![](https://internal.appharu.com/wp-content/uploads/2024/05/ev-car_gadi-Rasuwa-to-ktm.png)
रसुवा । चीनसँग नाका जोडिएको जिल्ला रसुवाबाट संकलन हुने राजस्वमा उल्लेखनीय वृद्वि भएको छ । नेपाल–चीनबीचको व्यापार–व्यवसायका कारोबार रसुवागढी नाकाबाट बढेका कारण राजस्व असुलीमा प्रसस्त वृद्धि भएको हो ।
कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक सुरेश सुवेदीले रसुवामा समग्र राजस्व आम्दानी २० अर्ब ३६ करोड ९७ लाख ८२ हजार एक सय १२ रहेको बताएका छन् ।
यो राजस्व अघिल्लो आर्थिक वर्षको तुलनामा २.४ गुणाले वृद्वि भएको हो । यससँगै सबैभन्दा बढी राजस्व आर्जन गर्ने कार्यालयमा रसुवा भन्सार कार्यालय रसुवागढी रहेको छ । कोरोना महामारीको क्रममा रसुवागढी नाका बन्द नै थियो ।
पछिल्ला वर्षहरुमा चिनियाँ विद्युतीय सवारी (ईभी) भित्रिन थालेपछि राजस्य बढेको अधिकारीहरुको भनाइ छ । सरकारी तथ्यांक अनुसार पछिल्लो आर्थिक वर्षमा मात्रै ११ हजारभन्दा धेरै ईभी नेपाल भित्रिएका थिए ।
नेपालमा भित्रिने ईभीहरुमध्ये ७० प्रतिशत चीनबाटै आउने गरेका छन् । पछिल्लो ४ महिनाको अवधिमै ५ हजार ५ सय ईभी चीनबाट नेपाल भित्रिएको तथ्यांक छ । विशेषगरी बीवाइडी, जीएसी, ओमोडा लगायतका ईभी पछिल्ला वर्षहरुमा नेपाल भित्रिने क्रम बढ्दो छ ।
नेपाल सरकारले १०० किलोवाट क्षमतासम्मका विद्युतीय सवारीमा १० प्रतिशत भन्सार महसुल लगाएको छ । १०० देखि २०० किलोवाट क्षमताका विद्युतीय सवारीमा १५ प्रतिशत र २०० देखि ३०० किलोवाटसम्मका विद्युतीय सवारीमा ४० प्रतिशत भन्सार शुल्क लगाएको छ ।
SHARE YOUR THOUGHTS