३ वर्षभित्र ३० अर्ब रुपैयाँभन्दा बढीको आइपिओ/ एफपिओ आउने, दोस्रो बजारलाई दवाव « Eglish Khabarhub

३ वर्षभित्र ३० अर्ब रुपैयाँभन्दा बढीको आइपिओ/ एफपिओ आउने, दोस्रो बजारलाई दवाव



काठमाडौं । दोस्रो बजारमा जोखिम लिन नचाहने र आइपिओ कुर्नेहरुको लागि अबको केही वर्ष सुनौलो हुने देखिएको छ । ३ वर्षभित्रमा ३० अर्ब रुपैयाँभन्दा बढीको आइपिओ र एफपिओ आउने देखिन्छ ।

मुख्य रुपमा तामोकोसी लगायतका जलविद्युत् आयोजना,बीमा कम्पनी,पूर्वाधार विकास बैंक तथा एफपिओ जारी गर्न लागेका बैंकहरु तथा पूर्वाधार विकास बैंक हिसाब हेर्दा ३ वर्षभित्रमा ३० अर्ब बराबरको सार्वजनिक निकाष्सन हुने देखिन्छ ।

त्यसमा १ अर्बभन्दा बढीको कम्पनीले जारी गर्नुपर्ने अनिवार्य सार्वजनिक सेयर र टेलिकम कम्पनीले जारी गर्नुपर्ने सेयरको रकम जोड्दा यो रकम अझै बढी हुन्छ ।

हालै मात्र माथिल्लो तामाकोसीको साधारण सेयर(आइपिओ) निष्कासनको लागि धितोपत्र बोर्डले हालै अनुमति दियो ।

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले १ अर्ब ५ करोड रुपैयाँ स्थानीयलाई र १ अर्ब ५८ करोड रुपैयाँको सेयर सर्वसाधरणलाई बिक्री गर्दै छ ।

तामाकोसीले यसअघि नै ऋण दिने संस्था र तीनका संचयकर्तालाई सेयर जारी गरिसकेको छ ।

अबको तीनवर्षभित्रमा ३० अर्ब जतिको सार्वजनिक निष्कासन हुने देखिन्छ । जसको प्रभाव भने दोस्रो बजारमा पर्छ ।

धितोपत्र बोर्डमा चालु आर्थिक वर्षमा अहिलेसम्म सार्वजनिक निष्कासनको लागि अनुमति भएको ७ अर्ब रुपैयाँको सेयर निष्कासन हुँन बाँकी छ ।

एनएमबि बैंकले प्रतिकित्ता ३३३ रुपैयाँको दरले ३ अर्ब ८० करोड रुपैयाँको एफपिओ बिक्री गर्दै छ ।

राष्ट्र बैंकको पुँजी बृद्धि नीतिको कारण मागको तुलनामा सेयर बजारमा अहिले आपूर्ति बढी छ । बीमा समितिले पनि बीमा कम्पनीको पुँजीबृद्धिको नीति लिएको हुँदा अझै बढेको चुक्ता पुँजी अनुसार बोनस र हकप्रद सेयर सूचिकृत हुन बाँकी रहेको छ ।

धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी अब सेयर बजारको दायरा फराकिलो बनाउनुपर्ने तर्फ लाग्नुपर्ने बताउँछन् ।

‘अब धेरै कम्पनीहरु आइपिओ निष्कासन गरेर दोस्रो बजारमा प्रवेश गर्दैछन्,’उनले भने,‘यसको लागि दोस्रो बजारमा लगानी गर्नहरुको दायरा संख्या फराकिलो बनाउदै लग्नपर्छ।’

यसैको लागि गैर आवासीय नेपालीलाई सेयर बजारमा प्रवेश गराउने तयारी भएपनि प्राविधिक कारणले अगाडि बढ्न नसकेको उनले बताए ।

धितोपत्र बोर्डमा आइपिओको लागि पाइप लाइनमा भएका कम्पनीले २ अर्ब ३१ करोड रुपैयाँको सेयर जारी गर्ने तयारी गरेका छन् । जसमा नेपाल बैंकले ल्याउन लागेको एफपिओ र सिटिजन्स बैंकले ल्याउन लागेको एफपिओ जोड्दो यो निकै नै बढी हुन्छ ।

बीमा समितिले ९ वटा जीवन बीमा कम्पनी र ३ वटा निर्जीवन बीमा कम्पनीलाई लाइसेन्स दिएको छ । जसमा न्यूनतम ३० प्रतिशतको दरले ती कम्पनीले सर्वसाधरणका लागि सेयर निष्कासन गर्नुपर्ने नै हुन्छ ।

यसरी ९ वटा बीमा कम्पनीले ५ अर्ब ४० करोड रुपैयाँको सेयर निष्कासन गर्नुपर्ने हुन्छ । ३ वटा निर्जीवन बीमा कम्पनीले न्यूनतमपनि ९० करोडको सेयर निष्कासन गर्दा बीमा कम्पनीले ६ अर्ब ३० अर्ब करोड रुपैयाँको सेयर निष्कासन गर्छन् ।

बन्न लागेका जलविद्युत् आयोजनाबाट ६ अर्ब रुपैयाँभन्दा बढीको सार्वजनिक सेयर निष्कासन हुन्छ ।

यस्तै नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंक खोल्नका लागि लाइसेन्स दिएको छ । न्यूनतम २० अर्ब चुक्ता पुँजी भनिएको पूर्वाधार विकास बैंकले ४० प्रतिशत सार्वजनिक निष्कासन गर्ने जनाएको छ । यसो गर्दा पूर्वाधार विकास बैंकले ८ अर्ब रुपैयाँको सार्वजनिक निष्कासन गर्ने छ ।

विगत देखि नै केही उत्पादन मुलक कम्पनीहरु सार्वजनिक सेयर निष्कासन गर्ने तयारी अनुसार प्राइभेट लिमिटेडबाट लिमिटेड कम्पनीमा परिवर्तन भएका छन् । यी कम्पनीले पनि आइपिओको लागि तयारी गरिराखेका छन् ।

सरकारले हालै ल्याएको बजेटमा १ अर्ब चुक्ता पुँजी भएको कम्पनीलाई अनिवार्य आइपिओ जारी गनुपर्ने व्यवस्था गरेको छ । जस अनुसार ती कम्पनीको सेयरपनि सेयर बजारमा थपिन्छ ।

कम्पनी ऐन संसोधन हुँदा टेलिकम कम्पनीलाई पनि साधरण सेयर निकाष्सन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

सार्वजनिक सेयरको बहार नै बजारमा आउन लागेको छ । सूचिकृत कम्पनीले जारी गर्ने हकप्रद सेयरपनि ठूलो नै रकमको बाँकी छ । जसमा बोर्डमा नै विभिन्न कम्पनीको ७ अर्ब रुपैयाँको हकप्रद सेयर पाइप लाइनमा छ ।

सिदार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिना दोस्रो बजारमा सेयरको आपूर्ति अझै बढ्ने बताउँछन् ।

‘चुक्ता पुँजीको कारण्अ आपूर्ति बढेको दोस्रो बजारमा अझै आपूर्ति बढ्ने छ,यसलाई थेग्ने गरेर बजारको नीतिमा सुधार हुनुपर्ने जरुरी छ।’

थपिएको बजारलाई सामुहिक लगानी कोषले मात्रै थेग्न नसक्ने भन्दै यसका लागि मार्केट डिलर लगायत अन्य व्यवस्था गर्नुपर्ने सुझाव तिमिल्सिनाको छ ।

Publish on: