काठमाडौं । भारतले लगाएको नाकाबन्दीका समयमा भन्दा पनि अहिले महंगी बढेको छ । बढ्दो महंगीले जनताको जनविबन कठिन बन्दै गएको छ ।
राष्ट्र बैंकले सोमबार सार्वजानिक गरेको मंसिर महिनासम्मको तथ्यांकअनुसार महंगी ३.८ प्रतिशतले बढेको छ । झट्ट हेर्दा महंगी घटेको देखिन्छ । किनभने गत वर्षको मंसिर महिनामा ११.६ प्रतिशतले मंहगी बढेको थियो ।
तर, खास कुरा के हो भने अघिल्लो वर्ष १०० रुपैयाँ पर्ने सामानलाई तपाईँले गत वर्षको मंसिर महिनामा १११ रुपैयाँ ६० पैसा तिर्नुपथ्र्यो भने यो मंसिरमा त्यही सामान किन्न ११५ रुपैयाँ ८७ पैसा तिर्नुपर्ने हुन्छ ।
गत वर्षको आधार मूल्य प्रभाव, आपूर्ति व्यवस्थामा सहजता तथा भारतमा उपभोक्ता मुद्रास्फीतिदर घट्दै गएको कारण पछिल्ला महिनाहरुमा मुद्रास्फीतिमा निरन्तर कमी आइरहेको राष्ट्र बैंकले जनाएको छ ।
गत वर्षकोभन्दा मूल्य वृद्धिमा कमी आए पनि महंगी भने बढेको छ ।
मंसिर महिनामा खाद्य मुद्रास्फीति ०.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति १४.८ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गतको घ्यू तथा तेलको मूल्यमा २०.५ प्रतिशत, दलहन तथा गेडागुडीको मूल्यमा ६.६ प्रतिशत, फलफूलको मूल्यमा २.४ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको मूल्यमा १.१ प्रतिशतले घटेकाले समग्र खाद्य मुद्रास्फीतिमा कमी आएको हो ।
समीक्षा अवधिमा चिनी तथा चिनीजन्य पदार्थको मूल्य १४.७ प्रतिशत र मदिराजन्य पेय पदार्थको मूल्य ११.६ प्रतिशतले वृद्धि भएको छ ।
समीक्षा अवधिमा गैर-खाद्य मुद्रास्फीति ६.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैर–खाद्य मुद्रास्फीति ९.१ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गतको यातायात तथा संचारको मूल्य वृद्धिदर गतवर्षको तुलनामा न्यून रहेकोले गैर-खाद्य मुद्रास्फीति कम रहन गएको हो ।
क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति पहाडमा ५.६ प्रतिशत, तराई
तथा हिमाल दुबैमा समान ३.७ प्रतिशत र काठमाडौं उपत्यकामा २.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर पहाडमा १२.४ प्रतिशत, तराईमा १०.२ प्रतिशत, हिमालमा १०.३ प्रतिशत र काठमाडौं उपत्यकामा १३.२ प्रतिशत रहेको थियो ।
SHARE YOUR THOUGHTS