काठमाडौं । बिनोद चौधरी अर्थात् फोर्ब्सको अर्बपतिको सूचीमा परेका एकमात्र नेपाली । चौधरीलाई विश्वमा चिनाउने ब्राण्ड हो, वाइवाइ । चाउचाउ उत्पादन गर्नुपर्छ भन्ने सोचाइ उनको होइन ।
२०४० सालमा हिमालय पाँडेले मैदा बढी भएको उत्पादनलाई प्रयोग गर्ने आइडिया निकाले । जुन आइडियाबाट चौधरी प्रभावित भए । र, चाउचाउ उद्योगमा हात हाले ।
अहिले वाइवाइ चाउचाउले विश्वभर साम्राज्य फैलाउँदै लगेको छ । वाइवाइ नेपालको सबैभन्दा लोकप्रिय ब्राण्ड भएको अन्तर्राष्ट्रिय अध्ययनहरुले देखाइसकेको छ ।
वाइवाइ कसरी नेपालको सबैभन्दा बढी लोकप्रिय ब्राण्ड हुन पुग्यो ? त्यसका लागि वाइवाइले के कस्ता रणनीतिअरु अबलम्बन गर्यो ? यो आलेख पढेपछि जनमानसमा उब्जने यस्ता जिज्ञासाहरुको प्रष्ट र सरल जवाफ पाइने छ ।
वार्षिक औषतमा एक नपालीले ४० वटा चाउचाउ खान्छन् । जसमध्ये २५ वटा वाइवाइ चाउचाउ खान्छन् ।
चौधरी समूहले थाइ ब्राण्ड वाइवाइसँगको सहकार्यमा नेपालमा २०४१ सालमा वाइवाइ चाउचाउ उत्पादन सुरुभयो । त्यसबेलाकि चर्चित मोडल डली गुरुङलाई खेलाएर वाइवाइले पहिलो विज्ञापन बनायो । र, त्यही विज्ञापनमार्फत बजार प्रवद्र्धन गर्यो ।
चौधरीसँगै चाउचाउ उद्योगमा अन्य उद्योगी/व्यवसायीहरु आकर्षित भए । उद्योगहरु बढ्न थाले । अनि नेपालमा सुरु भयो चाउचाउ युद्ध अर्थात् नुडल्स वार ।
युद्ध यस्तोसम्म भयो कि २०६०/०६१ सालतिर आइपुग्दा चाउचाउ उत्पादक कम्पनीले उपभोक्तालाई दिन बाँकी केही पनि थिएन ।
‘चाउचाउ कम्पनीले उपभोक्तालाई सुनदेखि घर, गाडी मात्रै होइन, दिन मिल्नेजति सबै दिए,’ वाइवाइका सीइओसमेत रहेका चौधरी ग्रुपका भाइस प्रेसिडेन्ट जीपी शाह स्मरण गर्छन् ।
बढाबढमा उपभोक्तालाई उपहार घोषणा गर्नु चाउचाउ कम्पनीहरुको मार्केटिङ स्टार्टेजी थियो । एउटा कम्पनीले सुनको औंठी दिने घोषणा गर्यो भने अर्को कम्पनीले तुरुन्तै हिराको हार दिने घोषणा गरिहाल्थ्यो । अर्को कम्पनीले गाडी उपहार दिने घोषणा गर्थ्यो । र, अर्को कम्पनीले घर । आम सञ्चारमाध्यमहरुमा दैनिक यस्ता विज्ञापन प्रकाशित/प्रसारित हुन्थे ।
चाउचाउ कम्पनीका विज्ञापन हेर्दा लाग्थ्यो, अरु केही नगरी चाउचाउ मात्रै खायो भने सुन-चाँदी, हिरा-मोती, घर-गाडी सबै मिल्छ । र, भविष्य सुरक्षित हुन्छ ।
उपहारप्रति उपभोक्ताको विश्वास गुमिसकेको थियो तर अरु ब्राण्डहरु उपहार दिनमै केन्द्रित भए । हामीले भने सञ्चार रणनीति नै परिवर्तन गर्यौं । र, उपहार होइन सन्देशमुलक सामाग्री दिन थाल्यौं ।
चाउचाउ कम्पनीको उपहार युद्धले ८० प्रतिशत बजार हिस्सा ओगटेको वाइवाइलाइ समेत थला पार्यो ।
‘अरुले आखाँ चिम्लेर छुट दिन थालेपछि डिलरले वाइवाइलाई हामीले प्रस्ताव गरेको न्यूनतम मुल्यमा लिन मानेनन्, त्यसैले ८० प्रतिशतसम्म बजार हिस्सा ओगटेको वाइवाइ एकैपटक ४० प्रतिशतमा झर्यो,’ चाउचाउ युद्धबारे विनोद चौधरीले आफ्नो आत्मकथामा लेखेका छन् ।
