पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सुभाष चन्द्र जोशी नियुक्त « Eglish Khabarhub

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सुभाष चन्द्र जोशी नियुक्त



काठमाडौं । पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सुभाष चन्द्र जोशी नियुक्त भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हित बहादुर तामाङको अध्यक्षतामा बसेको पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को बैठकले जोशीलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो । खुल्ला प्रतिस्पर्धाबाट जोशी छनोट भएको मन्त्रालयले जनाएको छ ।

शिक्षा क्षेत्रको नेतृत्वदायी भूमिकामा रहेर झन्डै दुई दशकको अनुभव बटुलेका जोशीले सोमबार नै शपथ लिएका छन्। नवनियुक्त कार्यकारी निर्देशक जोशीले पछिल्लो कार्यविधि अनुसार आफू छनोट हुन सफल भएको भन्दै आफूले अब सबै पक्षसँग समन्वय गरेर आफूले सिकेका, जानेका कुराहरु अनुसार त्याहाँको वस्तुस्थिति अनुसार अगाडि बढ्ने प्रतिवद्धता जनाए ।

उनले पशुपति विश्वकै हिन्दुहरुको आस्थाको केन्द्र भएकाले त्यसलाई थप शसक्त बनाउने र विकासमा एउटा ईट्टा थप्ने आफ्नो प्रयत्न हुने बताए । पछिल्लो समय पशुपति विकास कोषको कार्यकारी निर्देशक नियुक्ति प्रक्रियालाई लिएर आलोचना हुने गरेकोमा यो पटक मन्त्री तामाङको निर्देशनमा खुल्ला प्रतिस्पर्धाबाट नियुक्त गरिएको हो । केही समयदेखि रिक्त रहेको कार्यकारी निर्देशक पदमा यही जेठ २३ गते कोषको कार्यकारी निर्देशकमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्नेगरी कोषले आवेदन माग गरेको थियो ।

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकको पद नेपाल सरकारको राजपत्रांकित विशिष्ट श्रेणी वा सचिव सरहको पद हो ।

Publish on: