पूर्व राष्ट्रपति यादवको चिन्ताः चुरे विनाश राष्ट्रिय समस्या « Eglish Khabarhub

पूर्व राष्ट्रपति यादवको चिन्ताः चुरे विनाश राष्ट्रिय समस्या



धनुषा । पूर्व राष्ट्रपति डा रामवरण यादवले चुरे विनाश राष्ट्रिय समस्या भएको हुँदा स्थानीय, प्रदेश र सङ्घीय तीनै सरकारले गम्भीरतापूर्वक लिनुपर्ने धारणा व्यक्त गरेका छन् ।

आज जनकपुरस्थित सिद्धार्थ शिशु सदनमा आयोजित ‘सफा जनकपुर हरित जनकपुर तथा चुरे संरक्षण’ अन्तक्र्रिया कार्यक्रममा सम्बोधन गर्दै नेपालको प्रथम तथा पूर्व राष्ट्रपति यादवले भने, “चुरे विनाश गर्नुमा सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार जवाफदेही रहेको छ ।”

“बाटो निर्माण गरिनु विकास गर्नु हो, तर अर्कोतर्फ तीव्र गतिमा चुरे विनाश हुँदैछ ।” उनले भने ।

चुरे संरक्षणका लागि नदीको दोहन, वनजङ्गल फँडानी, जङ्गल क्षेत्रमा अवैध वस्ती निर्माणजस्ता कार्यलाई रोक्ने, नयाँ वन लगाउने, चुरेको पहाडी भू–भागको संरक्षण गर्नुपर्ने मुख्य कार्य सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार रहेको बताउँदै उहाँले चुरे क्षेत्रमा बसोवास गर्नेलाई चुरे जोगाउन प्रेरित गर्नुपर्ने बताए ।

डा यादवले तीनै तहको सरकारले वन क्षेत्रमा व्यापक वृक्षरोपण अभियान, नदी नियन्त्रण, नदीमा रहेका क्रसर हटाइनु पर्ने लगायतका काम प्राथमिकतामा राखेर गर्नुपर्ने स्थिति रहेको बताए ।

चुरे विनाशकै कारण तराईमा पानीको गम्भीर सङ्कट उत्पन्न भइरहेको र खेतभन्दा नदीको सतहमाथि हुँदै गएकाले बाढी र सुख्खाको मारमा तराई–मधेश परेको डा यादवले उल्लेख गरे ।

कार्यक्रममा ‘सफा जनकपुर हरित जनकपुर’ अभियानलाई सफल बनाउन डा यादवले कपडाको झोलासमेत वितरण गरेका थिए ।

Publish on: