हेलिकप्टर दुर्घटनाप्रति नीजि क्षेत्रद्वारा दुःख व्यक्त « Eglish Khabarhub

हेलिकप्टर दुर्घटनाप्रति नीजि क्षेत्रद्वारा दुःख व्यक्त



काठमाडौँ । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटना संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, उद्यमी आङछिरिङ शेर्पासहित सात जनाको निधन भएकोमा उद्योगी व्यवसायीहरूका छाता संस्थाले दुःख प्रकट गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसंघ, नेपाल घरेलु तथा साना उद्योग महासङ्घ लगायतका संस्थाले उक्त घटनाप्रति गहिरो दुःख प्रकट गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घले ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

ताप्लेजुङको पाथीभरा आसपासमा भएको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा र नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकृतहरू सहित सात जनाको दुःखद निधन भएको खबरले महासङ्घ स्तब्ध भएको जनाएको छ । दुर्घटनाबाट मुलुकलाई अपूरणीय क्षति पुगेको महासङ्घको ठहर छ ।

‘यस दुःखद घडीमा, दुर्घटनामा परी ज्यान गुमाउने व्यक्तित्वहरूको परिवारजनमा पर्न गएको असह्य पीडाप्रति हार्दिक समवेदना प्रकट गर्दै स्वर्गीय आत्माहरूको चीर शान्तिको कामना गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

यता उद्योग परिसंघले अकल्पनीय र अप्रत्याशित दुर्घटनाले देशले अपूरणीय क्षति व्यहोर्नु परेको जनाएको छ । नेपालले एक उदीयमान मुलुक र जनताका लागि सदैव समर्पित, विकास प्रेमी युवा राजनीतिज्ञ, नेपालको पर्यटन एवं उड्डयन क्षेत्रको विकासमा समर्पित एक सफल उद्यमी तथा कर्तव्यनिष्ठ राष्ट्र सेवकहरू गुमाएको भन्दै दुःख प्रकट गरेको छ ।

‘देश नै शोकाकुल भएको दुःखद घडीमा नेपाल उद्योग परिसंघ निधनहुनुभएका सम्पूर्णमा भावपूर्ण श्रद्धान्जली एवं शोक प्रकट गर्दै उहाँहरूको आत्माको चीरशान्तीको कामनासहित सम्पूर्ण शोकसंतप्त परिवारहरू प्रति गहिरो समवेदना प्रकट गर्दछ’ जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तै महासङ्घले पनि उक्त दुर्घटनाले आफूहरूलाई स्तब्ध बनाएको उल्लेख गरेको छ । दुर्घटनामा मुलुकले एउटा होनहार युवा राजनीतिज्ञ गुमाएको र यसले पर्यटन व्यवसायमा समेत क्षति पुग्न गएको महासङ्घको ठहर छ । ‘दुःखको यस घडीमा उहाँ लगायत उहाँसँगै यात्रामा रहनु भई शहादत प्राप्त गर्नुहुन सबैको आत्माले शान्ति पाओस् भनी महासङ्घ मृत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ’ विज्ञप्तिमा उल्लेख छ ।

Publish on: