![](https://internal.appharu.com/wp-content/uploads/2024/05/bhango.jpg)
ढोरपाटन । बागलुङको उच्च पहाडी क्षेत्रमा पर्ने रमुवा गाउँ आलुखेतीका लागि प्रख्यात छ । गलकोट नगरपालिका–१० मा पर्ने यस गाउँमा आलु र भाँगोबाहेक अन्य बाली निकै कम लाग्ने भएकाले गाउँका सबै आलुखेतीमा व्यस्त छन् ।
आलुखेतीबाटै उक्त गाउँका स्थानीयले जीविकोपार्जन गर्दै आएका छन् । भौगोलिक विकटताका कारण आलु बजारसम्म पुर्याउन पनि समस्या छ । उत्पादन भएको आलुलाई बजारीकरण गर्न सडक स्तरोन्नति हुनुपर्ने स्थानीयको माग छ । आलु र भाँगो एकै ठाउँमा उत्पादन गर्न सकिने हुँदा किसानले बढी लाभ लिएका छन् ।
दुर्गम गाउँ भए पनि रमुवामा २०६५ मा स्थानीयको लगानीमा सडक निर्माण भएको थियो । उक्त सडक हालसम्म पनि स्तरोन्नति हुनसकेको छैन । बजार क्षेत्रमा रासायनिक मल प्रयोग गरी उन्नत जातका आलुको उत्पादन हुने गरे पनि रमुवाका किसानले रैथाने जातका आलुखेतीमा प्रांगारिक मल प्रयोग गर्दै आएका छन् ।
पशुपालन र आलुखेती यहाँका स्थानीयको मुख्य पेसा हो । प्रांगारिक मलका कारण एकै परिवारले वार्षिक तीन हजारदेखि पाँच हजार क्विन्टलसम्म आलु उत्पादन गर्छन् ।
रमुवामा हरेक वर्ष ४० देखि ५० हजार क्विन्टल आलु उत्पादन हुने गरेको छ । यो गाउँमा करिब एक सय ३० परिवार स्थायी रूपमा बसोबास गर्दै आएका छन् । त्यसमध्ये अधिकांशले भेडाबाख्रा र गाईभैंसीपालन गर्ने हुँदा मलको कुनै समस्या छैन । गाउँमा खाद्यबाली उत्पादन कम हुँदा वर्षभरि खान पुग्दैन । त्यसले गर्दा भाँगो र आलुसँग चामल साटेर गुजारा चलाउनुपर्ने स्थिति छ ।
पालिकाको केन्द्र गलकोटसम्म पुग्ने सडक स्तरोन्नति भए आलु बजारीकरणमा कुनै समस्या नहुने गलकोट नगरपालिका- १० रमुवाका स्थानीयसमेत रहेका पूर्वअध्यक्ष तिलक घर्तीमगरले बताए ।
रमुवामा उत्पादन हुने आलु गलकोट, बागलुङ, पोखरा, काठमाडौं, चितवनलगायतका ठाउँमा पुग्ने गर्छ । वर्षौं पहिलेदेखि नै यहाँका नागरिक आलुखेतीमा लाग्दै आएका हुन् । समुद्री सतहबाट दुई हजार दुई सय मिटरभन्दा माथिको उचाइमा रहेको रमुवामा धान, गहुँ भने उत्पादन हुँदैन ।
प्रविधिको विकास भए पनि आफूहरूले परम्परागत रूपमा प्रांगारिक आलु उत्पादन गर्ने स्थानीय दिव्या रानाले बताइन् । हरेक वर्ष एकै परिवार ५० देखि १०० मुरीसम्म आलु फलाउने उनले बताइन् । आलु फल्ने समयमा कुनै पनि रोगको प्रकोप नदेखिए हरेक वर्ष उत्पादन वृद्धि हुने राना बताउँछिन् । आलुखेतीबाटै परिवारको लालनपाल, पढाइलेखाइदेखि जीविका चलाउने गरेको उनले सुनाइन् ।
गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले रमुवालाई आलु पकेट क्षेत्र घोषणा गरेर उत्पादन वृद्धिमा लागेको बताए । यहाँका किसानलाई आलुखेतीतर्फ अझ प्रोत्साहन गर्न कृषिसम्बन्धी तालिम, आवश्यक प्राविधिक सहयोग गर्दै आएको उनले बताए । अब नगरपालिकाले उत्पादनका आधारमा किसानलाई अनुदान दिने नीति रहेको उनले जानकारी दिए ।
हाल सडक कच्ची भए पनि किसानलाई बजारसम्म आलु पुर्याउन समस्या नभएको बताउँदै उनले उत्पादित आलुले बजार नपाए पालिकाले नै जिम्मा लिने स्पष्ट गरे । किसानलाई प्रविधिसँग जोडेर उत्पादन बढाउनेतर्फ पालिका लागेको उनले बताए । आलुलाई ‘ब्राण्डिङ’ गर्ने पालिकाको योजना पनि उनले सुनाए ।
प्रवक्ता भण्डारीले भने, ‘रमुवा आलु उत्पादनका लागि उर्वर भूमि हो, पछिल्लो समय विषादी प्रयोग गरेको आलु बजारमा आइरहेको बेला यहाँका किसानले त्यस्तो मल प्रयोग नगरी उत्पादन गर्छन् । जैविक आलुको बजार पनि राम्रो छ, किसानले बजार पाएन भनेर गुनासो गर्नुभएको छैन । उहाँहरूले उत्पादन गरेको आलु बिक्री नभए नगरपालिकाले त्यसको जिम्मा लिन्छ र किसानलाई उचित मूल्यको व्यवस्था गर्छ । सिंगाे गाउँ नै आलुखेतीमा लाग्दा उत्पादन हरेक वर्ष बढेको छ । नगरपालिकाले समय–समयमा किसानलाई प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ ।’
SHARE YOUR THOUGHTS