डलरको भाउ आकासिएपछि विदेशबाट ऋण ल्याउन डराए बैंक « Eglish Khabarhub

डलरको भाउ आकासिएपछि विदेशबाट ऋण ल्याउन डराए बैंक



काठमाडौं । बैंकिङ क्षेत्रले दुई वर्षयता लगातारजसो लगानी योग्य पुँजी (तरलता) अभावको समस्या झेल्दै आयो । कर्जाको मागको अनुपातमा निक्षेप नबढेपछि बैंकहरुसँग लगानी गर्नसक्ने क्षमता नै भएन । जसकारण ऋण माग्दै बैंक पुग्नेहरुलाई बैंकका कर्मचारीले पैसा छैन भन्दै फर्काए ।

यसरी बैंकले ऋण दिन नसक्दा आर्थिक गतिविधिहरु ठप्पजस्तै हुँदा रोजगारी सिर्जना र आर्थिक वृद्धिदरमा समेत असर गर्यो । बजारमा तरलता उपलब्ध गराउन राष्ट्र बैंकले विभिन्न मौद्रिक औजारको प्रयोग गर्यो । तर, त्यसले पनि काम गरेन ।

बैंकिङ क्षेत्र तरलाता अभावको समस्याले फिटफिट परिरहेको थियो ।

पूर्वगभर्नरसमेत रहेका डा. युवराज खतिवडा फागुन १४ गते अर्थमन्त्रीमा नियुक्त भए । नियुक्तिलगत्तै पदबहाली गर्न अर्थ मन्त्रालय पुगेका खतिवडाले विदेशबाट पुँजी ल्याएर भएपनि नेपालको बैंकिङ क्षेत्रमा देखिएको समस्या समाधान गर्ने घोषणा गरे ।

‘डलरको मूल्यउ बढेपछि विदेशबाट ऋण ल्याउन बैंकहरु डराइरहेका छन्,’ सीइओ बज्राचार्यले भने, ‘जोखिम मोलेर ल्याउने कुरा पनि त भएन नि ।’

नयाँ अर्थमन्त्रीको यस्तो घोषणा गरेपछि राष्ट्र बैंकले तत्काल गृहकार्य थाल्यो । र, निर्देशिका ल्याएर बैंकहरुले विदेशबाट ऋण ल्याउन पाउने व्यवस्था मिलायो ।

तरलता अभावको समस्याले ग्रसित भएका बैंकहरुलाई ठूलो भरोसा मिलेको आभाष भयो । करिब दर्जन बैंकले विदेशबाट पैसा ल्याउने प्रक्रिया शुरु गरिहाले पनि । अधिकांस अन्तराष्ट्रिय वित्त निगम (आइएफसी)सँग ऋण माग्दै पुगे ।

लामो समयदेखि नेपालमा कारोबार गर्दै आएको आइएफसी सकरात्मक पनि थियो । र, छ पनि ।

तर, पछिल्लोसमय डलराको भाउ आकासिएपछि विदेशबाट डलरमा ऋण ल्याउन हच्किएका छन् । डरलको मूल्यमा हुने घटबढको जोखिम लिन बैंकहरु डराएका हुन् ।

बैंकर्स संघले राष्ट्र बैंक र अर्थ मन्त्रालयलाई पत्राचार गरेर डलरको मूल्यमा हुने घटबढको जोखिममा सरकारले सहयोग गर्नुपर्ने माग गरिसकेको छ । सरकारको सहयोग भयो भने मात्रै बैंकहरुल विदेशबाट डलरमा ऋण ल्याउन सक्षम हुने बैंकर्स संघको निष्कर्श छ ।

त्यसो त नेपाली बजारमा अमेरिकी डलरको मूल्य ११० रुपैयाँ नजिक पुगिसकेको छ । बुधबार राष्ट्र बैंकले प्रतिडलर १ सय ८ रुपैयाँ ६२ पैसामा किनेर १ सय ९ रुपैयाँ २२ पैसामा बिक्री गरेको छ । केही हप्ता अघिसम्म डलरको मूल्य १ सय ४/५ रुपैयाँ मात्रै थियो ।

डलरको मूल्य बढ्दा विदेशबाट डलरमा ल्याउने ऋणको लागत महंगो हुने र मूल्य घटबढ हुँदा थप जोखिम हुने भएकाले राष्ट्र बैंकले विदेशबाट ऋण ल्याउन खुल्ला गरेपनि बैंकहरु डराइरहेको सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बताए ।

‘डलरको मूल्यउ बढेपछि विदेशबाट ऋण ल्याउन बैंकहरु डराइरहेका छन्,’ सीइओ बज्राचार्यले क्लिकमाण्डूसँग भने, ‘जोखिम मोलेर ल्याउने कुरा पनि त भएन नि ।’

राष्ट्र बैंकले बेलायती बैंकहरुबीच हुने अन्तरबैंक कारोबारको दरमा ३ प्रतिशत थपेर डलरमा ऋण लिनसक्ने व्यवस्था गरेको थियो । अहिले बेलायती बैंकहरुबीचको अन्तर बैंक ब्याजदर २ प्रतिशत छ । जसअनुुसार नेपाली बैंकहरुले ५ प्रतिशत ब्याजमा विदेशी बैंक वा संस्थाबाट डलरमा ऋण लिन सक्छन् ।

नेपालमा निक्षेप लिँदा ११ प्रतिशतसम्म ब्याज तिर्दै आएका बैंकहरुका लागि ५ प्रतिशत ब्याजमा ऋण पाउनु खुसीकै कुरा थियो ।
तर, डरलको मूल्य बढेकाले यसको जोखिम व्यवस्थापन गर्दा महंगो पर्ने भएपछि विदेशबाट ऋण ल्याउन इच्छुक नभएको बज्राचार्यले बताए ।

‘सस्तो हुँदा पो ल्याउने हो त, महंगो पनि हुने र जोखिम पनि हुने भएपछि बैंकहरु विदेशबाट पैसा ल्याउन इन्ट्रेस्टेड छैनन्,’ उनले भने ।

Publish on: