विद्युतीय सवारी साधनको चार्जिङ स्टेशन खोल्ने आयल निगमको तयारी « Eglish Khabarhub

विद्युतीय सवारी साधनको चार्जिङ स्टेशन खोल्ने आयल निगमको तयारी



काठमाडौं । नेपाल आयल निगमले विभिन्न ठाउँमा विद्युतीय सवारी साधन चार्ज गर्ने ठाउँ खोल्ने तयारी गरेको छ । सरकारले विद्युतीय सवारी साधनलाई प्राथमिकतामा राखेपछि निगमले चार्जिङ स्टेशन खोल्ने तयारी थालेको हो ।

पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधनका लागि निगमले अहिले देशभर पेट्रोल पम्प सञ्चालन गरिरहेको छ । पेट्रोल पम्प जस्तै विद्युतीय सवारी साधन चार्ज गर्नका लागि चार्जिङ स्टेसन खोल्न निगमले चासो देखाएको हो ।

आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेशन आवश्यक देखिएको छ ।

‘विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन बनाउनका लागि तयारी थालेका छौं,’ गोइतले क्लिकमाण्डूसँग भने ।

विश्वमै विद्युतीय सवारीको प्रयोग बढ्दै गएको र नेपालमा पनि यसको प्रयोग बढ्न थालेकाले चार्जिङ स्टेशन आवश्यकता महशुस गरिएको हो ।

‘इलेक्ट्रोनिक भेकल चार्जिङ स्टेशन बन्दा हाइवेहरुमा पेट्रोल पम्प भए जस्तै गरी बनाइन्छ, अहिले जहाँ–जहाँ फ्यूल स्टेशन छन्, त्यहीँ इलेक्ट्रोनिक भेइकल चार्जिङ स्टेशन पनि बनाइन्छ,’ गोइतले भने ।

उनले इलेक्ट्रोनिक भेकल चार्जिङ स्टेशन बनेपछि पेट्रोलियम पदार्थ धेरै खर्च नहुने र वातावरण प्रदुषण नियन्त्रण गर्न पनि सजिलो हुने बताए ।

भारतले सन् २०३० मा लाइट इलेक्ट्रोनिक भेकल ल्याउने कुरा गरेको र त्यसै अनुसार नेपालमा पनि इलेक्ट्रोनिक भेकल चार्जिङ स्टेशनको आवश्यकक्ता देखिएको उनले बताए ।

‘भारतले १२ वर्षपछि इलेक्ट्रोनिक लाइट भेइकल ल्याउने कुरा गरिरहेको छ, लाइट भेकल आएपछि ठूला इलेक्ट्रोनिक भेइकलहरु आउने नै भए, अब नेपालले यस्तो नीति कहिले ल्याउँछ टुंगो छैन,’ उनले भने, ‘यद्यपि नेपालले पनि इलेक्ट्रोनिक भेइकलको प्रयोगलाई प्राथमिकतामा राख्न थालेकाले हामीले अहिलेदेखि नै यसबारे सोच्नु परेको हो ।’

के भन्छन् व्यवसायी ?

कियाको इलेक्ट्रोनिक गाडी ल्याएको कम्पनी दिगोका बिजनेश डेभ्लपर अफिसर मुकुन्द बिक्रम शाहीका अनुसार इलेक्ट्रोनिक भेइकल चार्जिङ स्टेन खोल्नका लागि कुन ठाउँमा कस्तो खालको भेइकल चार्जिङ स्टेशन खोल्ने हो त्यसमा भर पर्छ ।

इलेक्ट्रोनिक भेइकल अनुसार छुट्टा-छुट्टै चार्जिङ स्टेशन चाहिने शाही बताउँछन् । इलेक्ट्रोनिक भेइकलको ब्राण्ड अनुसार त्यसको ब्याट्रीको गुणस्तर फरक पर्ने हुँदा प्रत्यक ब्राण्ड अनुसार नै फरक भेइकल चार्जिङ स्टेशनको आवश्यक पर्ने उनको भनाइ थियो ।

