विराटनगर । अघोषित लोडसेडिङको मार खेप्दै आएका सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योग पछिल्लो समय विद्युत प्राधिकरणको घोषित लोडसेडिङले थप मारमा परेका छन् ।
विद्युत प्राधिकरणको घोषित र अघोषित लोडसेडिङका कारण यस क्षेत्रका निकासी मुलक उद्योगको निकासी व्यापारमा प्रभाव परेको छ । केही उद्योगले महँगो लागतको डिजल प्लान्ट जेनेरेटर चलाएर वस्तु उत्पादन गर्दै निकासीलाई निरन्तरता दिदै आएका छन, भने केही उद्योगले निकासीको कोटा नै कटौती गरेको पाइएको छ ।
विद्युत प्राधिकरणले औपचारिक रुपमा लोडसेडिङ घोषणा गर्दै साँझको पीक समयमा ५ बजेदेखि १० बजे सम्म र बिहान ५ देखि ९ बजेसम्म औद्योगिक क्षेत्रमा विद्युत कटौती सुरु गरेको छ ।
यसअघि पनि पीक समयमा अघोषित रुपमा दैनिक ८ घण्टा सम्म विद्युत आपूर्ति ठप्प हुँदै आएको थियो । रिलायन्स स्पिनिङ मिल खनारका प्रशासन प्रमुख महेश पोखरेलले भने चौविसै घण्टा चल्ने यो उद्योगमा दैनिक ९-१० घण्टा विद्युत कटौती भएपछि निकासी व्यापार प्रभावित बनेको छ ।
यो उद्योग दैनिक तिन सिफ्ट चलेर १२० टन धागो उत्पादन गर्दै आएको छ । ‘विद्युत प्राधिकरणले साँझको पीक समय ५ बजेदेखि १० बजेसम्म र बिहान ५ बजेदेखि ९ बजेसम्म विद्युत कटौती गर्दा उद्योगको उत्पादन ४० प्रतिशत सम्म घट्यो,’ पोखरेलले भने, ‘ उत्पादन घटेपछि बजारको मागलाई पूर्ति गर्न नसक्दा निकासी नै प्रभावित बन्यो । तर उद्योगले निकासीलाई निरन्तरता दिन प्रति यूनिट ३५ रुपैयाँ खर्च धानेर जेनेरेटर चलाएर भएपनि उद्योग चलाएर निकासीलाई निरन्तरता दिन बाध्य भएका छौं ।’
उद्योगमा ४ हजार बढी मजदुर छन् । विद्युत कटौतीका समय ती मजदुरलाई बिदा दिने कुरापनि भएन । पोखरेलका अनुसार बजारको माग धान्दै निकासीलाई जोगाउन र मजदुरको भोकोपेट भर्नका लागि दैनिक प्रतियुनिट ३५ रुपैयाँ लागतमा जेनेरेटरबाट उद्योग सञ्चालन दैनिक १० घण्टा उद्योग चलाउदै आएको पोखरेलले बताए ।
विद्युतबाट उद्योग चलाउदा प्रतियूनिट साढे ९ रुपैयाँ लाग्छ । उनका अनुसार डिजल प्लान्टबाट उद्योग चलाउदा प्रति युनिट ३५ रुपैयाँ पर्छ । प्राधिकरणले उद्योगलाई पीक समय साँझ ८ देखि १२ बजेसम्म प्रति यूनिट १२ रुपैयाँ, दिनभरी प्रति यूनिट ९ रुपैयाँ र राती १२ बजेपछि प्रतियूनिट साढे ६ रुपैयाँ महसुल लिदै आएको छ ।
रिलायन्सले भारत र टर्की लगायतका मुलुकमा धागो निकासी गर्दै आएको छ । यो उद्योगले गत वर्ष ६ अर्ब ७५ करोड मूल्य वरावरको २६ हजार ९ सय टन धागो निकासी गरेको थियो । चालु वर्षको तीन महिनामा यो उद्योगले १ अर्ब ७६ करोड मूल्य बराबरको ६ हजार २६७ टन धागो निकासी गरेको छ ।
अबौको उत्पादन निकासी गर्दै आएको हुलास वायर उद्योगले पनि विद्युत अभावमा माग अनुसार वस्तु उत्पादन गर्न नसक्दा निकासी प्रभावित भएको जनाएको छ ।
साताअघि दैनिक बिहान बेलुका गरेर ८ घण्टा विद्युत आउदैन थियो । सातायता १० घण्टा विद्युत आउदैन् । उद्योग प्रतिनिधि गणपत ठाकुरले जेनेरेटर चलाएर फलाम उद्योग चलाउने सम्भावना नै नभएपछि उत्पादन आधा कटौती गरेका कारण निकासी नै प्रभावित भएको बताए ।
उद्योगले विगतमा फलामका पाइप, वायर, टीएमटी, जिआई लगायतका वस्तु दैनिक ४ सय टन उत्पादन गरेर निकासी गर्दै आएको थियो ।
ठाकुरले भने विद्युत प्राधिकरणको लोडसेडिङले उद्योगको उत्पादन यसबेला दैनिक सवा दुई सय टनमा झरेको छ । ‘लोडसेडिङले उद्योगको उत्पादन नै आधा घटेपछि निकासी प्रभावित हुने नै भयो,’ ठाकुरले भने, ‘१० घण्टा सम्म विद्युत आपूर्ति नहुँदा स्थानीय माग धान्ने उत्पादन पनि हुन गाह्रो छ ।’
रिलायन्स थर्मपोली उद्योगले अनियमित विद्युत आपूर्ति र लोडसेडिङका कारण पाटीले माग गरे अनुसार वस्तु उत्पादन गर्न नसक्दा निकासी प्रभावित बनेको उद्योगका सञ्चालक सुशिल सुरानको भनाइ छ ।
