काठमाडौं । युवाहरुलाई उद्यमशीलताका लागि आवश्यक पर्ने स्रोत, साधान र सोचको विकास गराउने उद्देश्यका साथ प्रदेश नं. ३ काठमडौंमा सरकारको अगुवाइमा २ दिने युवा उद्यमी सम्मेलन हुने भएको छ ।
सोमबार काठमाडौमा पत्रकार सम्मेलन गरी आयोजकले आगामी साउन २७ र २८ गते देशभरका उद्यमशील सोच राख्ने युवाहरुको सहभागीतामा सम्मेलन हुनेछ ।
सम्मेलनमा प्रदेश ३ सरकारका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री अरुण नेपालले उद्यमशीलताको सम्भावना, आवश्यक स्रोतको व्यवस्थापन र सरकारी साथ एंव सहयोगका बारेमा जानकारी दिएका छन् ।
प्रदेश नम्वर ३ सरकारको उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालय, राष्ट्रिय युवा परिषद् र विशाल मिडिया ग्रुपको आयोजना र आईएमई फाउण्डेसनको सह—आयोजना र राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजन रहनेछ ।
सम्मेलनमा उद्यमशीलताका नविनतम् अवसरको खोजी गर्ने, नयाँ स्टार्ट अप कम्पनीलाई प्रोत्साहन गर्ने र उद्यमशीलताको सोच भएका तर लगानीका लागि पर्याप्त पुँजी नभएका युवाहरुका लागि लगानीबारे लगानीकर्तासँग छलफल गर्न उपयुक्त प्लेटफर्म हुने आयोजकले बिश्वास लिएको छ ।
मन्त्री नेपालले उद्यमी बन्नका लागि सीप, दक्षता, आत्मविश्वास, पुँजी र लगानीको वातावरण चाहिने बताउँदै यो युवा उद्यमशीलता सम्मेलनले उद्यमशीलताको उपयुक्त अवसर निमार्णमा पहल गर्ने बताए ।
उनले प्रदेश नम्वर ३ सरकार युवा उद्यमीको लगानी बढाउन र समस्याहरु समाधान गर्न प्रतिवद्ध रहेको बताए ।
पत्रकार सम्मेलनमा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले अन्तराष्ट्रिय युवा दिवसको अवसरमा आयोजना हुने युवा उद्यमशीलता सम्मेलन २०१९ उद्यम गर्न चाहने नेपाली युवाहरुका लागि महत्वपूर्ण प्लेटफर्म भएको बताए ।
स्थानीय सरकार, प्रदेश सरकार, सरोकारवाला निकाय र निजी क्षेत्रको सहकार्यमा हुन लागेको कार्यक्रमले नेपाली युवा उद्यमीहरुलाई प्रोत्साहन मिल्नुका साथै उद्यम गर्न चाहनेहरुका लागि लगानीको क्षेत्र पहिचानमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले सम्मेलनले ७७ वटै जिल्लामा रहेका युवाहरुका माझ सकारात्मक सन्देश जाने र यस्ता खाले सम्मेलनले देशभित्र र बाहिरका युवाहरुमा उद्यम गर्ने उत्साह र आत्मविश्वास बढ्ने बताए ।
श्रेष्ठले युवा उद्यमीहरुलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउने घोषणा समेत गरे ।
सम्मेलन मूल आयोजक समितिका संयोजक बिशाल गैरेले प्रादेशिक संरचनाभित्र युवा उद्यमशीलताका सम्भावना, अवसर र चुनौतिबारे बहस गरी नीति निर्मातालाई सचेत गराउने, युवा उद्यमीहरुका सफलताका कथाहरु आदानप्रदान गर्ने र देशभरका उद्यमी बन्न चाहने युवालाई उत्प्रेरण दिने दृष्टिकोणले यो सम्मेलन सफल रहने विश्वास व्यक्त गरे ।
११ वटा सेसन रहने सम्मेलनमा देशभरबाट आवेदन दिएका ११०५ जनामध्ये छनौट भएका ५०० युवाहरु र ४० भन्दा बढी स्पीकरको प्रस्तुती रहने छ ।
साउन २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सम्मेलमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणी पौडेल, अर्थमन्त्री युवराज खतिवडा सभागी हुनेछन् ।
त्यस्तै, शिक्षा, बिज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोख्रेल, सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल प्रसाद बास्कोटा, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, युवा तथा खेलकुदमन्त्री जगत् बिश्वकर्मा, बरिष्ठ उद्यमी हरिभक्त सर्मा, भवानी राणा, चन्द्र ढकाल, सुरज बैद्य, हेमराज ढकाललगायत उद्यमीहरुको सहभागीता रहने आयोजकले जानकारी दिएको छ ।
सम्मेलनको समापन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन् ।
SHARE YOUR THOUGHTS