अमेरिकाले लगाउने नयाँ भन्सार शुल्कले चीनको निर्यातमाथि नकारात्मक असर पर्छ ? « Eglish Khabarhub

अमेरिकाले लगाउने नयाँ भन्सार शुल्कले चीनको निर्यातमाथि नकारात्मक असर पर्छ ?



एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले मंगलबार चीनका आयातमा नयाँ ट्यारिफ (भन्सार शुल्क) घोषणा गर्ने तयारी गरेका छन् । रोयटर्सका अनुसार विद्युतीय सवारी (ईभी), चिकित्सा आपूर्ति र सौर्य उपकरणलगायतका क्षेत्रहरूलाई लक्षित गर्दै बाइडेन प्रशासानले नयाँ भन्सार दर घोषणा गर्ने तयारी गरेको हो ।

बाइडेन प्रशासनले नोभेम्बरको राष्ट्रपतीय चुनाव अगाडि नै चीनका आयातमा नयाँ भन्सार दर लगाउन खोजेको हो । किनकि एकपल्ट फेरि चुनाव जित्न खोजेका डेमोक्र्याट बाइडेनले चीन विरोधी कडा दृष्टिकोण लिँदै आफ्ना चिरपरिचित रिपब्लिकन प्रतिद्वन्द्वी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले तोकेका धेरै चिनियाँ सामानहरूमा लगाइएका करका दरहरू परिवर्तन गर्ने संकेत गरिसकेका छन् ।

चीनले अमेरिकामा ईभी निर्यात गर्छ ?

धेरै थोरै । चाइना प्यासेन्जर कार एसोसिएसनको तथ्यांकअनुसार पहिलो त्रैमासिकमा चिनियाँ अटोमेकर गीलीले अमेरिकामा २ हजार २१७ कार निर्यात गरेको थियो ।

तर, आफ्नो एकमात्र पोलस्टार ब्रान्डअन्तर्गत अमेरिकी बजारमा केही गाडि बेचेको गीलीले तत्काल कुनै प्रतिक्रिया दिन चाहेन । चीनको गीली र स्वीडेनको भोल्भो कार मिलेर चीनमा स्थापना गरिएको कार निर्माता पोलेस्टार अटोमोटिभले चीनमा आफ्ना अधिकांश कारहरू बनाउँछ । भोल्भोमा गीलीको बहुमत स्वामित्व छ ।

कम्पनीले चीन बाहिर थप गाडीहरू उत्पादन गर्ने प्रयासलाई तीब्रता दिइरहेको पोलस्टारका सीईओ थोमस इन्गेनलाथले गत महिना रोयटर्सलाई बताएका थिए । पोलस्टारले युरोपमा ४० प्रतिशत, संयुक्त राज्य अमेरिकामा ३० प्रतिशत र एसिया-प्रशान्त क्षेत्रमा ३० प्रतिशत बिक्री गर्ने लक्ष्य राखेको उनले जानकारी दिए ।

इन्गेनलाथले गत वर्ष बताएअनुसार पोलेस्टारले सन् २०२४ देखि अमेरिकी र युरोपेली बजारका लागि अमेरिकाको दक्षिण क्यारोलिनामा उत्पादन सुरु गर्ने लक्ष्य राखेको थियो ।

के नयाँ शुल्क चीनको सौर्य उद्योगको लागि खतरा हो ?

चीनको लागि बजार सानो छ र एक दशकभन्दा बढीदेखि करका कारणले नै अमेरिका निर्यातमा समस्या छ । हालसालै दक्षिणपूर्वी एशियामा पनि थप शुल्कहरू लगाइएपछि आफ्ना चिनियाँ सौर्य प्यानल निर्यातमा समस्या भएको छ।

सेन्टर फर स्ट्रयाटेजिक एण्ड इन्टरनेशनल स्टडीजका अनुसार हाल चीनमा ८० प्रतिशतभन्दा बढी सौर्य प्यानल उत्पादन हुने गरेको छ । यसका साथै, चीनमा प्यानल बनाउने लागत अमेरिकाको तुलनामा ६० प्रतिशत सस्तो छ ।

गत वर्ष, चीनले अमेरिकामा ३३ लाख ५० हजार सौर्य सेलहरू निर्यात गरेको थियो । जुन चीनको कुल निर्यातको ०.०१ प्रतिशतभन्दा कम थियो । यस्तै, सन् २०२३ मा अमेरिकामा भएको सौर्य प्यानलको ढुवानी ४१ करोड ३१ लाख थियो, जुन चीनको सोलार प्यानल निर्यातको ०.०३ प्रतिशतमात्र हो ।

उद्योग पर्यवेक्षकहरूका अनुसार सौर्य प्यानल उत्पादन गर्ने उपकरणहरूको आपूर्ति श्रृंखला जटिल हुन्छ । त्यसैले उनीहरूका अनुसार अमेरिकाको नयाँ करका दर तथा शुल्कहरूले त्यस्ता उपकरणको बिक्रीलाई कसरी असर गर्छ त्यसमा सौर्य प्यानलको निर्यात निर्भर हुनेछ ।

चिकित्सा सामाग्री आपूर्तिका के हुन्छ ?

‘चीनमा निर्मित चिकित्सा आपूर्ति सामाग्रीहरू जस्तै सिरिन्ज र व्यक्तिगत सुरक्षात्मक उपकरणले पनि अमेरिकामा अतिरिक्त शुल्कको सामना गर्नुपर्नेछ’ बाइडेन प्रशासनको निर्णयसँग परिचित स्रोतहरूले भने ।

डब्लुटीओको तथ्यांकअनुसार, चीनले सन् २०२२ मा संयुक्त राज्य अमेरिकामा ३०.९ अर्ब अमेरिकी डलरका मेडिकल सामानहरू निर्यात गरेको थियो । यो निर्यात चीनको कुल चिकित्सा सामानको निर्यातको पाँच भागको एक भाग मात्र हो ।

बाइडेन प्रशासनको अपेक्षित भन्सार शुल्क वृद्धि अमेरिकामा महामारीको समयमा देखिएको आपूर्ति अभावबाट जोगाउनको लागि रचिएको बृहत्तर रणनीतिको एउटा हिस्सा हो ।

अमेरिकी मेडिकल म्यानुफ्याक्चरर्स एसोसिएसनका अनुसार पनि अमेरिकी उत्पादकहरूलाई थप बराबरी स्तरको खेल मैदान उपलब्ध गराएर आयातसँग प्रतिस्पर्धा गर्ने मौका चाहिन्छ ।

धातु उत्पादनहरूमा थप शुल्क ?

अप्रिलमा बाइडेनले चिनियाँ धातु उत्पादनमा अमेरिकी शुल्क तीन गुणा बढाउन आह्वान गरे । एक अमेरिकी अधिकारीका अनुसार यो १ अर्ब डलरभन्दा बढी मूल्यको स्टिल र आल्मुनियम उत्पादनहरूमा लागू हुनेछ ।

Publish on: