काठमाडौं । कालो धनलाई सेतो बनाउन सहयोग गरेको अभियोगमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले एनआइसी एशिया र नेपाल एसबिआई बैंकका ब्राञ्च म्यानेजरसहित २० कर्मचारीविरुद्ध मुद्दा दायर गर्ने भएको छ ।
नक्कली कम्पनी खडा गरी व्यापारिक कारोबार गरेको भन्दै एनआइसी एशिया र एसबिआई बैंकमार्फत् २६ करोड रुपैयाँ भारत पुर्याइएको घटनामा विभागले छानविन गर्दा बैंकका कर्मचारीहरुको सहभागिता देखिएपछि उनीहरुविरुद्ध विभागले मुद्दा दायर गर्न लागेको हो ।
लामो समयदेखि अनुसन्धानको प्रक्रियामा रहेको यो केश अहिले अघि बढेको हो ।
‘हामीले आफ्नो अनुसन्धान सकेका छौं, मुद्दा दायर गर्नका लागि सरकारी वकिलकहाँ फाइल पठाइसकेका छौं,’ विभाग स्रोतले भन्यो, ‘संभवत आज वा भोलि सरकारी वकिलबाट फाइल फिर्ता आउँछ । र, मुद्दा दायर गर्छौं ।’
अनुसन्धानमा बैंकका कर्मचारीको मिलेमतोमा कालो धनलाई सेतो बनाइएका तथ्यहरु फेला परेपछि मुद्दा दर्ताको प्रक्रिया अघि बढाइएको हो ।
‘अवैध गतिविधिमा संलग्न भारतीय नागरिकले बैंकका कर्मचारीसँगको मिलेमतोमा कालो धनलाई सेतो बनाएर भारत लैजान सफल भएका छन्,’ स्रोतले भन्यो ।
यसरी बनाइयो कालोलाई सेतो
एक भारतीय नागरिकले नेपालमा आफ्नो ठूलो कम्पनी भएको कागज देखाए । तर, त्यो कम्पनी पूर्णरुपमा नक्कली थियो । उक्त कम्पनीले कन्ज्युमर गुड्स (उपभोग्य वस्तुहरु)को कारोबार गर्ने कागजमा उल्लेख छ । ती नक्कली व्यापारीले बैंकमा प्रस्तुत गरेको कागजात शंकास्पद हुँदाहुँदै पनि बैंकका कर्मचारीले भुक्तानी दिएको अनुसन्धानमा खुलेको छ ।
‘काल्पनिक व्यापारिक संस्था बनाएर भारतमा पैसा लगेको पुष्टि भइसकेको छ,’ स्रोतले भन्यो ।
बैंकमा प्रस्तुत गरिएका सम्पूर्ण कागजपत्र हेर्दा अधिकांश नक्कली भेटिएको थियो भने कितपयको कागजपत्र फर्म्याट नै मिलेको थिएन ।
विभागले सम्बन्धित बैंकका कर्मचारीलाई बोलाएर बयान पनि लिइसकेको छ । टेलेक्स ट्रान्सफर (टिटी) मार्फत कालो धनलाई सेतो बनाएर भारत पुर्याइएको हो ।
‘भारतबाट नेपाल पठाउने पनि व्यक्ति र यता रिसिभ गर्ने पनि व्यक्ति देखियो,’ विभाग स्रोतले भन्यो ‘ब्यापार कम्पनीले कम्पनीलाई गर्छ । व्यक्तिले व्यक्तिलाई होइन । तर यस्तो हुँदाहुँदै पनि बैंकले भुक्तानी दिएका छन् ।’
यस्तो कारोबारमा छोटी भन्सारबाहेकका मूख्य भन्सारमा सबै कागजात कम्युटराईज हुनुपर्ने आसिकुडाको नियम छ । तर, उक्त कारोबारमा हस्तलिखित कागजातहरु पनि रहेको विभागले जनाएको छ । कम्पनीको आधिकारिकता र आम्दानीको स्रोतजस्ता विषयको अध्ययन नै नगरी बैंकका कर्मचारीले टिटीमार्फत करोडौँ भुक्तानी दिएका छन् ।
अवैध रूपमा नेपालबाट भारतमा पैसा लैजाने भारतीय फरार छन् । यो घटनासँगै विभागले अन्य बैंकहरुसँग पनि टिटीमार्फत बाहिरिएका ठूलो कारोबारको विवरण मागेर छानबिन थालेको छ ।
यसबारे विभागले राष्ट्र बैंकलाई जानकारी गराइसकेको छ । र, राष्ट्र बैंकले पनि यसबारे बैंकहरूलाई सर्कुलर गरिसकेको छ ।
SHARE YOUR THOUGHTS