काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंको तीनकुनेमा अवस्थित खाली स्थानमा हरियाली जगिङ पार्क बनाउने भएको छ ।
यसअघि महानगरले सो स्थानमा गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश दिनका लागि अन्तर्राष्ट्रिय स्तरको शान्ति मण्डला निर्माण गर्ने योजना बनाएकोमा तीनकुनेको करिब ३० रोपनी क्षेत्रफलमा हाल आएर जगिङ पार्क बनाउन लागेको हो ।
यसअघि सो स्थानमा अन्तर्राष्ट्रिय स्तरको शान्ति मण्डला निर्माण गर्ने योजना बनाएको महानगरपालिका कार्यालयका प्रशासन महाशाखा प्रमुख हरि कुँवरले जानकारी दिए ।
‘महानगरले तीनकुनेको जग्गामा शान्ति मण्डला बनाउने भनेर जग्गा अधिकरण गर्ने योजना बनाएको थियो, तर स्थानीयले जग्गाको मुआब्जा नलिएका कारण शान्ति पार्क बनाउन सम्भव छैन,’ कुँवरले भने ।
महानगरले अहिले शान्ति मण्डलाको योजनालाई अलि पर सार्दै तीनकुनेमा बढ्दै गएको फोहोरलाई व्यवस्थापन गरि हरियालीसहितको जगिङ पार्क बनाउने योजना बनाएको उनले बताए ।
त्यसका लागि महानगरले २०७३ चैत २८ गते सार्वजनिक सूचना प्रकाशित गरेर ३० दिन भित्रमा आवश्यक कागजात सहित स्थानीयलाई मुअब्जा लिनका लागि आग्रह गरेको छ । स्थानीयले पनि महानगरको सूचनालाई सकारात्मक रुपमा लिएको कुँवर बताउँछन् ।
महानगरले अहिले तीनकुनेको जग्गा सम्याउने कार्य गरिरहेको महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए । ‘तीनकुनेको जग्गा सम्याउने कार्य अन्तिम चरणमा पुगेको छ, जग्गा सम्याइ सकेपछि त्यहाँ दुवो र रुख रोपेर जगिङ गर्न लायकको पार्क निर्माण गर्ने छौं,’ कार्कीले भने ।
के भन्छन् जग्गाधनी ?
पहिला महानगरले स्थानियको जग्गा अधिग्रहण गरेर बिना मुआब्जा पुर्वाधार निर्माण गर्न खोजेकाले त्यसको विरोध गरेको तीनकुनेका जग्गाधनी अच्युत पराजुली बताउँछन् ।
‘हामी विकास विरोधी होईनौं, अहिले हाम्रो जग्गा भएको स्थान फोहोर भएकाले महानगरले फोहर हटाएर हराभरा बनाउनका लागि छुट दिएका हौं,’ पराजुलीले भने ।
सरकारले जग्गाको उचित क्षतिपूर्ति दिएमा विकासका लागि जग्गा दिन पछि नहटने उनको तर्क छ ।
शान्ती मण्डला निर्माणमा भएका कार्य
तीनकुनेको शान्ति मण्डला निर्माण गर्नका लागि त्यसबेला नै सम्पूर्ण तयारी गरिसकिएको महानगरका पूर्व प्रमुख रुद्रसिंह तामाङले जानकारी दिए । ‘डिपिआर तयार भईसकेको थियो, १ अर्ब २५ करोड रुपैयाँमा निर्माण गर्ने कम्पनी पनि छनोट गरि सकिएको थियो,’ तामाङले भने ।
मण्डला निर्माणका लागि विदेशी दातृ निकायले आर्थिक सहयोग गर्ने प्रतिबद्धता जाहेर गरिसकेको अवस्था भएपनि त्यसबेला नै सरकार परिवर्तन भएकाले काम अगाडि बढ्न नसकेको उनको तर्क छ ।
शान्ति मण्डला कस्तो हुने थियो ?
गौतम बुद्ध नेपालमा जन्मेका हुन भन्ने सन्देश एयरर्पोटवाट ओर्लिने बित्तिकै पर्यटकले थाहा पाउन भन्ने हेतुले तत्कालिन अवस्थामा शान्ति मण्डला निर्माण गर्न लागिएको तामाङले जानकारी दिए ।
मण्डलाको मूख्य आकर्षणको रुपमा १६ मिटर उचाइको बुद्धको विशाल मूर्ति राखिने र संरचनाको बीच भागमा १ सय ८ मिटर लम्बाइ र ५४ फिट अग्लो ३ तल्ले डोम निर्माण गर्ने योजना रहेको थियो ।
पहिलो तल्लामा कार र मोटरसाइकल पार्किङ, दोस्रो तल्लामा किनमेलका लागि क्युरेटर सप र तेस्रो तल्लामा ध्यान गर्नका लागि मेडिटेसन हल बनाउने परिकल्पना गरिएको थियो ।
त्यस्तै मण्डला भित्र प्रवेशका लागि ३ ओटा गेट र सवारी प्रवेशका लागि छुट्टै अर्को गेट पनि रहेका थिए । संरचनाको तीनवटै कोणमा २४ सै घन्टा पानी आउने फाउन्टेन निर्माण गरिने र मण्डला ध्वनी प्रतिरोधी हुने बताइएको थियो ।
मण्डला निर्माण हुन नसक्नुको कारण
मण्डला निर्माणका लागि महानगरले ५१ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने थियो । जसमध्ये २० रोपनी जग्गाको मुआब्जा दिइसकेको महानगरले जानकारी दिएको छ । बाँकी ३१ रोपनी जग्गाको मुआब्जा लिनका लागि जग्गा पिडितलाई धेरै पटक आव्हान गरिएको महानगरका प्रशासन महाशाखा प्रमुख कुँवरले बताए ।
तर जग्गा पिडित महानगरले जग्गाको हालको मूल्यभन्दा निकैथोरै मुआब्जा दिन खोजेको भनेर मुआब्जा लिन नगएको जग्गाधनी पराजुली बताउँछन् । सो स्थानमा अधिग्रहण गरिएको जग्गाको मुआब्जा रकम प्रति रोपनी ५१ लाख २० हजार रुपैयाँ दिने महानगर बताउँछ । तर जग्गाधनीहरुको माग भने त्यो भन्दा निकै धेरै प्रति आना १ करोड २० लाख रुपैयाँ रहेको पराजुलीले क्लिमाडूसँग भने ।
SHARE YOUR THOUGHTS