माथिल्लो तामाकोशीः १ कित्ता सेयर किन्दा २० पैसा घाटा, तर पनि किन ओइरिए लगानीकर्ता ? « Eglish Khabarhub

माथिल्लो तामाकोशीः १ कित्ता सेयर किन्दा २० पैसा घाटा, तर पनि किन ओइरिए लगानीकर्ता ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएर दोस्रो बजारमा कारोबार हुन थालेपछि माथिल्लो तामाकोशीको सेयरमा लगानीकर्ताको अत्याधिक आकर्षण देखियो ।

दोस्रो बजारमा कारोबार भएकै दिनदेखि तामाकोशीको सेयर लगाातार बढ्यो । यो कम्पनीको सेयर किन्न लगानीकर्ताहरुले तँछाडमछाड नै गरे । फलस्वरुप प्रतिकित्ता १०० रुपैयाँको सेयर एक हप्तामै ३४३ रुपैयाँ रुपैयाँसम्म पुग्यो ।

तर, आइतबार ५६ रुपैयाँले घटेर २ सय ८७ रुपैयाँमा झर्यो । तामाकोशीको सेयरमा किन लगानीकर्ताहरु यसरी ओइरिएका ? जानकारहरु भन्छन्,– ‘यो कम्पनीको वित्तीय विवरण हेरेर प्रतिफलको हिसाब गर्नेहरु बढेको मूल्यमा बिक्री गरेर बाहिरिन थालेका छन्, कम्पनीको वित्तीय विवरणको अध्ययन र विश्लेषण नै नगरी तामाकोशी ठूलो प्रोजेक्ट हो, यसको सेयर किन्दा मालामाल भइन्छ भन्ठान्ने साना लगानीकर्ताहरु महंगोमै भएपनि सेयर किनिरहेका छन् ।’

माथिल्लो तामाकोशीको वित्तीय विवरण हेर्ने हो भने प्रतिकित्ता १०० रुपैयाँ हालेर किनेका सेयरधनीलाई गत आर्थिक वर्षमा प्रतिकित्ता २ रुपैयाँ घाटा छ । यो तथ्य कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणमा नै उल्लेख छ । यो आर्थिक वर्ष पनि प्रतिकित्ता २० पैसा घाटा हुने कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणमै उल्लेख छ ।

विविध कारणले निर्माण अवधि बढ्दा आयोजनाको सञ्चालन खर्च र कूल लागत दुबै बढेको छ । जसकारण यो आयोजनामा लगानी गर्नेहरुलाई आयोजनाले तत्काल लाभांश दिनसक्ने अवस्था देखिँदैन । यो आयोजनाले २ वर्षपछि मात्रै सेयरधनीलाई लाभांश दिन्छ ।

माथिल्लो तामाकोशीले एक हप्तामै बजार पुँजीकरणमा पनि टप टेनमा उक्लिएको छ भने एकैदिन १२ हजार ४ सय ८९ पटक सेयर किनबेच भएर नेपाली सेयर बजारमा नयाँ रेकर्ड कायम राखेको छ ।

यस्तो छ पृष्ठभूमि

वि.सं. २०६६ मा माथिल्लो तामाकोशी आयोजना शुरु गर्दा धेरैलाई लागेको थियो यो शेयर बजारको ‘ब्लू चिप्स’ बन्न सक्छ । धेरैले आयोजनाका लागि भनेर शेयर हाल्ने पैसा जम्मा पनि गरेका थिए ।

३५ अर्ब लागतमा ४५६ मेगावाटको उक्त आयोजना बन्ने भनिएको थियो । तर, आयोजनाको लागत बढेर ७० अर्ब रुपैयाँ पुग्ने देखिएको छ ।

भूकम्प र भारतको नाकाबन्दीको कारण देखाएर आयोजनाको लागत र समय बढ्दै गयो । निर्धारित मितिमा नै आयोजना सम्पन्न हुन सकेको भए आयोजना २०७२ असारमा नै सकिनु पर्दथ्यो । तर भएन ।

२०७३ असारमा त जसरी भएपनि आयोजना सम्पन्न गर्छौ भनेर नेपाल विद्युत् प्राधिकरणले नयाँ मिति सार्वजनिक गर्यो । तर अहँ त्यो समयमा पनि भएन ।

सरकारले पछिल्लो पटक सो आयोजना सम्पन्न हुने मिति सार्दै सार्दै मंसिर मसान्त पुर्याएको छ । सो समयमा समेत आयोजना सम्पन्न हुने छाँटकाट छैन ।

कारण जे जस्तो देखाइए पनि आयोजनाको लागत बढ्दै गएर ७० अर्ब रुपैयाँ पुग्ने देखिएको छ । आयोजनाको व्याज तथा डलरमा दिनुपर्ने भुक्तानीका कारण लागत बढ्दै गएको हो । सुरुमा ३५ अर्बमा सुरु गरिएको आयोजनाको लागत बढेर दोब्बर भएको हो ।

नेपाली लगानीमा नै निर्माण सुरु भएको आयोजना प्रति धेरै मानिसको आर्कषण पनि थियो । धेरैले आयोजनालाई सकारात्मक रुपमा नै हरेका थिए ।

आजसम्म आइपुग्दा यो आयोजनाको अवस्था अन्य आयोजना भन्दा फरक देखिएको छैन ।

आयोजनालाई ब्लू चिप्स मानेर लगानी गर्ने लगानीकर्ता घाटामा पर्ने आयोजनाले आज सार्वजनिक गरेको विवरणपत्रमा नै उल्लेख छ ।

आयोजनाको सञ्चालक समितिले पारित गरेको तथ्यांकलाई नै हेर्ने हो भने पनि ४९ अर्ब २९ करोड ५५ लाख लागत पुगिसकेको छ ।

आयोजनाबाट १० पुस ०७२ मा ३०९ मेगावाट र ३० असार ०७३मा ४५६ मेगावाट विद्युत उत्पादनको लक्ष्य राखिएको थियो ।

तर, भुकम्प र र भुकम्प आउनुभन्दा अघिका विभिन्न कारले निर्माणमा प्रतिकूल असर परेकाले लक्षित मितिमा व्यापारिक उत्पादन गर्न नसकिने अवस्था देखिएको हो ।

मुल्यबृद्धि, मुख्य सुरुङको डिजाइन संसोधन, हेडवक्र्समा केही सिभिल कार्यको परिणामा बृद्धि, करका दायरामा बृद्धि लगायतलेआयोजनाका लागत बढेको हो ।

भुकम्पले अस्थायी तथा स्थायी संरचना र केही सिभिल संरचनामा समेत क्षति पुरयाएको थियो । भूकम्पले सिंगटीदेखि बाँधस्थल लामावगरसम्मको प्रवेशमार्गको २९ कि.मि. सडकखण्ड बढी प्रभावित गरेको थियो ।

Publish on: