काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले अर्थमन्त्री भएपछि राजस्वलाई सुधार गर्ने भन्दै धेरै नै योजना ल्याए ।
उनले भन्सारमा कारोबार मूल्यको विपरित सन्दर्भ मूल्य लागु गरे । जसले कम मूल्यमा सामान खरिद गरेपनि बढी भन्सार तिर्नुपर्ने भयो । कतिपय व्यवसायीले यसलाई पूँजी पलायन गर्ने मौकाको रुपमा लिए । यद्यपी तयारी पोशाक तथा जुत्ता चप्पल खरिद मूल्य भन्दा कम देखाएर न्यून बिजकिरण समस्या भने छ ।
राजस्व सुधार गर्नको लागि मुहाननै सफा गर्ने अर्थमन्त्री खतिवडाको नीतिपछि राजस्व भने लक्ष्य अनुसार उठेको छैन ।
अघिल्लो आर्थिक वर्षमा पनि अर्थमन्त्री खतिवडा लक्ष्य अनुसारको राजस्व संकलन गर्नको असफल भएका थिए । उनले बजेटको मध्यवधी समिक्षामा राजस्वको लक्ष्य नै घटाएका थिए ।
चालु आर्थिक वर्षमा पनि राजस्वको लक्ष्य पुरा गर्न अर्थमन्त्री खतिवडालाई सजिलो नहुँने दुई महिनाको तथ्यांकले देखाएको छ ।
सरकारले भदौ महिनासम्ममा १ खर्ब ६५ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर भदौ महिनासम्ममा १ खर्ब ३३ अर्ब रुपैयाँमात्र राजस्व संकलन भएको छ । भदौ महिनासम्ममा लक्ष्यको ३२ अर्ब रुपैयाँ कम राजस्व संकलन भएको छ ।
अर्थमन्त्री खतिवडाले बजेटमा लिएको राजस्वको लक्ष्य भेटाउन मुस्किल पार्ने काम भने आयात घट्दा भएको छ ।
सरकारले भदौ महिनासम्ममा ३८ अर्ब ११ करोड रुपैयाँ भन्सारबाट उठ्ने लक्ष्य राखेको थियो । तर,भन्सारबाट जम्मा २५ अर्ब ६७ करोड मात्र उठेको छ ।
भन्सार राजस्वमा सरकारले आयात हुने सामानबाट भदौ महिनासम्ममा ३३ अर्ब ४८ करोड रुपैयाँ उठ्ने लक्ष्य राखेको थियो । सरकारको नीतिको कारण उपभोग घट्दा अघिल्ला वर्षको तुलनामा आयात नै घटेको छ । जसले गर्दा आयात हुने वस्तुबाट उठ्ने भन्सार नै भदौ मसान्तसम्म २३ अर्ब रुपैयाँ मात्र उठेको छ ।
नेपालको राजस्व आयातमुखी हो । सरकारले आयातलाई घटाउने नीति अत्याधिक मात्रामा करको दर बढाएको कारण उपभोग नै निरुत्साहन भएको हो । मुख्य रुपमा गाडी तथा इलेक्ट्रोनिक्स सामानको आयात घट्दा राजस्वको लक्ष्य नै प्रभावित भएको हो ।
सरकारले मूल्य अभिबृद्धि कर तर्फ भदौ मसान्तमा ५६ अर्ब ४६ करोड रुपैयाँ उठाउने लक्ष्य राखेको थियो । तर,४५ अर्ब ३६ करोड रुपैयाँमात्र उठेको छ । मूल्य अभिबृद्ध करपनि आन्तरिक उत्पादनको भन्दा आयातित वस्तुबाट बढी आउने गरेको छ । ३५ अर्ब २० करोड आयात हुने वस्तुमा लगाउने मूल्य अभिबृद्धि करबाट उठाउने लक्ष्य राखेकोमा आयात कम भएपछि यो शिर्षकमा २२ अर्ब १० करोड मात्र उठेको छ ।
यद्यपी सरकारलाई राम्रो कुरा भनेर दाबी गर्ने ठाउँ भने आन्तरिक उत्पादनको मूल्य अभिबृद्धि कर लक्ष्यभन्दा बढी उठेको छ । भदौसम्म २१ अर्ब २४ करोड रुपैयाँ आन्तरिक उत्पादनको मूल्य अभिबृद्धि करबाट उठाउने लक्ष्य राखेकोमा लक्ष्यभन्दा बढी २३ अर्ब २६ करोड रुपैयाँ उठेको छ ।
अन्तशुल्क तर्फ २६ अर्ब ९ करोड लक्ष्य राखेकोमा २० अर्ब ३९ करोड मात्र उठेको छ ।
आयकर तर्फ २८ अर्ब २१ करोड उठाउने लक्ष्य राखेकोमा २४ अर्ब १७ करोड रुपैयाँ मात्र उठेको छ ।
सरकारले गैर कर भने लक्ष्य भन्दा बढी उठाएको छ । भदौ मसान्तसम्ममा १२ अर्ब ३४ करोड रुपैयाँको लक्ष्य राखेकोमा १३ अर्ब ९२ करोड रुपैयाँ उठेको छ ।
अर्थमन्त्री खतिवडाले राजस्वलाई एकै पटक दवाव दिएर उठाउन खोज्दा लक्ष्य अनुसार संकलन नभएको व्यवसायीहरु बताउँछन् ।
‘व्यवसायी चोर हुन उनीहरुलाई कारवाही गर्नुपर्छ ठगेका छन् भन्ने मानसिकता लिएर अर्थमन्त्रीले नीति बनाउनुभयो, सो नीतिले सहज व्यापार गर्न सक्ने अवस्था छैन, त्यो भएपछि सरकारले लक्ष्य अनुसारको राजस्व उठाउन सक्दैन,’एक व्यवसायीले भने ।
‘सुनको अण्डा दिने कुखुरालाई मारेर एकैपटक अण्डा लिने सोच अर्थमन्त्रीमा देखियो,जसले गर्दा व्यवसाय गर्ने वातावरण छैन,यो नभएपछि सरकारले राजस्व पाउदैन, अहिले भएको यही हो,’ ति व्यवसायीले भने ।
यद्यपी सार्वजनिक कार्यक्रमहरुमा भने अर्थमन्त्री खतिवडाले आफु आयात बढाएर राजस्वको लक्ष्य पुरा गर्ने अर्थमन्त्री नभएको बताउदै आएका छन् ।
सरकारले लक्ष्य अनुसारको राजस्व संकलन नगर्दा यसको दवाव विकासमा खर्चमा पर्छ । चालु खर्च घटाउन नसिकने हुँदा विकास खर्चको लागि दातृ निकायको मात्र भर पर्नुपर्ने अवस्था आउने छ ।
SHARE YOUR THOUGHTS