काठमाडौं । नेपालमा कमोडिटीज एक्सचेन्जको रुपमा काम गरिरहेको मर्कन्टायल एक्सचेन्ज नेपाल(मेक्स)ले लगानी गर्नको लागि सार्वजनिक आह्वान गर्यो ।
कमोडिटीज बजारको काम गर्दै आएको मेक्स सबैभन्दा छिटो संचालनको लागि धितोपत्र बोर्डमा आवेदन दिने बुझाई यसको जानकारको थियो ।
तर,मेक्सले लगानी गर्नको लागि गरेको आह्वानले यो सँग सरोकार राख्ने सबै चकित परे ।
धितोपत्र बोर्डमा बेलायतको कम्पनी जिमेक्सले संचालनको अनुमति माग गर्दै निवेदन दिएको छ ।
बेलायती जिमेक्सको ५१ प्रतिशत र गैर आवासीय नेपाली(एनआरएनन)को ४९ प्रतिशत लगानी रहेको कम्पनीमा अहिलेका एनआरएनएका अध्यक्ष भवन भट्ट तथा महासचिव डा बद्री केसी लगायतको लगानी छ ।
जिमेक्स युरोपमा कमोडिटीज क्षेत्रमा नाम चलेको कम्पनी हो ।
नेपालमा अहिले रहेका कमोडिटीज तथा डेरिभवेटिव एक्सचेन्जहरु कानून अनुसार अवैधानिक भइसकेका छन् ।
वस्तु बजार विनिमय सम्बन्धी ऐनले धितोपत्र बोर्डलाई कमोडिटिज तथा डेरिभेटिव एक्सचेन्जको कारोबारको अनुमति धितोपत्र बोर्डले दिएपछि मात्र गर्नुपर्ने व्यवस्था गरेको छ ।
चार वर्ष अगाडिसम्म करिब १० वटा कमोडिटीज एक्सचेन्ज भएपनि यसमा भएको अनियमिता तथा ठगीको विषय बाहिर आएपछि कम्पनीहरु चलेनन् ।
आर्थिक सर्वेक्षणमा ३ वटा मात्र कमोडिटीज एक्सचेन्ज संचालनमा रहेको देखाएको थियो । यद्यपी कारोबार नभएपनि अरु कम्पनीपनि संचालनमा थिए ।
कमोडिटीज तथा डेरिभेटिव बजारको नियामनको जिम्मा धितोपत्र बोर्डले पाएको छ । सरकारले कमोडिटीज एक्सचेन्जलाई अनुमति दिने अधिकारपनि बोर्डलाई नै दिएको छ ।
विगतमा कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्ता भएर चलेका कमोडिटीज एक्सचेन्ज भने ऐन कार्यान्वयन भएसँगै अवैधानिक भइसकेका छन् । धितोपत्र बोर्डले ऐन कार्यान्वयन भएको दिनदेखि कुनैपनि एक्सचेन्जले कारोबार गराएको भए त्यसलाई कारवाही गरिने सूचना सार्वजनिक गरिसकेको छ ।
विगतमा कमोडिटीजको कारोबार गराएका एक्सचेन्लाई धितोपत्र बोर्डबाट अनुमति लिनको लागि भएको समस्या भने चुक्ता पुँजी हो । ऐनमा कमोडिटीज एक्सचेन्ज संचालन गर्नको लागि न्यूनतम ५० करोड चुक्ता पुँजी तोकिएको छ ।
ऐनले ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याएपछि मात्र एक्सचेन्जले कारोबारको लागि अनुमति लिने प्रक्रिया सुरु गर्न सक्छ । ऐनले पहिले संचालन भएका कम्पनीको बारेमा केहीपनि उल्लेख गरेको छैन ।
विगतमा संचालनमा भएका सबै कमोडिटीज एक्सचेन्जको चुक्ता पुँजी जोड्दापनि १० करोड रुपैयाँ पुगेको थिएन । संचालनमा रहेको एउटा कमोडिटीज एक्सचेन्जका लगानीकर्ता पुँजी जुटाउनको लागि लगानीकर्ता खोज्ने काम चलिरहेको बताउँछन् ।
‘५० करोड चुक्ता पुँजीको कारण दर्ताको प्रक्रिया सुरु गर्न ढिलो भएको हो’,उनले भने,‘सम्पत्ती शुद्धिकरणको व्यवस्था कार्यान्वयन गर्नुपर्ने भएको हुँदा स्रोत जुटाउन कठिन भएको हो।’
पहिले संचालन गरेका कमोडिटीज एक्सचेन्जका लगानीकर्ताहरु ५० करोडको स्रोत जुटाउन कठिनाई भएको बताउँछन् । ‘ऐनले पहिले संचालनमा भएका कम्पनीलाई सम्बोधन गर्ने काम गरेन’,एक कमोडिटीज एक्सचेन्जका संचालकले भने,‘हामीलाई स्रोत जुटाउन कठिन भएको छ ।’
बोर्डले विधेयकमा रहेर बनाएको नियमावलीमा एउटै व्यक्तिलाई कमोडिटीज एक्सचेन्जमा ५ प्रतिशतभन्दा बढी लगानी गर्न रोक लगाएको छ । विदेशी लगानीकर्ताले संस्थागत रुपमा ५१ प्रतिशतसम्म लगानी गर्न सक्ने व्यवस्था रहेको छ ।
कम्पनीमा लगानी गर्न चाहने लगानीकर्ताले कमाएको स्रोतको बारेमा उल्लेख गर्नुपर्ने हुन्छ ।
कानुन अनुसार कमोडिटीज एक्सचेन्ज संचालनको लागि धितोपत्र बोर्डले अनुमति दिएपछि मात्र गर्न पाइन्छ । अनुमति दिने अधिकार बोर्डलाई मात्र हुन्छ । अहिले कुनैपनि कम्पनीले धितोपत्र बोर्डबाट अनुमति नपाएको हुँदा नेपालमा कमोडिटी एक्सचेन्जको कारोबार गर्ने कम्पनी रहेका छैनन् ।
SHARE YOUR THOUGHTS