बढी भ्याट संकलन गर्ने ‘टप टेन’मा पर्यो खर्बपति चौधरीको एउटा कम्पनी « Eglish Khabarhub

बढी भ्याट संकलन गर्ने ‘टप टेन’मा पर्यो खर्बपति चौधरीको एउटा कम्पनी




काठमाडौं । केही बर्षयता खर्बपति बिनोद चौधरीको कुनै पनि कम्पनी बढी कर तिर्ने उत्कृष्ट १० (टपटेन) कम्पनीमा परेन भन्दै प्रश्न उठ्ने गरेको थियो ।

यद्यपि चौधरी ग्रुप अन्तरगतका कम्पनी र ब्यक्तिहरुको लगानी रहेको नविल बैंक भने केही बर्षयता लगातार रुपमा बढी आयकर तिर्ने कम्पनीमा पर्दै आएको थियो ।

गत आर्थिक बर्षमा चौधरी ग्रुप अन्तरगतको एउटा कम्पनी धेरै मूल्य अभिबृद्धि कर (भ्याट) तिर्ने १० कम्पनीभित्र परेको छ ।

ठूला करदाता कार्यालयले दिएको विवरण अनुसार बढी भ्याट संकलन गर्ने कम्पनीहरुमा चौधरी ग्रुप अन्तरगतको सीजी ब्रुअरी १०औं स्थानमा परेको छ ।

उपभोक्ताले तिरेको भ्याट कम्पनीहरुले संकलन गरेर सरकारलाई बुझाउने हुन् । भ्याट भनेको उपभोक्ताले तिरेको कर हो ।

सीजी ब्रुअरीले गत आर्थिक बर्षमा ५४ करोड १२ लाख रुपैयाँ भ्याट संकलन गरेको ठूला करदाता कार्यालयका प्रमुख धनिराम शर्माले जानकारी दिए ।

गत आर्थिक बर्षमा सबैभन्दा बढी भ्याट भने एनसेलले संकलन गरेको छ । एनसेलले ४ अर्ब ६८ करोड रुपैयाँ भ्याट संकलन गरेर सरकारलाई बुझाएको छ ।

यस्तै दोस्रो स्थानमा सूर्य नेपाल प्रालि छ । सूर्य नेपालले ३ अर्ब ४९ करोड रुपैयाँ भ्याट संकलन गरेर सरकारलाई बुझाएको छ ।

यसैगरी टप टेनमा रहेका अन्य कम्पनीहरुमा नेपाल दुरसंचार कम्पनीले ३ अर्ब ३४ करोड, गोर्खा ब्रुअरीले २ अर्ब ५१ करोड, जगदम्बा स्टिलले ८१ करोड ९१ लाख, हंसराज हुलासचन्द एण्ड कम्पनीले ७९ करोड ७४ लाख, विजय डिष्ट्रिलरीले ६४ करोड ८७ लाख, नेपाल नागरिक उड्डयन प्राधिकरणले ५५ करोड ९३ लाख र हिमालयन डिष्ट्रिलरीले ५४ करोड ६० लाख रुपैयाँ भ्याट संकलन गरी सरकारलाई बुझाएका छन् ।

आयकर तिर्ने टपटेन कम्पनीहरु
सबैभन्दा बढी आयकर तिर्ने कम्पनीहरुको पहिलो स्थानमा एनसेल छ । एनसेलले गत आर्थिक बर्षमा १० अर्ब ३ करोड रुपैयाँ आयकर तिरेको छ ।

यस्तै नेपाल दुरसंचार कम्पनीले ६ अर्ब ६२ करोड, सूर्य नेपाल प्रालिले ४ अर्ब ७८ करोड, नबिल बैंकले २ अर्ब ५५ करोड, गोर्खा ब्रुअरीले २ अर्ब ५१ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्ब ४५ करोड, नेपाल आयाल निगमले २ अर्ब २ करोड, एभरेष्ट बैंकले १ अर्ब ८६ करोड, कृषि विकास बैंकले १ अर्ब ७७ करोड र हिमालयन बैंकले १ अर्ब ७० करोड रुपैयाँ आयकर तिरेका छन् ।

आयकर र भ्याट गरी बढी तिर्ने टपटेन कम्पनीहरु
आयकर र भ्याट जोड्दा पनि बढी तिर्ने कम्पनीहरुको पहिलो स्थानमा एनसेल नै परेको छ । एनसेलले गत आर्थिक बर्षमा आयकर र भ्याट गरी १४ अर्ब ७१ करोड रुपैयाँ कर तिरेको छ ।

यस्तै टपटेन कम्पनीहरुमा नेपाल दुरसंचार कम्पनीले ९ अर्ब ९६ करोड, सूर्य नेपाल प्रालिले ८ अर्ब २७ करोड, गोर्खा ब्रुअरीले ५ अर्ब ३ करोड र नविल बैंकले २ अर्ब ६७ करोड रुपैयाँ कर तिरेका छन् ।

अन्य टपटेन कम्पनीहरुमा नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्ब ४५ करोड, नेपाल आयाल निगमले २ अर्ब २९ करोड, एभरेष्ट बैंकले १ अर्ब ८७ करोड, कृषि विकास बैंकले १ अर्ब ७८ करोड र हिमालयन बैंकल १ अर्ब ७० करोड रुपैयाँ कर तिरेका छन् ।

ठूला करदाता कार्यालयले अन्तशुल्क संकलन गर्दैन । कुन कम्पनीले बढी कर तिर्यो भन्ने यकिन जानकारी लिन अन्तशुल्क पनि हेर्नुपर्ने हुन्छ । त्यसकारण आयकर र भ्याटका आधारमा सबैभन्दा बढी कर तिर्ने कम्पनी एनसेल देखिए पनि अन्तशुल्क समेत जोड्दा अर्कै कम्पनीले बढी कर तिरेको हुन पनि सक्छ ।

Publish on: