काठमाडौं । नेकपाका नेता बामदेव गौतमले पार्टीले उठाएपनि रविन्द्र अधिकारीको क्षेत्रबाट चुनाव नलड्ने बताएका छन् ।
बामदेव गौतमको सचिवालयले जारी गरेको विज्ञप्तीमा बामदेवले आफ्नो विरुद्द फेरी कुत्सित उद्देश्य प्रेरित कुप्रचार मेरा विरुद्ध शुरु भएको बताएका छन् ।
‘नेपाली राजनितिक आकासमा उज्वल भविष्य सहित उदाएका मेरा प्रिय कमरेड रविन्द्र अधिकारीको असामयिक निधनवाट ठूलो धक्का महसुस गर्दै श्रद्धान्जली दिन पोखरा पुगेको घटनालाई आधार बनाएर मलाई दिवंगत रविन्द्रको निर्वाचन क्षेत्रवाट उमेदवार वन्ने आशा राखेको आरोप लगाइएको छ’, सचिवालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
उनले यो आफ्नो चरित्र हत्या गर्ने निकृष्ट र षडयन्त्रमूलक विचार राखेर शुरु गरिएको कुप्रचार मात्र भएको बताएका छन् । मृत्यु शोकमा पाइला टेकेर व्यक्तिगत स्वार्थ पुरा गर्ने विचार लाई मैले कहिल्यै मान्यता जीवनभर नदिने र उनले आफ्नो इच्छाविपरित पार्टीले निर्णय गरेपनि रविन्द्रको निधन भएपछि खाली भएको क्षेत्रमा उम्मेद्वार नबन्ने बताएका छन् । उनले आफ्नो प्रयत्न रविन्द्रको परिवार सदस्यलाई नै उमेदवार वनाउन लगाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
गतवर्ष भएको प्रतिनिधिसभा निर्वाचनमा बामदेव बर्दियाबाट पराजित भएका थिए । कम्युनिष्ट पार्टीले देशभर दुईतिहाई ठाउँमा विजय हुँदा बामगठबन्धनका सुत्रधार भनिएका गौतम पराजित भएका थिए । त्यसपछि बामदेवले विभिन्न ठाउँमा निर्वाचन लड्न प्रयास गरेका थिए । काठमाडौं ७ मा रामविर मानन्धले बामदेवको लागि ठाउँ खाली गर्ने भनेपछि उनको निकै आलोचना भयो । पछि मानन्धर पछि हटेका थिए ।
हेलिकप्टर दुर्घटनामा परेर पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधन भएपछि उनको निर्वाचन क्षेत्र खाली भएको छ । संविधान अनुसार ६ महिनाभित्र सो क्षेत्रमा उपनिर्वाचन गर्नुपर्छ । रविन्द्र बामदेव निकट मानिन्थे ।
SHARE YOUR THOUGHTS