काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरपालिका क्षेत्रमा रहेको सडक सफा गर्नको लागि आजदेखि ब्रुमर प्रयोग गरेको छ ।
केहि हप्ता अघि काठमाडौं ल्याएको ब्रमुरको महानगरका मेयर विद्यासुन्दर शाक्यले आज उद्घाटन गर्दै कुचोले महानगरको सडक सफा गर्न दिनको अन्त्य भएको बताए ।
उनले हाल ल्याएको ब्रुमरले महानगरको हरेक वडा सफा गर्ने बताए । ब्रुमर सञ्चालन पछि महानगरको सडक क्षेत्र धूलो र हिलोबाट मुक्त हुने उनले बताए । ‘अबको मौसम भनेको हावा हुरी तथा छिन मै पानी पर्ने भएकोले हावा चलेको समयमा धुुलो उड्ने तथा पानी परेको समयमा हिलो हुने समस्या छ तर ब्रुमर ल्याए पछि त्यसको अन्त्य भएको छ,’ मेयर शाक्यले भने ।
उनले महानगर भित्र रहेको सडकका साथै पेटी सफा गर्नको लागि महानगर एक्लैको प्रयासले सम्भव नहुने बताए । महानगरका सडक पेटी सफा गर्नका लागि सडक विभाग , खानेपानी लगायतका निकायहरुले सडक खन्ने तथा धुलो बनाउने जस्ता कार्य रोक्नुपर्ने मेयर शाक्यले बताए । ‘सडक विभागले सडकको खाल्टाखुल्टी टाल्नुप¥यो, खानेपानीले पाइप राखेपछि सडकलाई पूर्णता दिनुपर्यो अनि महानगरले सहज तरिकाले सडक सफा गर्छ,’ उनले भने ।
उनले ब्रुमर ल्याएर सडक सफा गर्न विषय सानो काम भए पनि युद्ध जित सरह भएको बताए । ‘ब्रुमर ल्याएर सडक सफा गर्नु सानो काम हो तर विभिन्न अवरोधको कारण ब्रुमर आजसम्म ल्याउन नसक्दा अहिले आएर युद्ध जिते सरह भएको छ’, उनले भने ।
महानगरले ब्रुमर ल्याउने भनेपछि विभिन्न उजुरी परेको कारण दुई वर्ष समय लागेको उनले बताए । ‘सबैको हितको लागि ब्रुमर ल्याउन लागेको हो तर समन्वय तथा सहकार्यको अभावका कारण ब्रुमर ल्याउने जस्तो सानो कामको लागि धेरै समय लाग्यो’ , उनले भने ।
उनले महानगर क्षेत्र भित्र रहेको बासिन्दाका कारण सडकमा धुलो नभएको भन्दै पूननिर्माण तथा भवनहरु निर्माण कार्यले गर्दा सडकमा धुलो भएको बताए । उनले महानगर क्षेत्रभित्र जति पनि भवन निर्माण भइरहेका छन् त्यसलाई व्यवस्थित गर्नुपर्ने बताँउदै अन्यता त्यहा देखापरेको धूलोहरु सडकमा आउने बताए । ‘सुन्धारा रत्नपार्क लगायतका क्षेत्रमा देखापरेको धूलो भनेको धरहरा निर्माण क्षेत्रबाट आएको हो’, उनले भने ।
महानगरकी उपमेयर हरिप्रभा खड्गीले महागर क्षेत्रमा देखापरेको फोहोरलाई मोहोरमा परिणत गर्नुपर्ने बताईन् । सडकको धूलो नियन्त्रणको लागि ब्रुमर ल्याएको भएपनि महानगर क्षेत्रमा देखापर्ने विभिन्न प्रकृतिका फोहोरलाई आवश्यकता अनुसार पुनः प्रयोग तथा मल बनाउने लगायतका काम गर्नुपर्ने बताईन ।
काठमाडौंको सडकमा चक्लेटका खोल तथा प्लाष्टिकहरु देखिएको हुदाँ महानगरले फोहोर राख्ने भाडा सडक किनारामा राखेको हुदाँ त्यसको प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरिन् । ‘फोहोर फाल्ने भाँडामा फोहोर राख्नुहोस् काठमाडौंको सडक सफा देखिन्छ ’, उनले भनिन् ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत यादव प्रसाद कोइरालाले ब्रुमर आउन अघि महानगर क्षेत्रमा सफा गरेपनि जस नपाउने गरेकोले ब्रुमर आएपछि त्यसको अन्त्य हुने बताए ।
यस्तै महानगरले थप दुईवटा ब्रुमर ल्याउने तयारी समेत गरेको बताएको छ ।
महानगरले आजदेखि सञ्चालनमा ल्याएको ब्रुमर महानगरको पाँचवटा सडकमा सञ्चालन हुन्छन् ।
बु्रमर सोल्टीमोडबाट सुरु भई सहिदगेट सुन्धारासम्म , टेकु कालिमाटीरबाट सुरु भई बानेश्वर तीनकुने बल्खु लगायतको क्षेत्रको सडक सफा गर्नेछ ।
यस्तै टेकु त्रिपुरेश्वर हुदै दरबारमार्ग तथा हात्तीसार, लाजिम्पाट, बालुुवाटार महारजगञ्ज, बालाजु, सोह्रखुट्टे क्षेत्रको सडक सफा गर्नेछ भने अर्को पुतलीसडक पुरानो बानेश्वर ,सिनामंगल चुचेपाटी, मैतीदेवी डिल्लीबजार, थापाथली क्षेत्रको सडक सफा गर्नेछ ।
बु्रमरले त्रिपुरेश्वर हुदै एयरपोर्ट गौशला चाबहिल , पुरानो बानेश्वर, डिल्लीबजार ,प्रदर्शनी मार्ग तथा माइतीघर मण्डला क्षेत्रको सडक सफा गर्नेछ ।
ब्रुमर त्रिपुरेश्वर, न्यूरोड, जमल केशरमहल, थापागाँउ ,पुरानो बानेश्वर ,बालाजु सितापइला ज्ञानेश्वर क्षेत्रका सडक सफा गर्नेछ ।
SHARE YOUR THOUGHTS