छ महिनाको ब्यापारघाटा ४ खर्ब २९ अर्ब, ४६६ अर्बको आयात, ३६ अर्बको निर्यात « Eglish Khabarhub

छ महिनाको ब्यापारघाटा ४ खर्ब २९ अर्ब, ४६६ अर्बको आयात, ३६ अर्बको निर्यात




काठमाडौं । चालु आर्थिक बर्षको ६ महिनामा नेपालले ३६ अर्ब रुपैयाँको बस्तु तथा सेवा बिक्री गर्दा ४ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको खरिद गरेको छ । ब्यापार तथा निकासी प्रबद्र्धन केन्द्रले दिएको तथ्यांकले यस्तो देखाएको हो ।

केन्द्रका अनुसार ६ महिनाको अबधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५८.८ प्रतिशतले वृद्धि भई ५ खर्ब २ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । सो अवधिमा नेपालको कुल निकासी १०.८ प्रतिशतले वृद्धि भई ३६ अर्ब ३२ करोड रुपैयाँमा सिमित भएको छ । आयात भने ६४.३ प्रतिशतले वृद्धि भई ४ खर्ब ६६ अर्ब ५ करोड रुपैयाँ पुगेको छ ।

सो अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुहरुमा ऊनी गलैंचा, तयारी पोशाक, मुसुरोको दाल, पोलिष्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टील र तिनका उत्पादनहरु, हस्तकलाका सामानहरु, चाउचाऊ, टुथपेष्ट, अलैंची, चिया, अदुवा, नेपाली हातेकागज, छाला, पश्मिना सल, जडिवुटी आदि प्रमुख रहेका छन् ।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा ऊनी गलैंचाको निर्यातमा ६.१ प्रतिशतले ह्रास आई ३.७४ अर्व, र तयारी पोशाकको निर्यातमा ५.७ प्रतिशतले ह्रास आई २.७७ अर्व रुपैयाँ पुगेको छ । यसै गरी फलाम तथा स्टील र तिनका उत्पादनहरुको निर्यातमा १०.२ प्रतिशतले वृद्धि भर्ई २.७९ अर्व, पोलिष्टर तथा अन्य धागोमा ३१.१ प्रतिशतले वृद्धि भई २.९५ अर्व र मुसुरोको दालमा ३८.० प्रतिशतले वृद्धि भई ५५ करोड रुपैयाँ पुगेको छ ।

केन्द्रका अनुसार सो अवधिमा ३७ करोडको छाला, १.७४ अर्वको अलैंची, १.६४ अर्वको चिया, १४ करोडको अदुवा, ४० करोडको चाऊचाऊ, ३० करोडको जडिवुटी, २९ करोडको टुथपेष्ट, १.५९ अर्बको टेक्सटाइल, १.४४ अर्वको पश्मिना सल, ३० करोडको हस्तकलाका सामानहरु र ४० करोड रुपैयाँको नेपाली हातेकागज निकासी भएको छ ।

नेपालको निकासी व्यापारमा भारत, संयुक्त राज्य अमेरिका, टर्की, जर्मनी, युके, चीन, फ्रान्स, इटाली, जापान, वंगलादेश, क्यानडा, अष्ट्रेलिया, नेदरलेण्ड्स र डेनमार्क आदि प्रमुुख रुपमा रहेका छन् ।

सो अवधिमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा फलाम तथा स्टील र तिनका उत्पादनहरुको आयातमा ९५.३ प्रतिशतले वृद्धि भई ५०.६५ अर्ब, पेट्रोलियम पदार्थमा १४१ प्रतिशतले वृद्धि भई ५१.८१ अर्ब, यातायातका साधन र तिनका पार्टपुर्जामा १६८.२ प्रतिशतले वृद्धि भई ४६.९२ अर्ब, इलेक्ट्रिक र इलेक्ट्रोनिक सामाग्रीहरुमा ५९.४ प्रतिशतले वृद्धि भई २०.८० अर्ब, औषधीमा १९.८ प्रतिशतले ह्रास आई ११.४७ अर्ब, मशिनरी तथा पार्ट्समा १२६.४ प्रतिशतले वृद्धि भई ३८.२२ अर्ब र पोलिथिन ग्रेन्युल्समा १९.४ प्रतिशतले वृद्धि भई ८.०३ अर्ब रुपैयाँको आयात भएको छ ।

यसै अवधिमा कच्चा पाम आयलमा ८८.२ प्रतिशतले वृद्धि भई १.९६ अर्व , दुरसञ्चारका सामाग्रीहरुमा ४९.८ प्रतिशतले वृद्धि भई १५.८२ अर्ब, रसायनमा २५.५ प्रतिशतले वृद्धि भई ४.७६ अर्ब रुपैयाँको भएको छ । यस्तै ११.८० अर्ब बराबरको सुन, ४.१६ अर्व बराबरको चाँदी, ४ अर्ब बराबरको रासायनिक मल तथा २.५६ अर्ब रुपैयाँ बराबरका हवाईजहाज तथा हवाईजहाजका पार्ट्स आयात भएको छ ।

यस्तै सोही अवधिमा सिमेन्ट क्लिङ्कर ८.९७ अर्बको, भटमासको कच्चातेल ६.५१ अर्व, तयारी पोशाक ७.११ अर्व, अन्न १९.०२ अर्वको र ऊन १.९० अर्ब रुपैयाँ बराबरको आयात भएको छ ।

नेपालको आयातमा व्यापारमा भारत, चीन, युएई, थाइलेण्ड, इण्डोनेशिया, अर्जेन्टिना, संयुक्त राज्य अमेरिका, जापान, साउदी अरेविया, दक्षिण कोरिया, मलेशिया, भियतनाम, युक्रेन र क्यानडा प्रमुुख रुपमा रहेका छन् ।

गत आर्थिक वर्षको प्रथम छ महीनाको अवधिमा व्यापारघाटा पनि २६.० प्रतिशतले कमी आए तापनि चालु आर्थिक वर्षको सो अवधिमा समग्र निकासीमा सामान्य सुधार भए तापनि आयातमा देखिएको अत्यधिक वृद्धिका कारण व्यापारघाटामा ७१.३ प्रतिशतले वृद्धि भई ४ खर्ब २९ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ ।

नेपालका प्रमुख व्यापारिक साझेदार देशहरु मध्ये निर्याततर्फका प्रमुख गन्तव्यहरुमा भारततर्फ अलैंची, जुस, कपडा, धागो, चिया, फलाम तथा स्टीलका उत्पादनहरु, जुत्ता, रोजिन र रेजिन एसिड, जुटका बोरा तथा झोला एवम् पिना प्रमुख रुपमा निर्यात भएको केन्द्रको भनाइ छ । गरीयुएसएतर्फ उनी गलैंचा, तयारी पोशाक, काँचका सामानहरु, पश्मिना सल, फेल्टका सामानहरु छुर्पी हस्तकलाका सामानहरु सारतेल सुतीका झोलाहरु प्रमुख रुपमा निर्यात भएका छन् ।

जर्मनीतर्फ पनि कार्पेट, तयारी पोशाक, पश्मिना, फेल्टका सामानहरु, चिया टोपी सुतीका झोला, हस्तकलाका सामानहरु कागजका उत्पादनहरु र ट्रान्सफरमरहरु निर्यात भएको पाइन्छ । यता नेपालको प्रमुख साझेदार मध्ये एक युके तर्फ भने ऊनी गलैंचा, पश्मिना, तयारी पोशाक, फेल्टका सामानहरु, कागजका सामानहरु, टोपी, हस्तकलामा सामानहरु, सुती झोला र तयारी चाऊचाऊ उल्लेख्य मात्रमा निर्यात भएका छन् । त्यसै गरी नेपालको अर्को महत्वपूर्ण निर्यात गन्तव्यका रुपमा रहेको टर्कीतर्फ भने धागो, छाला, ऊनी गलैंचा, टोपी, औषधी र हस्तकलाका सामानहरु निर्यात भएको छ ।

यता नेपालको आयातको प्रमुख श्रोत मध्ये अग्रस्थानमा रहेको भारतबाट पेट्रोलियम पदार्थ, फलाम तथा तिनका उत्पादनहरु, यातायातका साधनहरु, मेशिनरी तथा पाटपुर्जा र अन्न प्रशस्त मात्रामा आयात भएको देखिएको छ । यसै गरी नेपालको आयात व्यापारमा दोश्रो स्थानमा रहेको उत्तर तर्फको छिमेकी मुलुक चीनतर्फबाट हुने आयातमा दुरसञ्चारका सामाग्रीहरु, विद्युतीय उपकरणहरु, मेशिनरी तथा पार्टपुर्जा, स्याऊ तथा रासायनिक मलले प्रमुख स्थान हासिल गरेका छन् । अर्को प्रमख आयातको श्रोत मुलुक युएईबाट भने सुन, चाँदी, प्लाष्टिकको कच्चा पदार्थ, लुव्रिकेटिङ तेल र चकलेट आयात भएको छ । साथै थाइलेण्डतर्फबाट भने धागो, यातायातका साधन, हल्का पेयपदार्थ, सेम्फू, प्लाष्टिकको कच्चापदार्थ आयात भएको छ । इण्डोनेशियाबाट पनि कच्चा पाम तेल, कोइला, सुपारी, काठ तथा प्लाष्टिकको कच्चापदार्थ प्रमुख रुपमा आयात भएको छ ।

Publish on: