सर्वसाधारणलाई सेयर जारी गर्न रिलायन्सले सेबोनबाट पायो अनुमति, आवेदन दिन ४१ हजार चाहिने « Eglish Khabarhub

सर्वसाधारणलाई सेयर जारी गर्न रिलायन्सले सेबोनबाट पायो अनुमति, आवेदन दिन ४१ हजार चाहिने



काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट सर्वसाधारण लगानीकर्तालाई साधारण सेयर (आईपीओ) निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

धितोपत्र बोर्डका अध्यक्ष नरेन्द्र कुमार रानाका अनुसार कम्पनीले सेयर निष्कासन गर्न बुधबार अनुमति पाएको हो । म्पनीले सर्वसाधारणलाई प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले सेयर निष्कासन गर्ने छ ।

कम्पनीको सेयर भर्न लगानीकर्ताले ४१ हजार ४० रुपैयाँ खर्च गर्नु पर्ने छ । बुक बिल्डिङ विधिबाट जारी हुने आईपीओमा सर्वसाधारणले न्यूनतम ५० कित्ता आवेदन दिनुपर्छ । कम्पनीले सर्वसाधारलाई ११ लाख ५५ हजार ९ सय ६० कित्ता आईपीओ निष्कासन गर्ने छ ।

यसको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । कम्पनीले यसअघि योग्य संस्थागत लगानीकर्तालाई सेयर निष्कासन गरिसकेको छ । योग्य संस्थागत लगानीकर्ताले कबोल गरेको मूल्यका आधारमा सेयरको कट अफ मूल्य प्रतिकित्ता ९ सय १२ रुपैयाँ रहेको छ ।

रिलायन्सले जारी पुँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४५ प्रतिशतले हुने १९ करोड २६ लाख ६० हजार रुपैयाँको १९ लाख २६ हजार ६ सय कित्ता सेयर जारी गर्न अनुमति पाएको छ । पहिलो चरणमा संस्थागत लगानीकर्ताका लागि माघ १० गतेदेखि १४ गतेसम्म ४० प्रतिशत अर्थात् ७ लाख ७० हजार ६४० कित्ता सेयरका लागि कबोल पेस गरेका थिए । रिलायन्सको आईपीओमा योग्य संस्थागत लगानीकर्ताहरूले पेस गरेको बोलपत्र माघ १५ गते खोलिएको थियो । त्यसपछि सर्वसाधारणका लागि सेयर निष्कासन गर्न लागेको थियो ।

२०८० पुस २५ गते नेपाल विद्युत प्राधिकरणले धितोपत्र बोर्डलाई पत्र पठाउँदै ‘प्राधिकरणबाट विद्युत सेवा उपभोग गरी विद्युत महशुलबापत २०८० मंसिर मसान्तसम्म १ अर्ब ९४ करोड २६ लाख ९२ हजार ९३३ रुपैयाँ भुक्तानी गर्न बाँकी छ’ भन्ने पत्र पठाएको थियो । कम्पनीले उक्त रकम प्राधिकरणलाई तिर्दा कम्पनीको नेटवर्थ १५० रुपैयाँ भन्दा कम हुने भएपछि आईपीओ रोकिएको थियो ।

२०७२ माघदेखि २०७५ वैशाखसम्मको सरकारले डेडिकेटेड फिडर तथा ट्रंक लाईन प्रयोग गरेबापत थप महशुल लिने निर्णय गरेको छ ।
उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले थप बक्यौता उठाउन विद्युत प्राधिकरणलाई पत्राचार गरेको छ । प्राधिकरणले गरेको पत्राचार अनुसार रिलायन्सले ७५ करोड ३७ लाख तिर्न बाँकी रहेको छ । यो दायित्व सेयर लगानीकर्तामा पर्ने छ । अहिले यस्तो महशुल बुझाउने विषयमा उद्योगी र प्राधिकरणबिच बिबाद भने कायमै छ ।

कम्पनीले योग्य संस्थागत लगानीकर्ताका लागि निष्कासन गरेको सेयरमा ६४ वटा आवेदन दिएएका थिए । ९१२ रुपैयाँमा सेयर खरिदका लागि आवेदन दिनेमा गौरव नेपाल इनेष्टमेन्ट कुमारी क्यापिटल, कुमारी धनवृद्धि योजना, कुमारी इक्विटी फण्ड, कुमारी सुुनौलो लगानी योजना, नबिल स्टक डिल्लर, नेशनल फण्ड म्यानेजमेन्ट, नेपाल लाइफ क्यापिटल, प्रभु क्यापिटल, प्रभु सेलेक्ट फण्ड, प्रभु स्मार्ट फण्ड, एस आर हाईड्रो एण्ड इन्भेष्टमेन्ट, सिद्धार्थ क्यापिटल लिमिटेड रहेका छन् । रिलायन्सको बोलकबोलका लागि प्रतिकित्ता ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँसम्म बिक्री मूल्य सीमा तोकिएको थियो ।

बुक बिल्डिङमार्फत आईपीओ जारी कसरी हुन्छ ?

बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्दा आईपीओ जारी गर्ने कम्पनीले निष्कासन तथा बिक्री प्रबन्धकको सहयोगमा योग्य संस्थागत लगानीकर्तासँग उनीहरूले चाहेको न्यूनतम खरिद संख्या, आशय मूल्य र सोको मूल्यांकन विधिसहित प्रारम्भिक विवरणपत्रमा सुझाव माग हुन्छ, त्यसपछि योग्य संस्थागत लगानीकर्ताले आवश्यक अध्ययन गरी आशय मूल्य पेस गर्छन् ।

त्यही आशय मूल्यको आधारमा बिक्री मूल्य सीमा (कट अफ मूल्य) निर्धारण हुन्छ। यो मूल्यमा योग्य संस्थागत लगानीकर्ताले सेयर खरिद गर्छन् भने सर्वसाधारणले यो मूल्यको १० प्रतिशत कम तिर्नुपर्नेछ। कट अफ मूल्य भन्नाले यस्तो मूल्य हो, जुन मूल्यभन्दा बढी कबोल गर्ने योग्य संस्थागत लगानीकर्तालाई बाँडफाँट गरे सबै बिक्री हुनेछ।

योग्य संस्थागत लगानीकर्तालाई बाँडफाँट सम्पन्न भएको विवरण ७ दिनभित्र नेपाल धितोपत्र बोर्डमा बुझाउनुपर्ने व्यवस्था छ । बोर्डको स्वीकृतिपछि सर्वसाधारणलाई आईपीओ जारी गर्ने प्रक्रिया अघि बढ्छ जसअघि सर्वसाधारणलाई सबै कुरा खुलाएर नयाँ विवरणपत्र पेस गर्नुपर्छ । बोर्डले स्वीकृति दिएको ७ दिनभित्र आह्वान–पत्र प्रकाशन गर्नुपर्नेछ । र सोहीअनुसार आवेदन माग गरिनेछ ।

Publish on: