काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले भारत भ्रमणका क्रममा सरकारले पूरक बजेट ल्याएर सामाजिक सुरक्षा भत्ता लगायतमा भएका जनताका माग सम्बोधन गर्ने बताएका थिए ।
भारत भ्रमणबाट फर्किएर भदौ २४ गते त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा प्रचण्डले भनेका थिए- सामाजिक सुरक्षा भत्तालगायतका विषयमा आम नागरिकको तर्फबाट प्राप्त भएको सुझाव र सल्लाहलाई आत्मसात् गर्दै पूरक बजेट ल्याउने विषयमा सामान्य चर्चा परिचर्चा भएको छ, विशेषगरी वृद्धभत्ताका विषयमा सम्बोधन गर्न सरकारले त्यस्तो व्यवस्था गर्न सक्छ, त्यो सरकारको राजनीतिक र संवैधानिक अधिकार हो ।’
नेकपाभित्रका तत्कालीन माओवादीहरु पूरक बजेटको पक्षमा र तत्कालीन एमालेहरु पूरक बजेटको बिपक्षमा रहेको प्रष्ट बुझ्न सकिन्छ ।
प्रचण्डको यो अभिव्यक्तिले नेकपाभित्र ठूलै हल्लीखल्ली मच्चाएको थियो । नेकपाका अध्यक्ष केपी ओली नेतृत्वको सरकारले ल्याएको बजेट कार्यान्वयन शुरु भएको दुई महिना नवित्दै नेकपाका अर्का अध्यक्ष प्रचण्डले पूरक बजेट ल्याउने तयारी भइरहेको भनेपछि हल्लीखल्ली हुनु अस्वभाविक हुने कुरै भएन ।
भदौ तेस्रो साता भारत भ्रमणमा रहेका प्रचण्ड अहिले चीन भ्रमणमा छन् ।
अर्थमन्त्री युवराख खतिवडाले पनि आज पत्रकार सम्मेलनको आयोजना गरी पूरक बजेट हल्लामात्रै भएको प्रष्ट पारिसकेका छन् ।
नेकपाकै महासचिव विष्णु पौडेल पनि पूरक बजेट ल्याउने बारे कुनै छलफल नभएको बताउँछन् ।
‘पूरक बजेट ल्याउने बारे नेकपाभित्र अहिलेसम्म कुनैपनि छलफल भएको छैन,’ महासचिव पौडेलले क्लिकमाण्डूसँग भने, ‘नेकपाकै अध्यक्षको नेतृत्वमा भएको सरकारले ल्याएको बजेट कार्यान्वयन शुरु भएको २ महिना मात्रै बित्दैछ, अहिलेको समय भनेको यही बजेटको प्रभावकारी कार्यान्वयन हो, पूरक बजेट होइन ।’
उनले कुनैनि हालतमा पूरक बजेट नआउने दाबी गरे । पूरक बजेटको आवश्यकता नरहेको पौडेलले प्रष्ट पारे ।
‘पूरक बजेट ल्याउनुपर्ने आवश्यकता नै छैन,’ उनले भने ।
पूरक बजेटबारे नेकपाको उच्च नेतृतवभित्रै फरक फरक धारणा भएको प्रष्ट भएको छ । यसले नेकपाभित्र पूरक बजेट ल्याउने कि नल्याउने भन्ने विषयमा लफडा शुरु भएको प्रष्ट पार्छ ।
नेकपाभित्रका तत्कालीन माओवादीहरु पूरक बजेटको पक्षमा र तत्कालीन एमालेहरु पूरक बजेटको बिपक्षमा रहेको प्रष्ट बुझ्न सकिन्छ ।
पूरक बजेटबारे नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भने मुख खोलेका छैनन् । तर, अर्थमन्त्री खतिवडाको प्रफर्मेन्स चित्त बुझेन भने प्रधानमन्त्रीले पनि पूरक बजेटको कुरा गरेर मन्त्री परिवर्तन गर्नसक्ने गाइँगुइँ हल्ला पनि नेकपाभित्र चलिरहेकै छ ।
पूरक बजेट ल्याउनु भएको अहिले ल्याएको बजेट असफल भएको निष्कर्श निकाल्नु हो । बजेट असफल हुनु भनेको सरकार असफल हुनु हो ।
त्यसैले आफैंले ल्याएको बजेट आफैंले असफल भयो भनेर नेकपाले भन्ला कि नभन्ला त्यो भने हेर्न बाँकी नै छ । चालू आर्थिक वर्षका लागि अर्थमन्त्री खतिवडाले सवा १३ खर्ब रुपैयाँको बजेट ल्याएका थिए ।
SHARE YOUR THOUGHTS