काठमाडौं । सेयर बजारमा पछिल्लो साता एउटा हल्ला चलेको छ । त्यो हल्ला ठूला मारवाडी समुदायका व्यक्तिले सेयर बिक्री गरेर बाहिरिए भन्ने हो ।
यो हल्ला चल्दै गर्दा अर्थमन्त्री डा. युवराज खतिवडाले बीबीसी नेपाली सेवाको अन्तर्वार्तामा तरलता समस्या समाधान गर्न विदेशबाट पुँजी ल्याउनुपर्ने र सो रकम घरजग्गा, सेयर बजार तथा हायर पर्चेजको क्षेत्रमा लगानी गर्न नहुँने अभिव्यक्ति दिदै थिए ।
जसलाई आधार बनाएर सेयर बजार आइतबार र सोमबार घट्यो । मंगलबार भने बढ्ने र घट्ने गर्दै अन्तिममा परिसूचक ८.७ अंकले बढ्यो । दुई दिन लगातार घटेपछि तेस्रो दिन केही न केही रुपमा बजार बढ्ने सम्भावना प्राविधिक रुपमा पनि बलियो हुन्छ ।
सेयर बजारमा बोनस र हकप्रदको आपूर्ति बढेको हुँदा बिक्रीको चाप छ । जसमा बैंक तथा वित्तीय संस्थाको उच्च ब्याजदरले बजार बढाउनको लागि कुनै सहयोग गरेको छैन । यस्तै परिवेशमा आएका अर्थमन्त्रीको भनाइले बजार थप घट्ने नै भयो ।
सेयर बजारमा पछिल्लो एक महिनामा ठूला लगानीकर्ताले सेयर खरिद गरेका छैनन् । सामुहिक लगानी कोषले पनि सेयर खरिद गरेका छैनन् । अहिले घट्दो बजारमा सेयर गर्ने मध्यमखालका लगानीकर्ता छन् । जसले घटेको बजारमा सेयर उठाइरहेका छन् ।
सेयर विश्लेषक तथा ब्रोक्ररहरु अहिलेको अवस्था लगानी गर्ने समय भएपनि अहिले गरिएको लगानी कम्तिमा २ वर्ष थेग्न सक्ने गरेर आउँदा घाटा नहुँने बताउँछन् ।
पछिल्लो एक महिनामा राम्रो रकम नै सेयर बिक्री गरेका एक मारवाडी समुदायका लगानीकर्ता सेयर बिक्री गर्नुमा मुख्य कारण बैंकको ब्याजदर भएको बताउँछन् ।
भारत सरकारले गतवर्ष लगाएको नोटबन्दीपछि मारवाडी समुदायबाट ठूलो रकम सेयर बजारमा लगानी भएको छैन । नेपालको सेयर बजारमा परम्परागतदेखि लगानीको एउटा प्रमुख हिस्सा मारवाडी समुदायको छ ।
‘बैंकको ब्याजदर १५/१६ प्रतिशतसम्म पुगेको छ, यस्तो अवस्थामा बाम गठबन्धनको सरकारसँग पनि केही आंशका रहेको छ,’ माडवारी समुदायका एक लगानीकर्ताले भने ।
औपचारिक रुपमा स्थिर सरकार आएपछि लगानीको लागि वातावरण बन्ने बताएपनि अनौपचारिक रुपमा भने लगानीकर्ताहरु बाम गठबन्धनको सरकारसँग विश्वस्त हुन सकेका छैनन् ।
पछिल्लो महिना मारवाडी समुदाय तथा ठूला लगानीकर्ता र सामुहिक लगानीकोषले सेयर खरिद नगरेको एक सेयर ब्रोक्ररले बताए ।
‘मारवाडी समुदायका व्यक्तिले अहिलेको प्राथमिकता सेयर बिक्रीमा राखेका छन, ठूला लगानीकर्ताको अनुमान बजार अझै घट्छ भन्ने हो, त्यस आधारमा उनीहरुले बिक्रीमा बढी जोड दिएका छन्,’ नाम खुलाउन नचाहने ती ब्रोकरले भने ।
पछिल्लो समय ठूला लगानीकर्ताको रुपमा व्यक्तिगत रुपमा सामुहिक लगानी कोषजस्तो चलाउने केही कम्पनी पनि ठूला लगानीकर्ताको रुपमा चिनिन थालेका छन् । पछिल्लो समय ठूला लगानीकर्ताको रुपमा उदाउदै आएको एउटा कम्पनीका उच्च अधिकारी पछिल्लो एक महिनामा आफूले सेयर खरिदभन्दा बिक्रीलाई नै जोड दिएको बताउँछन् ।
‘बजारमा सेयर बिक्री गर्नु अहिले हाम्रो बाध्यता हो, बढ्दो ब्याजदरको कारण बजारमा टिक्न मुस्किल छ, जसले गर्दा सेयर बेच्नु परेको छ,’ उनी भन्छन् ।
सेयर लगानीकर्ताको ठूलो समुह चुनावपछि सेयर बजार बढ्ने अनुमानमा थियो । तर, निर्वाचनपछि सेयर बजार ओरालो लाग्यो । जसमा बाम गठबन्धनको विजय भनेर हल्ला चलाइए पनि मुख्य आधार सेयरको बढ्दो आपूर्ति र बढ्दो ब्याजदर प्रमुख कारण थियो ।
सूचिकृत कम्पनीबाट बोनस लिइसकेको समुह स्वभाविक रुपले सेयर बिक्री गर्न चाहन्थ्यो । जसमा सामुहिक लगानी कोषहरु पनि थिए । यसमा केही कोषको अवधी सकिन लागेको हुँदा त्यस्ता कोषले स्वभाविक रुपले सेयर बिक्री गर्नुपर्ने थियो ।
अहिले सेयर बजारमा लगानी गर्न आएको मध्यमखालका लगानीकर्ता र साना लगानीकर्ताको समुह छ । जसमा मध्यमखालका लगानीकर्ता २ वर्षसम्मको लागि अहिले उठाएको सेयर घटेपनि धान्न सक्नेगरी आएका छन् । साना लगानीकर्ता धेरैको मनोविज्ञान सधै सेयर बजार बढ्नुपर्ने भन्ने खालको मात्रै देखिएको छ ।
सेयर विश्लेषक तथा ब्रोक्ररहरु अहिलेको अवस्था लगानी गर्ने समय भएपनि अहिले गरिएको लगानी कम्तिमा २ वर्ष थेग्न सक्ने गरेर आउँदा घाटा नहुँने बताउँछन् ।
SHARE YOUR THOUGHTS