युद्धको नियम नै हो कि मरिन्छ कि त मारिन्छ । जब वाइवाइको बजार हिस्सा ५० प्रतिशतले घट्यो तब चौधरी ग्रुप युद्धमा काउन्टर एट्याकमा उत्रियो ।
वाइवाइको प्रतिस्पर्धी ब्राण्ड मायोजले त्यतिबेला हिराको हार उपहार राखेको थियो । हिराको हार पाउने लोभमा उपभोक्ताहरु वाइवाइ छाडेर मायोज चाउचाउ खान थाले ।
जुन कुरा बिनोद चौधरीलाई सह्य भएन । र, मायोजलाई माथ खुवाउने गरी वाइवाइले हिराको सेट राख्ने निर्णय गर्यो ।
तर, यो कुराप्रति आफू स्वयं सन्तुष्ट नभएको चौधरीले आत्मकथामा उल्लेख गरेका छन् ।
‘हामीलाई हिराको सेटको लोभ देखाएर चाउचाउ बेच्नु गलत हो फिल भइसकेको थियो,’ नुडल्स वारका विनर सेनानी अर्थात् चौधरी ग्रुपका भाइस प्रेसिडेन्ट शाहले क्लिकमाण्डूसँग भने ।
तर, के गर्ने, कसो गर्ने, कसरी अरु भन्दा फरक हुने ? भन्ने विषयमा आफूहरुले आन्तरिकरुपमा निकै ठूलो छलफल गरेको उनले स्मरण गरे ।
‘हामीले बजार अनुसन्धान पनि गरिसकेका थियौं, अनुसन्धानमा चाउचाउ कम्पनीको उपहार योजनालाई जनताले विश्वास गर्न छाडिसकेको पायौं, त्यसले हामीलाई थप दबाबमा पार्यो,’ शाहले भने ।
र, स्टेयरिङ मोडियो
प्रतिस्पर्धामा वाइवाइलाई टिकाइ राख्न र अरुभन्दा फरक देखाउन चौधरी ग्रुपले ‘फाइटर ब्राण्ड’ ल्यायो । कम्पनीले मामा, गोलमोलजस्ता ‘फाइटर ब्राण्ड’ बजारमा उतारेको थियो । मुख्य ब्राण्ड वाइवाइलाई नुडल्स वारभन्दा फरक राख्न उपभोक्तामा आधारित उपहार योजनाहरु फाइटर ब्राण्डतिर सिफ्ट गर्यो ।
त्यति मात्रैले नपुग्ने देखेर चौधरी ग्रुपले आफ्नो सञ्चार रणनीति नै परिवर्तन गर्यो ।
‘उपहारप्रति उपभोक्ताको विश्वास गुमिसकेको थियो तर अरु ब्राण्डहरु उपहार दिनमै केन्द्रित भए । हामीले भने सञ्चार रणनीति नै परिवर्तन गर्यौं । र, उपहार होइन सन्देशमुलक सामाग्री दिन थाल्यौं,’ भाइस प्रेसिडेन्ट शाहले प्रष्ट्याए ।
आजभन्दा ९ वर्षअघि वाइवाइले पहिलो सन्देशमुलक विज्ञापन ‘वाइवाइ ज्ञानोदय छात्रवृत्ति’ संचालन गर्यो ।
यसरी उपहारभन्दा सन्देशमुलक सामाग्री दिएर उपभोक्ताको मनमा बस्नुपर्छ भन्ने आइडिया लगाउनेमध्येका एक मुख्य व्यक्ति हुन् भाइस प्रेसिडेन्ट शाह । उनले आफ्नो नेतृत्वमा चाउचाउ युद्धको रणनीति बदलेर वाइवाइलाई जिताए, अरुलाई हराएका थिए ।
‘हामी लिडिङ ब्राण्ड भएकोले केही नयाँ गर्न चाहन्थ्यौ,’ शाहले भने,- ‘त्यसैका लागि वाइवाइबाट सामाजिक सन्देश दिने विज्ञापन दिन सुरु गर्यौ, यसले बजारमा हाम्रो छवी पनि फरक मात्र भएन राम्रो पनि भयो ।’
२०६६/६७ देखि सुरु भएको ज्ञानोदय छात्रबृत्ति योजनामा ८ सय ५२ जना विद्यार्थीले छात्रबृत्ति पाएको चौधरी ग्रुपका जनसम्पर्क महाप्रवन्धक मधुसुधन पौडेलले जानकारी दिए । पौडेलका अनुसार ५ हजार प्रतिविद्यार्थी दिइने छात्रबृत्ति ४० विद्यालयमा फैलिएको छ ।
कुनैपनि बस्तुको ब्राण्ड समाजमा स्थापित भएपछि समाजले ब्राण्डबाट अपेक्षा खोज्ने उनी बताउँछन् । त्यसैले वाइवाइले सामाजिक चेतना फैलाउने अभियान संचालन गरेको हो ।