इलेक्ट्रोनिक भेइकल चार्जिङ स्टेशन खोल्न सुरुमा स्टेशन ठाउँ तय हुनुपर्छ, त्यसपछि स्टेशन कस्तो खोल्ने हो, कतिको छिटो चार्ज गर्ने स्टेशन राख्ने, त्यस अनुसार भेइकल चार्जिङ स्टेशन खोल्ने कुराको मूल्य निर्धारण गर्न सकिने उनले जानकारी दिए ।

‘स्टेशन खोल्ने भनेर मात्र हुन्न, इलेक्ट्रोनिक स्टेशन खोल्नु भनेको बिद्युत बेच्ने कुरा हो, त्यसको लागि विद्युत प्राधिकरणसँग कुरा गर्नुपर्छ,’ शाहीले भने ।

उनका अनुसार स्टेशन खोल्दा अल्टरनेट करेन्ट (एसी) र डाइरेक्ट करेन्ट (डिसी) २ प्रकारको चार्जिङ स्टेशन हुने गर्छ, जसमा एसी अलि सस्तो हुने र ढिलो चार्ज हुने खालको हुन्छ भने डिसी अलि महंगो पर्ने र छिटो चार्ज गर्ने हुन्छ ।

के भन्छ विद्युत प्राधिकरण ?

विद्युत प्राधिकरणका कार्याकारी निर्देशक कुलमान घिसिङका अनुसार हालसम्म इलेक्ट्रोनिक भेइकलका लागि चार्जिङ स्टेशन खोल्ने भनेर कुनै पनि कम्पनीले प्रस्ताब गरेका छैनन् ।

उनले विद्युतीय गाडी चार्जको लागि स्टेशन खोल्न चाहनेले विद्युत किन्ने प्रस्ताव गरेपछि मात्र विद्युत बेच्ने र त्यसको मूल्य तोकिने बताए ।

‘हामीले विद्युत बेच्ने मात्र हो, हाम्रो तर्फबाट विद्युतीय गाडी चार्जिङ स्टेशन खोल्ने कुनै कुरा भएको छैन, नत आयल निगमले नै त्यस्तो प्रस्ताव ल्याएको छ, अहिलेसम्म कुनै कम्पनीले औपचारिकरुपमा यस्तो प्रस्ताब ल्याएका छैनन्,’ घिसिङले प्रष्ट पारे ।

विद्युत प्राधिकरण आफँैले पनि बिवाइडीको ३ वटा विद्युतीय गाडी ल्याएको छ । हाल नेपालमा विद्युत प्रधिकरण अगाडी एउटा मात्र विद्युतिय गाडी चार्जिङ मेसिन रहेको छ ।

नेपालमा १३ वटा ब्राण्डका इलेक्ट्रोनिक स्कुटर छन् भने ३ वटा मात्र कम्पनीले इलेक्ट्रोनिक गाडी बजारमा ल्याएका छन् । नेपालमा किया, बिवाइडी र महेन्द्रलेको इलेक्ट्रोनिक गाडीहरु रहेका छन् ।

यस्तै टेरा सिड ६० अल्फा, टेरा एक्यूटो, एनआईयू एन १ एस, भिमीटा इम्याक्स भी १०० एस, भिमोटो इम्याक्स भी १०० एस, भिमोटो एलियन, हिरो इलेक्ट्रोनिक फुटोन, हिरो इलेक्ट्रोनिक ई स्प्रीनट, एसएमएस स्कुटर, ओरभा जे ५००, बीएमसी ईएम ३१५, ई फन कार्गो र योबाके यो स्पीड नामक इलेक्ट्रोनिक स्कुटीहरु हाल नेपाल भर प्रयोगमा रहेका छन् ।

ओपन चार्ज म्यापका अनुसार विश्वका १ लाख २८ हजार ५ सय ४९ स्थानमा इलेकट्रोनिक भेकल चार्जिङ स्टेशन रहेको छ ।
अमेरिका, चीन, जर्मन, लन्डन, अष्ट्रेलिया लगायतका विकशित मुलुकहरुमा विद्युतीय गाडी चार्जिङ स्टेशन धेरै मात्रामा भएको पाइन्छ ।

Publish on: