काठमाडौं । पाउडर दुधका कारण उद्योगहरुले किसानको दुध लिन छाडेका छन् । सस्तोमा पाइने पाउडर दुधबाट नै दुध तथा दुग्दजन्य वस्तुको उत्पादन हुने भएको कारण उद्योगहरुले किसानका दुध किन्न छाडेका किसानको आरोप छ ।
उनीहरुले किसानका दुध मध्ये २५ प्रतिशत दुध फिर्ता गर्ने गरेको केन्द्रीय दुग्ध संघले जानकारी दिएको छ । नेपालमा दैनिक ५० हजार लिटर दुध उत्पादन हुने गर्छन् । जसमध्ये ३० हजार दुध उद्योगहरुले लिने गरे पनि अन्य दुध भने किसानलाई नै फिर्ता गर्ने भएकै कारण किसानहरु मारमा परेको संघका अध्यक्ष नारायणप्रशाद देवकोटाले बताए ।
यूरोपियन मुलुकमा सस्तो मूल्यमा पाइने पाउडर दुध नेपालमा ल्याउने र त्यही पाउडरबाट बटर बनाएर दुधको लागि आवश्यक चिल्लो पदार्थ बनाइने गरेको संघको आरोप छ ।
‘नेपालमा दैनिक ५ लाख लिटरदेखि ६ लाख लिटर दुधको माग हुने गरेकोमा अहिले दैनिक ५० हजार लिटर उत्पादन हुने गरेको छ, तर, किसानले उत्पादन गरेको यति थोरै परिमाणको दुध पनि विक्री नभएर हामी किसान मारमा परेका छौं,’ देवकोटाले भने ।
उनले अब नेपालमै पाउडर दुध उत्पादन गर्ने उद्योगहरु सञ्चालनमा ल्याउन आवश्यक रहेको बताए । किसानले उत्पादन गरेको दुध विक्री नभएर उत्पादन बन्द (मिल्क होलिडे) गर्नुपर्ने अबस्था आएको संघको भनाइ छ ।
यसरी उद्योगहरुले मिल्क हलिडे गर्दा इलाम, झापा, सुनसरी, कोहलपुर लगायतका स्थानका किसानहरु मारमा परेको उनले जानकारी दिए ।
साउनदेखि माघ महिनालाई धेरै दुध उत्पादन हुने महिनाको रुपमा लिने गरिन्छ । फागुनदेखि असारलाई दुध कम उत्पादन हुने महिनाको रुपमा लिइन्छ ।
धेरै दुध उत्पादन हुने समय नजिक आउन लाग्दा उद्योगहरुले किसानको दुध लिन नमान्दा किसानले उत्पादन गरेको दुध सडकमा पोख्नु पर्ने अबस्था आउन लागेको अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष भागिरत तिमिल्सेनाले बताए ।
‘दुध उद्योगहरुले अघोषित रुपमा किसानले उत्पादन गरेको दुध लिन बन्द गरेका छन्, किसानले उत्पादन गरेको दुध कि त आफैले प्रयोग गर्नुपर्यो, नभए खेर पाल्नुको विकल्प हामीसँग अब रहेन,’ तिमिल्सेनाले भने ।
यस्तो अबस्थामा अबको विकल्प आन्दोलन नै भएको उनको भनाइ ।
‘अब यसरी धेरै दिन चल्न सकिने अबस्था रहेन, दुध पोखेर, चक्काजाम गरेर, वा अन्य प्रकारका आन्दोलन गरेर भए पनि किसानले उत्पादन गरेको दुध प्रयोग ल्याउन बाध्य पार्ने गरी आन्दोलित हुनुपर्ने वाध्यात्मक अबस्था आयो,’ उनले भने ।
नेपालमा सहकारीमार्फत दैनिक करिब ८ लाख लिटर दुध संकलन हुने गर्छ । अन्य निजी क्षेत्रसमेत गरेर १९ लाख लिटरको हाराहारीमा दुध उत्पादन हुने गरेको छ ।
सहकारी संस्थाहरुले अहिले किसानले उत्पादन गरिरहेको दुधको २५ प्रतिशत फिर्ता गरिरहेको र बढी दुध उत्पादन हुने मौसममा उत्पादनको ५० प्रतिशतसम्म फिर्ता गर्नुपर्ने बाध्यात्मक अबस्था आउन सक्ने कन्याम चिस्यान केन्द्र इलामका अक्ष्यक्ष निरकुमार प्रधानले बताए ।
यही समस्याका कारण बिस्तरै किसानहरले दुग्ध पेशाबाट माया मारेर अन्य रोजगारीमा प्रबेस गर्नु पर्ने अबस्था सिर्जना भएको उनको भनाइ छ ।
७० सालदेखि कैलालीको टिकापुरमा ६ वटा जिल्ला कार्य क्षेत्र बनाएर ७ करोड पुँजीमा दुध संकलन उद्योग सञ्चालनमा गर्दै आएका टिका प्रशाद ओझाले किसानलाई दैनिक २७ प्रतिशत दुध कम ल्याउन आग्रह गरेको जानकारी दिए ।
उनले दैनिक ६० हजार लिटर दुध संकलन गरी उद्योगमा बुझाउनु पर्नेमा उद्योगहरुले दुध लिन नमानेपछि यस्तो गरिएको उनको भनाइ छ ।
संघले सरकारसँग किसानले उत्पादन गरेको दुधको बजार सुनिश्चित गर्न, ५० प्रतिशत विद्युत महशुल अनुदानको निरन्तरता दिन, बिदेशबाट आयात हुने दुग्धजन्य पदार्थ र धुलो दुधमा भन्सार दरमा ३५ प्रतिशत बृद्धि गर्न, बिदेशबाट आयात हुने कच्चा पदार्थ तथा झोल दुधलाई पूर्ण रुपमा रोक लगाउन माग गरेको छ ।
SHARE YOUR THOUGHTS