हाम्रो मनमा वाइवाइ
वाइवाइले केही वर्षअघि लामो टेलिभिजन विज्ञापन बनायो ।
‘हिमाल पहाड तराई, सबको मनमा वाइवाइ’ भन्ने नारामा बनेको विज्ञापनमा हिमालदेखि तराईसम्मका जनता र सबैको प्रतिनिधित्व गराइएको थियो ।
‘नेपाली समाज जात-जातिमा विभाजन देखिएको बेला हामीले सबै नेपालीलाई बाध्ने सुत्रको एउटा प्रयास गरेका थियौ,’ शाहले भने- ‘यो विज्ञापन साँच्चै नै प्रभावकारी भयो । यसले हामीलाई ठूलो सन्तुष्टि मिल्यो ।’
खाना खानुअघि हात धुने सन्देश होस् या लोडसेङिङ भएको समयमा उजाल्यो बाँड्ने अभियान वाइवाइ सामाजिक सन्देश फैलाउने बाटोमा झनै तीब्र गतिमा हुइँकिन थाल्यो ।
वाइवाइले आफ्नो गति यसरी अघि बढायो कि युद्धमा होमिएका अन्य ब्राण्डहरु वाइवाइको पछि-पछिसम्म दौडिन सकेनन् । नुडल्स वार पनि सकियो । त्यतिबेलाका नाम चलेका केही ब्राण्डहरु अहिले बजारबाट विस्थापित भइसकेका छन् । तर, वाइवाइ सबैको मनमा बसिसकेको छ ।
‘हामी पुरानै शैलीको नुडल्स वारबाट माथि उठ्न नसकेको भए वाइवाइ यो अवस्थामा आउने थिएन कि’ उनी भन्छन् ।
आदर्श नागरिक बनौं
वाइवाइले अहिले ‘आदर्श नागरिक बनौं’ अभियान सुरु गरेको छ । जसमा ट्राफिक प्रहरीसँगको सहकार्यमा दुर्घटनामा परेका व्यक्तिलाई अस्पताल लैजानलेलाई आर्थिक सहयोग वाइवाइले गर्ने छ ।
सडक दुर्घटनामा परेको व्यक्तिलाई अस्पताल लैजान प्रोत्साहन गर्नको लागि यो अभियान सुरु गरिएको शाह बताउँछन् ।
‘मान्छेको जिबनभन्दा ठूलो अरु केही हुन सक्दैन, दुर्घटनामा परेको व्यक्तिलाई बचाउन सबैले सहयोग गर्नुपर्छ भन्ने सन्देशसहितको यो अभियानले समाजमा निकै ठूलो छाप पार्ने हाम्रो विश्वास छ,’ उनले भने ।
यो अभियानका लागि थप आइडियाहरु पनि आएको र त्यसमा छलफल भइरहेको उनले सुनाए ।
वाइवाइको कथा यहीँ टुंगिदैन…
‘वाइवाइभन्दा अघि हाम्रा सफलताका कथा नभएका होइनन् । तर यसले हामीलाई नयाँ उचाइमा पुर्याइदियो । आर्थिक र संगठनको आकार दुबैका हिसाबले । त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको ब्यागेज बेल्टबाट सुरु भएको आइडियाले नेपालकै सबैभन्दा ठूलो एफएमसीजी कम्पनी निर्माण गर्यो । वाइवाइको कथा यहीँ टुंगिदैन,’ चौधरीको आत्मकथामा लेखेका छन् ।
विश्वभर वाइवाइ
हाल विश्वभर वाइवाइ वार्षिक २ अर्ब ३० करोड प्याकेट उत्पादन हुन्छ । युरोपबाट निकट भविष्यमै उत्पादन सुरु हुँदैछ । अफ्रिका र दक्षिण अमेरिकाबाट पनि उत्पादन सुरु गर्ने तयारी भइरहेको भाइस प्रेसिडेन्ट शाहले बताए ।
शाहका अनुसार वार्षिक औषतमा एक नपालीले ४० वटा चाउचाउ खान्छन् । जसमध्ये २५ वटा वाइवाइ चाउचाउ खान्छन् । अर्थात् नेपाली चाउचाउ बजारको ६० प्रतिशत हिस्सा वाइवाइले ओगटेको छ ।
‘वाइवाइ अब वाइवाइमा मात्रै सीमित छैन, विश्वकै लोकप्रिय ब्राण्ड हो,’ भाइस प्रेसिडेन्ट शाह भन्छन् ।
शाहका अनुसार नुडल्स वारबाट वाइवाइको स्टेयरिङ मोडिएको छ । अब वाइवाइ सीधा बाटोमा झनै तीब्र गतिमा हुँइकिरहन्छ ।
SHARE YOUR THOUGHTS