काठमाडौं । हाउजिङ व्यवसायमा ठगीको उजुरीपछि पक्राउ परी थुनामा रहेका व्यापारी रुप ज्योतिविरुद्धको मुद्दा अदालत नपुग्दै मिलापत्र हुने देखिएको छ ।
थुनामा रहेका रुप ज्योति र उनकी छोरी सुरुची ज्योतिविरुद्धको मुद्दा अदालत नपुर्याउने बरु आपसी सहमतिमा मिलापत्र गर्न दुबै पक्ष सहमत भएपछि मिलापत्र हुने भएको हो ।
उजुरीकर्ता विज्ञेन्द्रकृष्ण मल्लले आफूले बैनावापतको रकम फिर्ता लिने र मुद्दा अगाडि नबढाउने सहमति भएसँगै मुद्दा अदालत नपुग्दै टुंगिने भएको हो ।
जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख चन्द्रकान्त खनालले जाहेरीकर्ताले नै ठगी भनिएको वापतको रकम फिर्ता पाउने र मुद्दा नचल्ने रायसहितको प्रहरी प्रतिवेदन आएको बताए ।
प्रहरीले पनि यस्ता मुद्दामा जाहेरीकर्ता सहमत भए मुद्दा पनि टुंगाउन मिल्ने जनाएको छ । मुद्दा नचल्ने निर्णय जिल्ला सरकारी वकिलको कार्यालयले उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधीवक्ताको कार्यालयसम्म पठाउनेछ ।
व्यापारी रुप ज्योति र छोरी गत बिहीबार सिंगापुरबाट फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । उनीहरुलाई पहिलो पटक ३ दिन र दोस्रो पटक ५ दिन म्याद थप गरी अनुसन्धान गरिराखिएको थियो ।
मल्लको उजुरीमा २०७५ मंसिर २० गते जिल्ला अदालत काठमाडौंले हाउजिङका नाममा विभिन्न व्यक्तिलाई ठगी गरेको मुद्दामा पक्राउ गर्न आदेश दिएको थियो । तर ज्योति त्यसविरुद्ध सर्वोच्च अदालत पुगेका थिए ।
सर्वोच्च अदालतले करिब १ वर्षपछि ज्योतिको विपक्षमा फैसला गरेपछि उनी पक्राउ परेका थिए ।
SHARE YOUR THOUGHTS