‘विदेशबाट माग आउछ । तर उत्पादन नै गर्न सकिदैन । पीक समयमा प्राधिकरणको घोषित र अघोषित लोडसेडिङ अनि अरु वेलापनि पटक पटकको ट्रिपिङले २४ घण्टामा १२ घण्टापनि उद्योग चल्दैन,’ उनले भने, ‘ त्यसकै कारण माग अनुसारको उत्पादन गर्न नसक्दा निकासी कटौती गर्नुपर्ने बाध्यता छ ।’
क्षमता अनुसारको उत्पादन गर्न नसक्दा कच्चा पदार्थ स्टक छ । उनले प्लाष्टिक उद्योगमा एक पटक लाइन जाँदा ३० प्रतिशत कच्चा पदार्थ नष्ट हुने बताए ।
‘त्यसलाई पगाल्न पुन दुईघण्टा मेशिन चलाउनु पर्दा उत्पादन लागत बढछ् । सुरानाले भने जेनेरेटर चलाएर प्लाष्टिक उद्योग चलाउन सम्भव छैन । त्यसैले विद्युतको पर्खाइमा बसेर उद्योग चलाउनु पर्दा माग अनुसारको उत्पादन नै गर्न सकिदैन,’ उनले भने ।
विद्युत प्राधिकरणको घोषित र अघोषित लोडसेडिङका कारण यस क्षेत्रका उद्योगले ४० प्रतिशत सम्म उत्पाद कटौती गर्दा कोशी प्रदेशवाट हुने निकासी प्रभावित भएको उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाको भनाई छ ।
अब पीक आवरमा लोडसेडिङको तालिका नै बनाएर विद्युत कटौती सुरु गरेको छ । ‘तालिका बाहेकको तालिका बाहिरको समयमा पनि पटक पटकको ट्रिपिङले औद्योगिक क्षेत्र थला परेको अवस्था छ ।
उनकाअनुसार लोडसेडिङको तालिकाभन्दा बाहिरको समयमा विद्युत आपूर्ति अनियमित र ट्रिपिङ नहुने हो भने जेनतेन उद्योग चल्छन, त्यसमा विद्युत प्राधिकरणले विश्वास दिलाउन सक्नु पर्छ,’ सुरानाले भने ।
यो औद्योगिक क्षेत्रमा झण्डै ६ सय उद्योग छन् । प्राधिकरणको अघोषित लोडसेडिङ हुँदा प्राय सबै उद्योगले ३० प्रतिशत सम्म उत्पादन कटौती गरेका थिए ।
प्राधिकरणले तालिका नै बनाएर सातादेखि पीक समयमा बेलुका ५ घण्टा र विहान ४ घण्टा लोडसेडिङ गर्दा उद्योगको उत्पादन कटौती ४० प्रतिशत सम्म पुगेको सुरानको भनाइ छ । उनका अनुसार फलाम, प्लाष्टिक र जुट लगायतका उद्योग बढी मारमा परेका छन् ।
तत्काललाई औद्योगिक क्षेत्रमा पीक समयमा विद्युत कटौतीको विकल्प नभएको विद्युत प्राधिकरण कोशी प्रदेश प्रमुख मुनेन्द्र ठाकुरको भनाई छ । ४५६ मेगावाटको माथिल्लो तामाकोसीको विद्युत आपूर्ति ठप्प छ । भारतबाट पनि आयात हुन सकेको छैन् । ठाकुरका अनुसार स्थानीय उत्पादन पनि एक तिहाईले घट्दा औद्योगिक क्षेत्रमा लोडसेडिङको विकल्प छैन् ।
कोसी प्रदेशमा यतिबेला २६० मेगावाट विद्युतको माग छ । तर प्राधिकरणसँग त्यसको आधामात्र उपलब्ध छ । प्राधिकरणको दुहवी ग्रिडका प्रमुख रोशन खड्काका अनुसार पीक आवरमा औद्योगिक क्षेत्रमा ८०-९० मेगावाट विद्युत कटौती गरिएको हो । उनका अनुसार औद्योगिक क्षेत्रमा यसबेला १४० देखि १५० मेगावट विद्युतको माग छ ।
भारतको केन्द्रीय विद्युत प्राधिकरणले नेपाल विद्युत प्राधिकरणलाई आउँदो चैत २ गतेसम्म ढल्केबर–मुजफपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत ६ सय मेगावाट र टनकपुर-महेन्द्रनगर १३२ केभी प्रसारण लाइनवाट ५४ मेगावाट गरी दैनिक ६५४ मेगावट विद्युत आयात अनुमति दिएको छ । तर पीक समय साँझ ५ बजेदेखि राति ९ बजेसम्म विद्युत आयात गर्न नपाउने व्यवस्था छ । त्यसैगरी आगामी चैत ३ गतेदेखि असार १६ सम्म विहान ६ बजेदेखि साँझ ६ बजेसम्म मात्र विद्युत आयात गर्न पाउने अनुमति दिएको छ ।
प्राधिकरणले हिउँदयाम सुरु भएसँगै खोला नदीमा पानीको सतह घट्दा देश भित्रका नदीको प्रवाहमा आधारित जलविद्युत आयोजनाहरुको उत्पादन क्षमता भन्दा एक तिहाई घट्छ । पीक समयमा आन्तरिक माग धान्न भारतबाट आयात गर्न नपाउँदा औद्योगिक क्षेत्रको विद्युत कटौती गर्नुपर्ने स्थिति आएको हो ।
प्रतिक्रिया