कावा प्रधानमन्त्री पोखरेल भन्छन्-करसम्बन्धी समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ « Eglish Khabarhub

कावा प्रधानमन्त्री पोखरेल भन्छन्-करसम्बन्धी समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ




काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले सर्वसाधारणलाई मारमा पार्ने कुनैपनि प्रकारका करको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

ललितपुर उद्योग वाणिज्य महासङ्घको ३९ औँ वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै कार्यवाहक प्रधानमन्त्री पोखरलेले कुनैपनि स्थानीय, प्रदेश तथा सङ्घीय तहको सरकारले जनतालाई समस्या उत्पन्न हुने कुनै पनि प्रकारको कर तथा दोहोरो कर नलगाएको स्पष्ट गरे ।

उनले वर्तमान समयमा स्थानीय, प्रदेश तथा सङ्घीय सरकारबीच आवश्यक पर्ने कानून बनिनसकेका कारण पनि यस्ता प्रकारका समस्या उत्पन्न भएको हुनसक्ने उल्लेख गरे ।

पछिल्लो समय करको विषयमा आइरहेको चर्चाका बारेमा सरकार गम्भीर रहेको भन्दै उनले सत्यतथ्यसहित अनावश्यक रुपमा कुनै पनि सरकारले कर लिएको भए सङ्घीय सरकारले त्यसको समाधान गर्नेसमेत प्रतिबद्धता व्यक्त गरे ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेलले देशलाई आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीयलगायतको विकास गर्दै देशमा नै रोजगारीको वातावरण सिर्जना गर्नु अहिलेको आवश्यकता रहेको बताए ।

उनले सरकारले विकासको लहर सिर्जना गरिरहेको तर त्यसमा कतिपयले अवरोध सिर्जना गर्न खोजेको भन्दै राजनीतिमा प्रतिस्पर्धा र विकासमा ऐक्यबद्धता जनाउन सम्पूर्ण राजनीतिक दललाई आग्रहसमेत गरे ।

Publish on: