफ्नो खातामा धेरै रकम हालेको र बैंक ट्रान्जेक्सन धेरै देखिने हुँदा आफ्ना पार्टनर पर्वराज भन्ने ईश्वरी पाण्डेको खातामा रकम जम्मा गर्न लगाउने गरेको देखिएको प्रहरीले जनाएको छ ।
वास्तविक नारायणबहादुर राईले आफ्नो नागरिकता हराएको र विगत केही वर्षदेखि पठाओ चलाएर जिविका चलाउने गरेको बयान प्रहरीमा दिएका छन् ।
SHARE YOUR THOUGHTS