सञ्चय कोषमा इ–पेमेन्ट शुरु, धितो कर्जा सिधै बैंक खातामा आउने « Eglish Khabarhub

सञ्चय कोषमा इ–पेमेन्ट शुरु, धितो कर्जा सिधै बैंक खातामा आउने



काठमाडौं । कर्मचारी सञ्चय कोषले प्रदान गर्ने गरेको धितो कर्जा, सोझै लाभग्राहीको बैंक खातामा जम्मा हुने व्यवस्थाको सुरुवात भएको छ । उक्त व्यवस्थाको लागी कोषले नेपाल क्लियरिङ्ग हाउसको  NCHL-IPS तथा connectIPS e-payment  प्रणालीहरुसँग पूर्ण रुपमा इन्टिग्रेसन गरेको छ ।

उक्त कार्य कोषका प्रशाशक तुलसी प्रसाद गौतम, एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान लगायात बैंक तथा दुबै संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा शुभारम्भ भएको छ । आफ्ना सम्पूर्ण भुक्तानी तथा संकलनहरु सोझै बैंकखाता मार्फत गर्ने क्रममा कोषले आफ्नो धितो कर्जा स्किम अन्तर्गत स्विकृत भएको आवास कर्जाको भुक्तानी हालको लागी हिमालयन बैंक तथा एनएमबि बैंक मार्फत गर्ने भएको छ ।

लाभग्राहीले कोषमा आफ्नो बैंक खाता अध्यावधि गराएको अवस्थामा स्विकृत कर्जा, नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध सदस्य बैंक तथा वित्तिय संस्थाहरुमा रहेकोे लाभग्राहीको जुनसुकै खातामा पनि सो रकम सोझै जम्मा गरिने छ भने सेवाग्राहीले रकम प्राप्त गर्न बैंक वा कोषको कार्यालय धाउनु नपर्ने भएको छ । यसरी जम्मा हुने रकममध्ये दश लाख सम्मको रकम connectIPS मार्फत रियल टाइममा जम्मा हुनेछ तथा सोभन्दा माथीको रकम NCHL-IPS मार्फत सेटल्मेन्ट पश्चात सोही दिन वा अर्को दिन भुक्तानी गरिने व्यवस्था रहेको छ ।

वार्षिक २।५ लाखको संख्यामा भुक्तानी गर्ने यस कोषले कर्जा व्यवस्थापन सोझै लाभग्राहीको बैंक खातामा जम्मा गर्न आफ्नो सेवा विस्तारको क्रमलाई अझ सुढृढ गरीे विद्युत्तीय प्रणालीको प्रयोग गरी महत्वपूर्ण कदम चालेको छ । यस प्रणालीले कोषको आन्तरिक सन्चालन कार्यमा सहजता ल्याउनुका साथै लाभग्राहीलाई थप सुविधा प्रदान गर्ने विश्वाश लिएको छ ।

कर्मचारी सञ्चय कोष ऐन अन्तर्गत स्थापित कर्मचारी सञ्चय कोष नेपालको सबैभन्दा ठूलो कोष हो । यसमा ५.५ लाख सञ्चयकर्ता र ३० हजार संस्थाहरु आबद्ध छन् ।

नेपाल राष्ट्र बैंक, बैंक वित्तीय संस्थाहरु र स्मार्ट च्वाइस टेक्नोलोजीबाट प्रवद्र्धित नेपालक्लियरिङ्ग हाउस लिमिटेडले हालसम्म विद्युतीय माध्यमबाट चेकको राफसाफ गर्ने प्रणाली NCHL-ECC, अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली (NCHL-IPS) र अनलाईन मार्फत सर्वसाधारणले सजिलैसँग विद्युतीय भुक्तानी गर्न सकिने connectIPS e-Payment प्रणाली लागू गरी सञ्चालन गर्दै आएको छ ।

Publish on: